जनकपुरमा घर–घरमा दीपावली , वीरगन्जमा मुख्यमन्त्रीको पुत्ला दहन

नेपालभ्युज

जनकपुरमा घर–घरमा दीपावली , वीरगन्जमा मुख्यमन्त्रीको पुत्ला दहन

जनकपुरधाम । नाम र राजधानी तोकिएको खुशीयालीमा आज जनकपुरधामसहित महोत्तरी, सिरहा, सप्तरी लगायतका जिल्ला र शहरहरुमा दिपावली गरिएको छ र मिठाइ वितरण गरिएको छ। जनकपुरधामवासीले पसल तथा घरमा दिपावली गरेर खुसीयाली मनाइरहदाँ सम्भावित प्रदेश राजधानीका रूपमा यसअघि चर्चामा रहेको अर्को शहर वीरगन्जमा भने विरोध प्रदर्शन भएको छ।

प्रदेशसभाको आठौ अधिवेशनको आठौं बैठकबाट सोमबार दुई तिहाई भन्दा बढी मतका साथ प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएको हो। नाम र राजधानी पारित भएलगत्तै प्रदेशसभास्थल पुगेर जनकपुरधामको नागरिक समाजले मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादवसहित उपसभामुख र सांसदहरुलाई फुलमाला, अबिर र गम्छा ओढाई सम्मान गरेका छन्।

प्रदेशसभा स्थलमा मुख्यमन्त्री लालबाबु राउतले मधेशी जनताको मधेश प्रदेशको सपना साकार भएको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश स्थापना भएकोमा खुसी व्यक्त गरे। उनले शहिदको सपना र सहादतको सम्मानमा अझै धेरै काम गर्न बाँकी रहेको बताए।

जसपा नेतृ तथा मन्त्री रेणु यादवले मधेशी शहिदको सपनाको पहिलो चरण पुरा भएको बताउदै यसमा सहभागिताका लागि सम्पूर्णं सांसदलाई धन्यवाद ज्ञापन गरिन्। यसैबीच मधेश प्रदेश सरकारले नाम र राजधानी पारित भएको खुसीमा मंगलवार प्रदेशभर सार्वजानिक बिदाको घोषणा गरेको छ।

विरगंजमा  मुख्यमन्त्री राउतको पुत्ला दहन

मधेस प्रदेशको राजधानी जनकपुरधाम घोषणा भएपछि गृह जिल्ला पर्सामा मुख्यमन्त्री लालबाबु राउत पुत्ला जलाइएको छ। मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका हुन्।

आक्रोशित युवाहरुले वीरगञ्जको घण्टाघरमा “मुख्यमन्त्री चाहिँदिन, वीरगञ्ज बेच्न पाइदैन“ लगायत नारा लगाउँदै उनको पुत्ला जलाएका छन्। पुत्ला जलाउन पुगेका युवा र रोक्न गएका प्रहरीबीच केहि समय तनाव पनि भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved