इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

नेपालभ्युज

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं। काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधिस राजकुमार कोइरालाको इजलासमा तीन साता चलेको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउन आदेश दिइएको हो। उनीसँगै केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान सकेर बुझाएको फाइलको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित १२ जनालाई १८ असोजमा पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये संगीत श्रेष्ठलाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ। त्यस्तै विजय विक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंहलाई १० लाख, बुद्धराज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुंगानालाई ४ लाख, एलिना तुलाधरलाई ५ लाख, मायानानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

ठगी आरोप लागेका बाँकी ३० जना अझै फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो।

तामाङमाथि सञ्चालक रहेको सिभिल सहकारीमार्फत भएको अर्बौ रुपैयाँ ठगीमा प्रत्यक्ष संलग्न भएको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved