बारको आन्दोलनमा कसले के भने ?

खरेलले अहिलेको बारको आन्दोलन व्यक्तिलक्षित नभएको बताए। उनले अहिलेको आन्दोलन न्यायपालिकाको विकृति, विसंगतिविरुद्ध भएको बताए।

नेपालभ्युज

बारको आन्दोलनमा कसले के भने ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका छन्। जबराको विरोधमा कोलोपट्टी बाँधेर बार आन्दोलनमा उत्रिएको हो।

विरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा नेपाल बार एशोसिएशनका पूर्व महासचिव सतिश कृष्ण खरेलले अहिलेको बारको आन्दोलन व्यक्तिलक्षित नभएको बताए। उनले अहिलेको आन्दोलन न्यायपालिकाको विकृति, विसंगतिविरुद्ध भएको बताए।

खरेलले भने,
हाम्रो आन्दोलन थुप्रैले प्रधानन्यायाधीशविरुद्ध लक्षित आन्दोलन ठानेका छन्। यो कुनै व्यक्ति र संस्थाविरुद्ध नभएर न्यायापालिकाको विकृति विसंगति विरुद्धको आन्दोलन हो। प्रधानन्यायाधीशलाई सबैले पत्याएर नेतृत्व दिएर पुग्नुभयो त्यो ठाउँमा। उहाँ न्यायाधीश, कानून व्यवसायी, सरकारी वकिल र न्यायपालिकाको समष्टिगत अभिभावक हो। घरको मुलिलाई सबैले अब तिमी सक्दैनौ, तिम्रो व्यवहार उचित भएन, तिमीले भ्रष्टाचारयुक्त काम गर्यौ भनिसकेपछि नैतिक रुपमा उहाँ त्यहाँ बस्न योग्य हुनुभएन।

अहिले राजनीतिक दलका सबैले मूल्य चुकाउनुपर्छ। अदालतमा हस्तक्षेप गर्दैनौँ भन्ने एकजना नेताको तर्क देखेको थिएँ। अदालतको फैसला र नियुक्तिमा हस्तक्षेप नगर्ने हो। अदालतमा आगो लागेको बेला हस्तक्षेप गर्दैनौँ भन्ने होइन। जो नेता अहिले पन्छिएर बस्नुभएको छ, खुला रुपमा चुनौती दिन चाहन्छु उहाँहरूकै निर्वाचन क्षेत्रमा गएर हामी कानून व्यवसायी गएर भोट दिन योग्य छैन। यो आन्दोलन सहज छैन। हामी मर्नेवाला छैनौँ केही दिन बहस नगरेर। चोलेन्द्रजीलाई पनि मेरो अनुरोध, अब यो विसंगति अगाडि बढाउन नदिन उहाँको पनि सम्मानजनक निष्काशनका लागि बाटो खुला गरिदिन अनुरोध गर्दछु।

ooo

विरोध प्रदर्शनलाई समबोधन गर्दै उच्च अदालत बार एशोसिएसनको अध्यक्ष रामचन्द्र सिम्खडाले बारको आन्दोलनमा युनिट बारहरुको पनि सहमति भएको बताए। उनले नेपालभरका कानून व्यवसायीको ऐक्यवद्धतामा न्यायालयविरुद्धको विकृति उन्मुलन गर्ने पनि उद्घोष गरे।

सिम्खडाले भने,
अख्तियारकोमा पनि भाग खोज्ने सरकारमा पनि भाग खोज्ने यो नेतृत्व जायज छैन, आम कानून व्यवसाय जोगाउन, जनताको हितमा काम गर्न। राजनीतिक दलका नेताले कानमा तेल हालेर बसेकोमा आगामी दिनमा उनीहरूलाई नै असर गर्छ। जब न्यायालयमा आगो लाग्छ तब पानी हालेर सेलाउने काम राजनीतिक दलको दायित्व हो।

न्यायपालिकाप्रति जनविश्वास बढाउने, जनमुखी बनाउने, सुदृढ बनाउने काम हो। आम कानून व्यवसायीको आन्दोलन भएकाले न्यायपालिकाको शुद्धिकरणका लागि सबै ऐक्यवद्ध होऔँ। नेपाल बार एशोसिएशनले गरेका सबै आन्दोलनमा युनिट बारले समर्थन गर्ने विश्वास दिलाउँछु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved