कोभिडले खोस्यो गाँस, त्यसैमा तिनाउले थपेको छ त्रास
कोभिड महामारीले बुटवल बिनापातेका सुकुमबासीको दैनिक गुजारा खोसिदियो। धेरै पेशा परिवर्तन गर्न बाध्य भए। त्यसैमाथि तिनाउले बाटो फेर्दा बास नै खोसिने त्रास बढेको छ।
बुटवलको तिनाउ नदी किनारमा रहेका पुराना सुकुमबासी बस्तीहरूमध्येको एक हो, बिनापाते । बस्तीमा दिनभर काम गरे मात्रै साँझमा पेट भर्न पाउने वर्गको बाहुल्य छ यहाँ । कोभिड महामारी यो बस्तीमा केवल रोग बनेर छिरेन, भोक र ऋण बनेर पनि आयो । यस्तो छ बिनापातेले भोगेको कोभिड कहर ।
ललिताको प्रश्न – किन बाँच्नु ? भोकै सुत्न ?
ठ्याक्कै १२ वर्षपछि खोलो फर्कियो । यता खोला किनारकी ललिता गोतामेको अनिष्टै भयो ।
खोला फर्केदेखि उनी काममा जान पाएकी छैनन् । साँझ बिहान नुनको जोहो गर्न अर्काको दैलो चहार्न परेको छ ।
खोलाले बाटो फेर्नुअघि बिहान उठ्नासाथै सिमेन्टका बोरा मुठा पोको पारी बेल्चा हातमा बोकेर बगरतिर झर्न उनलाई हतार हुन्थ्यो । ढिला गर्नु हुन्थेन किनभने दिउँसो त नगरपालिकाका मानिस आउँथे । अनि खोलाबाट भाग्नुको आपत् !
परिवारमा ललिता र उनकी २९ वर्षकी छोरी मात्रै छन् । आफू ५५ की भइन् । छोरी मानसिक रोगी हुन् । घरमा उपद्रो गर्लिन् भनेर कहिलेकाहीँ छोरीलाई लिएरै खोला झर्थिन् उनी । कहिले घरमै बाँधेर राख्थिन् ।
खोलाको ढिकमा छ घर । त्यसमुन्तिरै छ, बगर । अरूबेला त बगरलाई खाली ठाउँ छाडेर खोला पारीबाट बग्ने गर्थ्यो ।
बगर छिरेपछि ललिताले बोरामा हतार हतार बालुवा भर्थिन् । आँखा भने पारीपट्टी बगिरहेको खोलातिर हुन्थ्यो । किनभने नगरपालिकाका मानिसहरू त्यतैबाट आउँथे । बालुवा भर्न लागेको देखेमा गाली गर्थे । ‘जरिवाना तिर्’ भनेर धम्की दिन्थे । अनि बेल्चा फालेरै भए पनि भाग्नुपर्थ्यो ।
बिहानै खोला छिरे नगरपालिकाका मान्छे आउञ्जेलसम्म त उनले बोरा भर्न सक्थिन् । त्यसैले जतिसक्दो बिहानैदेखि उनी काममा लाग्थिन् ।
१० बोराजति भरेपछि पुग्थ्यो उनलाई । अनि खेपाखेप गरेर घर ल्याएपछि त्यस दिनलाई फेरि बगर झर्नु पर्थेन ।
त्यसपछि शुरू हुन्थ्यो बालुवा बेच्ने काम !
कोभिडअघि बाँच्नकै लागि ललिताले बालुवा बेच्न पर्थेन। बुटवल रामनगरको औद्योगिक क्षेत्रमा मजदुरी गर्थिन् उनी । कोभिडले उद्योग बन्द गर्यो । उद्योगले उनले कमाउने दैनिक ज्याला।
दिउँसो खाना खाएपछि ललिता कता घर बनिरहेका छन् भनेर खोज्थिन् । बनिरहेका घर भेटिए भने ठेकेदारसँग सम्झौता गरेर ६० रुपैँया प्रति बोरा बालुवा बेच्थिन् । लोभी ठेकेदार पर्यो भने ५५ रुपैँयामा पनि दिन्थिन् । कहिले ७५ रुपैयाँसम्म पनि पार्थिन् ।
“निश्चित थिएन । कहिले काँही झुक्किएर डबल पनि दिन्थे । कोही त धेरै लोभी हुने । सित्तैमा पाएहुन्थ्यो जस्तो गर्ने । ठेकेदारहरू त्यस्तै हुन्,” हाँस्दै उनी सम्झन्छिन्, “जे होस् राम्रो भएको दिन ५ सय रुपैयाँ त कमाउँथे ।”
कोभिडअघि बाँच्नकै लागि ललिताले बालुवा बेच्न पर्थेन। बुटवल रामनगरको औद्योगिक क्षेत्रमा मजदुरी गर्थिन् उनी । कोभिडले उद्योग बन्द गर्यो । उद्योगले उनले कमाउने दैनिक ज्याला।
अनि ललिता आफू र छोरीको भोक मार्नकै लागि साँझ–बिहान बालुवा बोक्न खोला पस्न थालिन्।
“जेनतेन खान पुगेको थियो । अरू त के पुग्थ्यो र !,” उनी भन्छिन् ।
तर, अहिले तिनाउ एकाएक फर्किएको छ । उनले बालुवा झिक्ने बगरमा अहिले खोला बग्छ । बर्खाको हुल्याहा पानी बढेर घर भएको ढिकसम्मै आउला भन्ने पीर थपिएको छ । त्यसैले खोला तरेर पारी गएर बालुवा बोक्न सक्दिनन् उनी ।
“खोला उताबाट बग्थ्यो । के अनिष्ट लागेर हो कुन्नी अहिले यताबाट बग्छ,” चोर औंलाले पश्चिमतिर ईशारा गर्दै उनले भन्छिन्, “सक्ने त ई-रिक्सा लिएर देवीनगरको पुल हुँदै पारी जान्छन् । आफू त सकिन्न ।”
त्यसपछिका दिन कहिले आधा, कहिले भोको पेट लिएर आमा-छोरीले कयौं रात कटाइसकेका छन् । मागेर खानुको विकल्प छैन । रित्तो घरमा अरू उपाय उनीहरूले देखेका पनि छैनन् । यसअघि यस्तो दुःख त उनलाई पतिले छाड्दा पनि भएको थिएन रे !
अधिक प्रयोगले बेरङ भएको मास्कलाई मुखबाट नाकतिर तान्दै उनी भन्छिन्, “उनले (पतिले) अर्की लिएर हिंडेपछि के गर्ने होला भन्ने भएको थियो । पछि औद्योगिक क्षेत्रमा काम पाएपछि खानलाई त पुगेको थियो । अहिले त यस्तो भ’छ नि ! ठूलै दशा लागेछ ।”
३० वर्षअघि पतिले दोस्रो बिहे गरेर गएपछि ललिताले आफ्नै बुतामा छोरी हुर्काइन् । ओद्योगिक क्षेत्रमा मजदुरी गरेरै छोरीलाई १२ कक्षासम्म पढाइन् । उनले ठूलो आशा पालेकी थिइन्; हुर्केकी छोरी पनि कमाउने भइहाली, अब त दुई जना नै काममा गइन्छ ।
“छोरीले मैले भन्दा छिटो टोपी सिलाउन सिकिसकेकी थिई । मैले एउटा सिलाउँदा उसले तीन ओटा सिलाइसक्थी,” उनले यसो भन्दा मास्कले ढाकेको अनुहार केही उज्यालो हुन्छ, तर क्षणभरका लागि ।
त्यसपछि समयको नियत बदलियो ।
उमेरकी छोरी मानसिक रोगी भइन् । काममा जान नसक्ने भइन् । घरमा आमालाई सघाउन नसक्ने भइन् । ललिता एक्लैले आमाछोरीको भोक उम्काउन पर्ने भयो । उनका दुःख अझै उकाली लगाउने काम महामारीले गर्यो । बाहिर काम गर्न जानै पाइनन् ।
“छोरीले घरमा दुःख दिन थालिन् । अघिको कोरोनामा पिटेर हुन्छ कि बाँधेर हुन्छ, घरै राखेँ,” मलिन आवाजमा ललिता भन्छिन्, “बाहिर निस्कनै नपाइने । दुःखका दिन त अनि बल्ल शुरू भए ।”
पतिले छाडेपछी बुटवलको राजमार्ग चौराहामा रहेको सासु–ससुराको घर उनले छाड्नु परेको थियो । त्यसपछि ‘बुटवलमा सुकुमबासी खुलेको छ रे भन्ने थाहा पाएर बोरा ओछ्याउन’ आएकी ललिताले तिनाउ पूर्वी किनारको बस्ती बिनापातेमा आफैंले बनाएका ब्लकबाट एउटा घर जोडिन् । त्यो घर पनि तिनाउले बाटो फेरेपछि कटानको जोखिममा छ । यसपटकको वर्षामा उनको घरछेवैमा कटान गरेको छ । यस्तै पानी परिरह्यो भने जुनसुकै बेला बगाउन सक्छ । तर, ललितालाई त्यसको डर छैन ।
“अब बाँच्नु पर्ने केही छैन । खोलाले लगेपनि हामीले थाहा नपाउने गरी लगे हुन्थ्यो,” उनी प्रश्न गर्छिन्, “किन बाँच्नु भोकै सुत्न ?”
बिहान जुरूक्क उठ्छु र काम खोज्न निस्कन्छु – सानुभाइको दैनिकी
ललिताको घरदेखि खोलाको किनारै किनार पाँच सय मिटर दक्षिणमा पर्छ सानुभाइ परियारको घर । ३० वर्षे सानुभाइको बस्ती उही हो, बिनापाते । समस्या पनि उही हो, भोक ।
सानुभाइको घरमा पत्नी, दुई छोरा र दुई छोरी छन् । हरेक साँझ उनीहरूको भोक मेटाउन हरेक बिहान सानुभाइ नयाँ काम खोज्न जानै पर्छ । काम पाइयो भने साँझ केही पैसा र खाने कुरा लिएर फर्कन्छन् । पाइएन भने भोली फेरि पाइन्छ कि भन्ने आशा लिएर फर्कन्छन् । एकाबिहानै ठूलो अनिश्चय बोकेर घरबाट निस्कनु उनका लागि नियती बनेको छ । यसो हुन थालेको धेरै भएको छैन, उनकै शब्दमा ‘झ्याउ लगाउने रोग’ आएपछि हो ।
कोभिड-१९ महामारीअघि थोरै नै सही उनको आम्दानी नियमित थियो । रामनगरस्थित औद्योगिक क्षेत्रमा निर्माणजन्य उद्योगमा श्रम गर्न उनी दिनहुँ जान्थे । दैनिक सात सय आम्दानी थियो । बिसञ्चो हुँदाबाहेक उनको परिवारलाई साँझविहान खान समस्या थिएन ।
“यतैको दाइ हुनुहुन्थ्यो । उहाँको पछि लागेर त्यहाँ गएको थिएँ । दैनिक जाँदा जाँदै साहुले पैसा दिन थाल्यो । लेबरको काम गर्थेँ । सधैं खान नपुगे पनि पैसा आइरहेको छ भन्ने भरोसा हुन्थ्यो,” बस्ने स्थानमा च्यातिएको पुरानो मुढा आँगनमा बिछ्याएर बस्ने इशारा दिंदै उनले भने।
त्यसो त कोभिड आएपछि मात्रै सानुभाइका दुःख शुरू भएका होइनन् । महामारीले त उनको सकसपूर्ण जीविकोपार्जनलाई झनै कठिन बनाइदिएको हो ।
“अब खोला यताबाट बग्न थालेको छ । कुन दिन सुतेकै बेला सर्लक्कै लैजान्छ । अनि हाइसुख्ख !”
“बाबा आमाहरू ०५० सालमा बागलुङ्बाट झरेपछि यतै सुकुम्बासीतिर आएर बस्नुभएछ । ०५९ सालमा रोग लागेर दुवैजना बित्नुभयो । अनि म सधैंको सुकुम्बासी भइहालेँ नि,” अनुहारभरका छाला खुम्चाएर फिस्स हाँस्छन् ।
सानुभाइका बाबुआमाले ‘बोरा ओछ्याएर ओगटेको’ एउटा घडेरी ललिता गोतामेको घर छेवैमा थियो । तर पछि छोरीलाई सर्पले टोकेपछि उनको उपचारका लागि सानुभाइले त्यो घर बेचे । न बाँचीन् छोरी, न बँच्यो घडेरी नै !
“साथीहरूसँग खेलिरहेकी थिई । दशा लागेको रहेछ । सर्पले टोक्यो । उपचार गराउन अस्पताल लगेको ७२ घण्टा राख्यो । सुई त लगाएको थियो तर पनि छोरी बाँचिन्,” छोरीलाई सर्पले टोकेको ठाउँतिर टाउको फर्काउँदै उनी भन्छन्, “त्यतीबेला लागेको ऋण तिर्न त्यो घडेरी बेच्नुपर्यो ।”
घरबारविहीन भएका सानुभाइ र उनको परिवारले खोलाको अझै ढिकतिर गएर नयाँ जमिन ओगटे र छाप्रो बनाए ।
नयाँ घरमा सानुभाइ र उनका परिवारको जीविका मजदुरीमा अडिरहेको थियो । त्यसपछि आयो महामारी ।
“कस्तो झ्याउ लगाउने रोग आएको रहेछ भने नि! साहुले फ्याक्ट्री बन्द हुँदैछ भोलिदेखि नआउनु भन्यो । अब नआउन भनेपछि जाने कुरा पनि भएन,” करिब डेढ वर्षअघिको प्रसङ्ग सम्झिन्छन् उनी, “भोलिदेखि नै के गर्ने भनेर तनाव भइहाल्यो नि !”
लकडाउनको शुरूताका केही दिन उनले साथीहरूसँग ऋण मागे । त्यसपछि नगरपालिकाले राहत दियो । त्यो सकिनासाथ भोकको समस्या फेरि आइलाग्यो । काम नखोजेर धरै थिएन । तर, लकडाउनमा कता जाने ? हरेक दिन उनका लागि अनिश्चित थिए ।
“त्यसपछि बिहानै उठ्ने अनि काम खोज्ने गर्छु । कहाँ कसले घर बनाइरहेको छ भनेर खोज्छु । कसैको घरमै केही काम छ कि सोध्दै हिँड्छु,” उनी भन्छन्, “झ्यापझुप पैसा मिल्ने जुनसुकै काम पनि गरिदिन्छु । गुजारा हुने काम त गर्नु पर्यो । कहिलेकाहीँ बालुवा पनि निकाल्न जान्थेँ तर अहिले खोलो फर्केको छ ।”
खोलो फर्किएपछि सानुभाइलाई आफ्नो घर नै बगाउने हो कि भन्ने पीर पनि छ । अत्यधिक वर्षा हुँदाका रात उनी घर सुत्दैनन् । यसपटक पनि असारमा ठूलो पानी परेपछि सबै परिवार छिमेकमा शरण माग्न गए । परिवारका ६ जना तीन वटा परिवारमा बाँडिएर सुते । भोलीपल्ट ‘नगरपालिका र पुलिस आएर डराउन हुन्न, केही भइहाले हामीले सुरक्षा दिन्छौं’ भनेर गए ! उनीहरू त गए, तर घर बग्छ कि भन्ने भय कहिले गएन ।
“खोलाले बगर काटेको छ । जुनसुकै दिन घरहरूलाई बगाउन सक्छ,” पारीको किनारमा खोलाले कटान गरेको स्थान देखाउँदै उनले भन्छन्, “अब खोला यताबाट बग्न थालेको छ । कुन दिन सुतेकै बेला सर्लक्कै लैजान्छ । अनि हाइसुख्ख !”
माग्न पनि नपाइने कस्तो रोग ? – दातारामको दुखेसो
सानुभाइको घरदेखि तीन सय मिटर सिधा पूर्व गएपछि सानो चोक आउँछ । चोकको पूर्वपट्टी दक्षिण फर्केर केही लुप्त आकारको घर तेर्सिएको छ । दुई कोठे यो घर टिनले छाएको छ । तर पाली खरले बनाइएको छ, जुन निकै होचो छ । जोकोहीलाई भित्र-बाहिर गर्नु परे कम्मरबाटै निहुरिनु पर्छ । यही हो दाताराम दर्जीको घर, जो आफ्नी ५३ वर्षकी दिदी प्रेमकुमारी दर्जीसँग बस्छन् । बिनापातेका बैंसालुहरूले उनलाई दर्जी दाई भनेर सम्बोधन गर्छन् ।
दाताराम पूर्ण दृष्टीविहीन हुन् । उनकी दिदी प्रेमकुमारीले एउटा आँखाले देख्दिनन् । दिदीभाइ नै शारीरिकरूपमा सक्षम नभएपछि मागेर जीविका चलाउनुको विकल्प छैन । पूर्ण दृष्टीविहीन भाइलाई एक आँखाले मात्र देख्ने दिदी प्रेमकुमारीले बाटो देखाउँछिन् । दातारामले दिदीको सहारामा माग्दै हिँड्छन् । यी दिदीभाइ एकअर्काका लागि परिपूरक छन् ।
“१० वर्ष हुन लाग्यो मागेर बाँच्न लागेको । साँझ खाने कि नखाने भनेर अरूमै भर पर्नु पर्छ”
०६० सालभन्दा अघिको कुरा हो । दातारामकी आमाको नाममा बुटवलको सेमलारमा तीन कठ्ठा जमिन थियो । बाबु त पहिले नै वितिसकेका थिए । दातारामलाई टाउकोको बिमार भएपछि पाल्पा उपचार गर्न लगियो । ६ महिना उपचार गरेपछि बिमार त सञ्चो भयो तर दुवै आँखाको ज्योति पनि गुम्यो । यता उपचार गराउँदा आमाको नाममा भएको जग्गा रित्तिसकेको थियो । बस्ने बास पनि रहेन ।
अब गर्ने के !
घरबारविहीन भएको दर्जी परिवारले देवदहको खैरेनी र बुटवलको बिनापातेमा ‘जग्गा खुलेको’ थाहा पाए । परिवार बाँडिएर दुवैतिर गरी एक कठ्ठाजति जग्गा ओगटे । बस्न चाहीँ बिनापातेमा आएर बसे ।
०६० सालमा दातारामकी आमालाई क्यान्सर लाग्यो । उनले आमालाई भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि लगे । उपचार गर्दा गर्दा खैरेनीको जमिन सकियो, उनकी आमा पनि रहिनन् । बिनापातेमा अब दुइ दिदीभाइमात्रै बाँकी रहे ।
“१० वर्ष हुन लाग्यो मागेर बाँच्न लागेको । साँझ खाने कि नखाने भनेर अरूमै भर पर्नु पर्छ,” घरको पिँढीमा बसेर उनले सुनाउँछन्, “माग्दै माग्दै कहिले माथि अमरपथतिर जान्छु । जाँगर आयो भने योगिकुटीसम्म पनि पुग्छु ।”
दिदीभाइको जीविका यसै गरी चलिरहेको थियो । तर, कोभिड महामारीले सबै भताभुङ्ग पारिदियो । दातारामले यस्तो कहिले पनि चिताएका थिएनन् रे !
“मागेर खाने हामी । घरबाट बाहिर निस्कनै नदिएपछि कसरी माग्नु,” पहिरिएको कालो चश्मा नाकसम्म तानेर आँखा मिच्दै उनी भन्छन्,”चौराहातिर जान भन्दै त्यसदिन म नयाँ बसपार्क पछाडिसम्म पुगेको थिएँ, एउटा पुलिसले रोग लाग्छ घरै बस्नुपर्छ भनेर हिंड्नै दिएन । फर्केर घरै आउनु पर्यो । माग्न पनि नपाउने गरी कस्तो रोग आएको होला भन्ने लाग्यो मलाई त ।”
लकडाउनको पहिलो दिन सम्झँदै उनले यत्ति भनेपछि चस्मालाई फेरि आँखातिरै घचेट्छन् ।
“त्यसपछि कहीँ गइएन । छिमेकमा मागियो । सापटी मागियो । जो आउँछन् उनैसँग मागियो,” उनी भन्छन्, “केही दिनपछि नगरपालिकाबाट दाल चामल ल्याइदिएर आए । १०/१५ दिन त त्यसैले धानियो ।”
०७७ सालको साउनमा लकडाउन कै समय भए पनि बाहिर चहलपहल बढिसकेको थियो । मध्यसाउनको कुनैदिन दिदीभाइका लागि साँझ खान थोरै चामलबाहेक केही पनि थिएन । गोजि पनि रित्तै ! प्रेमकुमारीलाई दुई दिनदेखि ज्वरो आइरहेको थियो । हिँड्न सक्ने अवस्थामा थिइनन् । त्यसैले दाताराम माग्न जान भनी अमरपथ तिरको बाटो सोझ्याउँदै घरबाट एक्लै निस्किए । हातमा काठको लौरो समाएका थिए । लौरोले बाटो पहिल्याउँदै उनी फूटपाथै फूटपाथ ईट्टा भट्टीबाट माथितिर लागे । बसपार्क पुग्नुभन्दा थोरै अगाडि फूटपाथमा ढुङ्गो रहेछ । त्यही अल्झिएर उनी लडे । खुट्टा र कुममा चोट लाग्यो । देख्नेहरूले रिक्सा चढाइदिएर उनलाई घर फर्काइदिए ।
“त्यसपछि दिदीलाई लिएर मात्रै हिँड्ने गरेको छु । बाटोमा फल्याकहरू हुन्छन्, खाल्डोहरू हुन्छन् । अब त बुढो हुन पनि लागें । एक्लै सकिदों रहेनछ,” उनी भन्छन् । त्यसरात बिरामी दिदी र घाइते भाइ बिना नुनिलो भात र पानी मात्रै खाएर सुते रे!
“यो रोग आएपछि त गाँस नै रोकियो । फेरि अर्को चोटी पनि त निस्कन दिएनन् । मागेर खानेहरू त भोकै बस्नु पर्ने भयो नि,” काठको लौरो टेकेर उभिन खोजेजस्तो गरी उनी भन्छन्, “मागेर पनि धेरै भए त्यही दिनको २/३ सय त हुने हो । कहिलेकाँही त चामल पनि किन्न सकिन्न ।”
मलाई कसैले हेर्दैनन् – धनबहादुरको क्रन्दन
सारा बुटवलले फोहोर फ्याँक्ने ‘डम्पिङ साइट’बाट सिधा दक्षिणतिर निस्किएको बाटोलाई २ सय मिटरजति पछ्याउने हो भने दाइनेपट्टी धनबहादुर परियारको घर आउँछ । टिनले छाएको छानो केही होचो छ, तर दातारामको पाली जस्तो चाहीँ होइन ! हेर्दा गाउँतिरको घर जस्तो लाग्छ । घरको अगाडि पिँढी, बीचमा गल्ली र दुईतीर कोठा छन् ।
धनबहादुर पिँढीमा एक जनामात्र बस्न मिल्ने खालको खाटको वल्लो छेउमा बसिरहेका छन् । पल्लो छेउ मैलो देखिने डसनाहरू बेरेर राखिएका छन् । डसनामाथि एउटा उस्तै मैलो सिरानी छ । हावा दक्षिणतर्फ बहिरहेकाले डङ्पिङ साइटबाट झोक्का झोक्कामा आएको गन्धले पुरै बिनापाते ढाकेको छ ।
“यो बिनापातेको गन्ध हो । हामीहरूले थाहा पाउँदैनौं । नयाँ मान्छेहरूलाई मात्र थाहा हुन्छ,” उनी कटाक्ष हान्छन् ।
हँसमुख छन् धनबहादुर । परिहास गरिरहन्छन् । कतिबेला त लाग्छ यिनको जीवनमा दुःखको नाम छैन । तर, त्यसो सोच्नु भ्रम मात्रै रहेछ ! पीडा लुकाएर हाँस्न जानेका रहेछन् । बिनापातेले अभ्यस्त बनाएको हो सायद ।
१७ वर्षअघि तनहुँबाट शहरमा श्रम बेच्न बुटवल आएका हुन् उनी, यहाँका सबैजसो सुकुमबासीहरू जस्तै गरी । श्रम गर्ने थलो बन्यो बुटवल, बस्ने थलो बन्यो बुटवलबाटै जन्मिएको अर्को ‘शहर’ बिनापाते ।
“एउटो छोरो विदेश छ । कहिले आउने हो कुन्नी । दशैंमा आउँछु बा त भन्थ्यो । मलाई कसैले हेर्दैनन् । मैले दुई वर्ष भयो काम गर्न छाडेको, त्यसयता के के भोगें त्यो मलाई मात्रै थाहा छ ।”
कोभिड महामारी नआउञ्जेल उनी दैनिक ज्यालादारीमा काम गर्न जान्थे । काम यही भन्ने थिएन । घर फर्कँदा पैसा आउने काम रहेछ भने उनी गरिहाल्थे । घरमा पत्नी, नाती, नातिनासहितको ६ जनाको परिवारलाई साँझ–बिहान ख्वाउने जिम्मेवारी उनैको छ । दुई बेरोजगार छोराहरू गाउँमै छन् । जेठो छोरा भारत छन् तर परिवारबाट अलग भइसकेका छन् । छोराहरूको आश नभएपछि नातीनातिनाको लालनपालनका लागि उनी आफै ज्याला मजदुरी गर्न जानु परेको हो ।
जेनतेन चलिरहेको धनबहादुरको जीविकामाथि कोभिड महामारी निकै सकसपूर्ण बनेर आयो । उनको घरमा पुग्दा नुन सकिएको रहेछ। बिहानैदेखि ऋण माग्न टोलभरी घुमेरका रहेन्। पाएनन् । यसै फर्किए ।
“ऋण गरेरै हो खाने । ऊ त्यहाँ माथि पौडेलकहाँ ऋण पत्याउँछन् । अस्ति गएर अलिकति चामल लिएर आएँ । तर अहिले नुन छैन,” हातले टोलतिर इशारा गर्दै उनी भन्छन्, “बुढी बिमारी छन् । बालबच्चा नातिनातिना सानासाना छन् । मैले कमाउन सक्दिन । छोराहरूले कैलेकाहीँ मात्रै बाबा भन्छन् । अलिअलि दिए भने त्यही जाउलो खाने बाटो छ । अरू केही छैन ।”
घरको हालतबारे बताउँदा बताउँदै उनका आँसु झर्न थाल्छन् । उनले गालाहुँदै घाँटीसम्मै पुगिसकेका आँसु पुछ्ने कोशिस गर्छन् । तर आँखाबाट अझै झर्न नछोडेकाले कोशिस व्यर्थ हुन्छ । अगाडि भन्छन्, “एउटो छोरो विदेश छ । कहिले आउने हो कुन्नी । दशैंमा आउँछु बा त भन्थ्यो । मलाई कसैले हेर्दैनन् । मैले दुई वर्ष भयो काम गर्न छाडेको, त्यसयता के के भोगें त्यो मलाई मात्रै थाहा छ ।”
अब केही सम्हालिन खोज्छन् उनी । घाँटीसम्म झरेका आँसु पुछ्न थाल्छन् । पुछ्दापुछ्दै केही मनमा लाग्यो होला, फिस्स हाँसिदिन्छन् ।
महामारीको यत्रो समय पुग्दासमेत सोधपुछ गर्न कोही आएनन्, पीडा यसको पनि रहेछ उनलाई । आएकाहरू पनि ‘सोधेर जाने तर ल्याएर कोही नआउने’ गर्दा रहेछन् । उपमहानगरपालिका र टोलका समितिहरूसँग उनका गुनासै गुनासा छन् ।
“तपाईजस्ता कति आए आए । के छ बेलुकाको खान खर्च भन्छदै लेखेर पनि लगे । तर बाबु कसैले केही पनि दिन्नन्। नुन छैन। भरे खाने नुन छैन,” उनको चर्को आवाज वाक्य नसकिँदै निकै मधुर भइसक्छ ।
केही क्षण उनी रोकिन्छन् । फेरि भन्छन्, “आउँदैनन् के । कोही आउँदैनन् । यहाँ समितिहरूले के के गरे भन्छन् । एक माना चामल पनि दिन आउन्नन् ।”
राज्यले देख्दैन बिनापातेका भोकालाई
बाँच्नकै पहाडबाट तराई झरेका धनबहादुरहरू, आफन्तले छाडेर गएपछि घरबारविहीन भएका ललिताहरू, गरिबीसँग जुझ्दै आश्रय लिन आएका सानुभाइहरू र रोगले श्रीसम्पत्ति सकिएपछि बास खोज्दै आएका दातारामहरू बिनापातेमा अक्सर भेटिने मुहार हुन् । यी अनुहारले श्रम गर्न होस् या मागेरै खान छेवैमा बुटवलजस्तो ठूलो शहर पाएका थिए । शहरमा काम गर्ने, बिनापातेमा बाँच्ने ! महामारी आउनुभन्दा अघि उनीहरूको जीविका यसरी नै चलेको थियो । अध्येता रामचन्द्र श्रेष्ठको भाषामा उनीहरूले यहाँ सुरक्षा, समुदाय र पहिचान पाएका थिए।
“सामाजिक वैधताप्राप्त सुकुमबासी बस्तीले बासिन्दालाई सुरक्षा, समुदाय र पहिचान दिन्छ” – दुई वर्षअघि यही बस्तीको मानवशास्त्रीय अध्ययन गरेर श्रेष्ठले निचोड निकालेका थिए । (रामचन्द्र श्रेष्ठ, सुकुमबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम, पैदल अनुसन्धान, पृ. २०९‑२३८)
सचिव तुलाचन महामारीले बिनापातेका विपन्नको उछित्तो काढेको बताउँछन् । उनका अनुसार बस्तीमा कम्तिमा २५ वटा त्यस्ता परिवार छन्, जसलाई तत्काल सहयोगको आवश्यकता छ ।
तर, जनस्वास्थ्यमाथि संकट बोकेर आएको कोभिड महामारीले बिनापातेका विपन्न जनतालाई शहरसँग अन्तरक्रिया गर्नैबाट वञ्चित गराइदियो। साँझ खानकै लागि दिनभर काम गर्नै पर्ने श्रमिकहरू काममा जान पाएनन् । मागेर खानुपर्ने अशक्तहरू माग्न जान पाएनन् । बचत हुने सम्भावना कत्ति न थियो र ? जे थियो त्यो पनि रित्तियो । त्यसमाथि ऋण लाग्यो । अब भोक र ऋणका लागि यसअघि भन्दा दोब्बर काम गर्नु पर्ने अवस्थामा आफूलाई पाएका छन्, यी विपन्नले ।
०५८/५९ सालमा तिनाउको पूर्वीतटमा बस्ती बस्दादेखि नै यो बस्तीमा यस्ता दलित श्रमिकहरू बाहुल्य थिए । कतिले पछि आफ्नो जग्गा बेचबिखन गरेर गए । अन्य कति पटक-पटकको बाढीका कारण विस्थापित भए । बस्तीको सत्यवती टोल विकास संस्थाका सचिव श्याम तुलाचनका अनुसार बस्ती बस्ने बेलामा भन्दा संख्या घटेको भए पनि दलितहरूको बाहुल्य अझैपनि कायम छ । बस्तीका अक्सर दलित दैनिक ज्यालादारी श्रममा आश्रित छन् ।
विकास र सूविधाका हिसाबले माउ शहर बुटवलसँग झन्-झन् नजिकिदैं गरेको यो बस्तीमा अहिले पनि श्रमशक्तिको ४७ प्रतिशत जनसंख्याले दैनिक ज्यालादारी मजदुरी गर्छ । अध्येता रामचन्द्र श्रेष्ठले बिनापातेका वासिन्दामध्ये तीन चौथाईलाई नमूना मानेर गरेको सर्वेक्षणले यस्तै तथ्याङ्क देखाएको छ । उनका अनुसार बस्तीमा करिब ३० प्रतिशत न्यून पूँजीका पसल, सिलाइकटाइ, ठेकेदारी, इलेक्ट्रिसियन, प्लम्बिङ तथा रिक्सा जस्ता ‘स्व-व्यवसाय’मा आश्रित छन् । बाँकी सेवा, ड्राइभिङ, जागिर र वैदेशिक रोजगारमा आवद्ध छन् ।
महामारीले यी सबै किसिमका श्रमिकलाई असर त गर्यो तर सबैभन्दा बढी प्रभावित हुनेमा दैनिक ज्यालादारी श्रमिक परे ।
सचिव तुलाचन महामारीले बिनापातेका विपन्नको उछित्तो काढेको बताउँछन् । उनका अनुसार बस्तीमा कम्तिमा २५ वटा त्यस्ता परिवार छन्, जसलाई तत्काल सहयोगको आवश्यकता छ ।
महामारी शुरू भएदेखि बुटवल उपमहानगरपालिका जम्मा एक पटक राहत लिएर यो बस्तीमा पुगेको छ।
“त्यसपछि सरकारी तवरबाट कुनै पनि सहयोग आएका छैनन् । निकै दयनीय अवस्था देखेपछि बस्तीबाटै उठाएर दुई पटकसम्म विपन्न परिवारलाई सहयोग गरेका थियौं । त्यति मात्रै हो,” सचिव तुलाचन भन्छन् ।
‘महामारीमा जीवन’ शृंखलाः
१. जिन्दगी बिथोलिदियो महामारीले, दुःखमा झन् सास्ती दियो सरकारले
माओवादी नेताहरूको ‘सुन मोह’ !
प्रधानमन्त्री प्रचण्डको घोषणा : अपरिहार्यबाहेक कुनै कार्यक्रममा जान्नँ
थप फिचर
लोकप्रिय (यो साता)
-
१
सिन्धुलीमा भेटियो उँट, कहाँबाट आयो ?
-
२
डा. स्वर्णिम वाग्लेको ‘बिल्ला’ !
-
३
मोबाइलमा हुने सानो प्वालको काम के ?
-
४
पुण्य गौतममाथि रड प्रहार, टाउको फुटेपछि आइसीयूमा (भिडिओ)
-
५
दुई दिनसम्म निगरानी गरेपछि आक्रमणकारीले पुण्य गौतमलाई हानेका थिए रड, को थिए उनी ?
-
६
गोविन्दाले यसरी सुनाए गोली लागेको घटना
-
७
रतन टाटा : सरलताको उदाहरण, देखावटीपनबाट सधैँ टाढा
-
८
रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भइसकेको थियो, अदालतले पुर्जी नदिएपछि रोकियो : प्रचण्ड
न्यूज अपडेट
-
विपत्तिको घाउमा भारतको राहत ‘मल्हम’
-
मीनबहादुर गुरुङले दान दिएको जग्गामा एमाले केन्द्रीय कार्यालयको शिलान्यास
-
को हुन् सिमी ग्रेवाल ? जोसँग रतन टाटाको सम्बन्धको धेरै चर्चा भएको थियो
-
प्रेममा परेपछि व्यक्तिको भोक निद्रा हराउँछ !
-
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
-
इजरायलले लेबनानमा फेरि गर्यो आक्रमण, २२ जनाको मृत्यु
-
बीपी राजमार्ग फेरि अवरुद्ध, पहिरोले पुरिएको गाडी निकाल्न गएको डोजरसमेत पल्टियो
Facebook Comment
Comment