रवि आज पोखराबाट पहिलो फ्लाइटमा काठमाडौं आउँदै

नेपालभ्युज

रवि आज पोखराबाट पहिलो फ्लाइटमा काठमाडौं आउँदै
फाइल तस्वीर ।

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) काठमाडौं आउँदै छन् ।

उनी आज पोखराबाट हवाइजहाजको पहिलो फ्लाइटबाट काठमाडौं आउने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले नेपालभ्युजलाई जानकारी दिए ।

मौसम अनुकूल रहेमा सम्भवत बिहान ८ बजेपछि पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछाने पोखराबाट काठमाडौं प्रस्थान गर्नेछन् ।

काठमाडौं आइपुगेपछि उनी आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनेछन् ।

लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता झाले बताए ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट बिहीबार साँझ रिहा गरेर परिवारको जिम्मा लगाइएको थियो ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बिहीबार नै धरौटी रकम बुझाउन नसकेपछि प्रतिवादी पछाईँले भने हिरासतमै रहेको अदालतले जनाएको छ ।

अदालतमा १० दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।

आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै रवि

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved