सहकारीको रकम अपचलन मुद्दा

आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै रवि

नेपालभ्युज

आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै रवि
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश दिएपछि बिहीबार राति अदालतबाट बाहिरिँदै रास्वपा सभापति रवि लामिछाने । तस्वीर : राम थापा/रासस ।

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछानेलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट बिहीबार साँझ रिहा गरेर परिवारको जिम्मा लगाइएको थियो ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बिहीबार नै धरौटी रकम बुझाउन नसकेपछि प्रतिवादी पछाईँले भने हिरासतमै रहेको अदालतले जनाएको छ ।

अदालतमा १० दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved