महामारीमा जीवन

जिन्दगी बिथोलिदियो महामारीले, दुःखमा झन् सास्ती दियो सरकारले

स–साना ईलम गरेर जीवन गुजारिरहेका महानगरका बासिन्दाको जिन्दगी लकडाउनका कारण बिथोलियो । काम गुमाए, बचत सकियो, ऋण थपियो । तर दुःखमा साथ दिनुको साटो झन् सास्ती मात्रै दिए सबै तहका सरकारले।

जिन्दगी बिथोलिदियो महामारीले, दुःखमा झन् सास्ती दियो सरकारले

काठमाडौं। सन् २०२० ले पाइला हाल्दै थियो, विश्वभरि नयाँ रोग फैलिन थाल्यो। उत्तरको छिमेकी देश चीनबाट शुरु भएको यो नयाँ रोग हेर्दाहेर्दै युरोप पुग्यो।

अमेरिकालाई गाँज्यो र दक्षिणी छिमेकी भारत आइपुग्यो। शुरुमा खासै ख्याल नगरेको सरकारले एकाएक लकडाउन घोषणा गर्‍यो। नेपाली शब्दकोषमा नयाँ शब्द मात्र थपिएन, मानिसको जीवन पनि बिथोलिन थाल्यो। लकडाउनका कारण मानिसको जिन्दगी कसरी बिथोलियो ? त्यसैको एउटा अभिलेखीकरण यहाँ प्रस्तुत छ।

बिथोलिएको जीवन

हातमा भएको मकै खाइ नसक्दै मानिसहरू मागिहाल्छन्, ‘अर्काे पनि एउटा दिनु न।’ कोइलाको आगोमा ओदानमा पोल्दापोल्दैको तात्तातो मकै हरियो खोस्टोमा बेर्दै उनी ग्राहकहरूको हातमा थमाइदिन्छिन्। एक समूह जान्छ, अर्को आउँछ। उस्तै मागहरू दोहोरिन्छन्। माग अनुसारको मकै पोलेर दिन व्यस्त हुन्छिन् उनी।

काठमाडौंको सिफल चौर छेउको सडकपेटीमा बसेर मकै पोल्ने सीता बस्नेतको व्यापार झट्ट हेर्दा राम्रै चलेजस्तो देखिन्छ। तर जो कसैलाई भन्न नसक्ने दुःखका चाङ छन् उनीसँग। चारवटा मकै पोलिनसक्दै आठ पटक बसाइ फेर्छिन्। नियमित आउने ग्राहकले उनको निन्याउरो अनुहार देखेर सोध्छन्, “तपाईंलाई सञ्चो छैन हो?”

शुष्क स्वरमा भन्छिन्, “हो, ढाड दुखेको छ, त्यसैले लामो समय एकैतिर फर्केर बस्न सक्दिनँ।”

कम्मरमा दुई वटा पटुका बाँधेकी छन्। थाहा छैन किन हो अचेल बेस्मारी ढाड दुख्न थालेको छ। तर अस्पताल गएकी छैनन्। ढाड दुख्दा मात्रै होइन, दुई महीनाअघि रुघा र ज्वरोले आमा-छोरा नै थलिँदा पनि उनीहरू अस्पताल गएनन्। “जचाउन पैसा लाग्छ,” उनी भन्छिन्, “आफूसँग खान त पैसा नभएको बेला उपचार गर्न कहाँबाट पैसा ल्याउनु ?”

सिफल चोक नजिकै उनको डेरा छ, महीनाको पाँच हजार तिर्नुपर्ने। “श्रीमानको कमाइ छोरालाई पढाउन र भाडा तिर्न ठिक्क हुन्छ”, उनी भन्छिन्, “मकै पोलेर आएको आम्दानीले घरको नुनतेल जोहो गर्न बल्लबल्ल पुग्छ।” काठमाडौं आएको १२ वर्षमा यति धेरै अभाव खप्न परेको सुनाउँछिन् उनी। नभए त जिन्दगी ठिकठिकै चलिरहेको थियो। १२ वर्षअघि श्रीमानसँगै सिन्धुलीको रातमाटेबाट आएकी थिइन् सीता। शुरु-शुरुमा त उनी श्रीमानसँगै मजदुरीमा जान्थिन्। बिहान-बेलुका अरूको घरमा लुगा धुन्थिन्। दिउँसो घर बनाउने ठाउँमा श्रीमानसँगै ज्यालादारी श्रममा।

तीन वर्षजति अघि उनले पेशा फेरिन्। ज्यालादारी काममा जान छोडेर चाबहिलको थोक पसलबाट मकै ल्याएर पोलेर बेच्न थालिन्। दिउँसो बदाम बेच्थिन्, साँझ परेपछि मकै। तर, कोभिड-१९को महामारी फैलिएसँगै देशमा लकडाउन गरिएपछि उनीहरूको दैनिकी खलबलियो।
“घरखर्च गरेर बचेको केही रकम जम्मा गरेका थियौँ, त्यो पहिलेको लकडाउनमा सकियो,” उनी भन्छिन्, “कति छाक त भोकै बस्नुपर्‍यो। काठमाडौंमा आफन्त छैनन्। कसैसँग ऋण मागौं पत्याउँदैनन्, के गर्ने ?”

शुरुशुरुमा त केही हप्तामात्रै लकडाउन हुन्छ, थेगिएला भन्ने लागेको थियो रे। सरकारले लकडाउनको अवधि बढाउँदै लगेपछि उनीहरूको चिन्ता पनि बढ्दै जान थाल्यो। बचत रकम सकिँदै गएपछि भोकै सुत्न बाध्य भयो उनको परिवार। “कति छाक भोकै सुतियो,” सीता सुनाउँछिन्, “खाली पेट सुत्दा भोकले भन्दा पनि चिन्ताले बढी पिरोल्थ्यो।”

खान लाउन नै धौ-धौ भएपछि गाउँ नै फर्किउँ भन्ने विचार नआएको होइन उनको मनमा। पतिसँग सल्लाह पनि गरिन्। तर खेतबारीको नाउँमा गाउँमा सानो टुक्रा पनि नभएकोले गाउँ जाने आँट गर्न सकेनन्। गाउँ गएर पनि किनेरै खानुपर्ने भएपछि बरु शहरमै लुकीलुकी बिहानबेलुकी काम गर्ने सोच बनाए।

दिनहुँ ५० घोगा मकैको भारी उनले चावाहिलबाट बोकेरै सिफलसम्म ल्याउँछिन्। साथमा हुन्छ २० किलो दाउरा।

“अचेल ढाड दुख्छ, साह्रै सास्ती हुन्छ बोकेर ल्याउन”, उनी भन्छिन्, “तर के गर्नु, भाडा तिरेर ल्याउन भन्दा आफैँले बोकेर ल्याउँदा दुई-चार पैसा बच्छ कि भन्ने आश लाग्छ। कहिलेकाहीँ छोरा नमराजले दाउरा बोकिदिएर सघाउँछ।”
०००
काठमाडौंकै कोटेश्वरमा साँझ परेपछि ठेलागाडामा खाजा नास्ता बेच्न आइपुग्छन् २८ वर्षे युनिश क्षत्री। रामेछाप नामाडीका क्षत्रीको ठेलामा मःम, ससेज, आलु फ्राईलगायत खानेकुरा पाइन्छ। तीन वर्ष भयो उनले ठेला व्यवसाय थालेको। लकडाउन अघि उनको आम्दानी राम्रो थियो। आफु बस्ने घरको सर्टर पनि भाडामा लिएर खाजा नास्ताको पसल लिएका थिए। दिउँसो पसलमा बस्थे, साँझ परेपछि कोटेश्वर चोकमा आइपुग्थे।

जिन्दगीले गति लिँदै थियो, त्यहिबेला लकडाउन भइदियो। उनकी पत्नी सुत्केरी भएको केही दिन मात्रै भएको थियो। भर्खर जन्मेकी छोरी बिरामी परिरहन्थिन्। लकडाउनको चौथो दिनमा नै छोरी बिरामी भएपछि उनले ‘हाम्रो सहयात्री हस्पिटल एन्ड बर्थीङ सेन्टर’मा लगे।

“त्यहाँ १८ सय रुपैयाँ खर्च भयो, तर के रोग के लागेको पत्ता लागेन, त्यसपछि कान्ति बाल अस्पताल लग्यौँ, त्यहाँ ३५ सय खर्च भयो,” क्षत्रीले सुनाए।

त्यहीबेला घरमा सुत्केरी बुहारी र नातिनी स्याहार्न आएकी क्षत्रीकी आमाको स्वास्थ्यमा पनि खराबी देखिन थाल्यो। आमालाई पहिलेदेखि नै दमको बिरामी थियो। लकडाउनकै बीचमा प्यारालाइसिस भएपछि उनले वीर अस्पताल लगेर उपचार गराए। “आमालाई अहिले पनि बेलाबेला वीर अस्पताल लगेर थेरापी गराइरहनुपर्छ,” उनी भन्छन्, “आमाको औषधीको लागि मात्रै महीनामा झन्डै ४ हजार रुपैयाँ खर्च हुन्छ। तर आमाको अवस्थामा अझै सुधार भइसकेको छैन।”

एकातिर लकडाउन, अर्काेतिर घरायसी समस्या। उनको पीर थपिँदै गयो। एकातिर सुत्केरीको खर्च, आमाको खर्च, डेरा भाडालगायत खर्च बढ्दै थिए अर्कोतिर आम्दानी शून्य थियो। उनले सर्टरमा राखेको पसल छोडिदिए। पत्नी, छोरी र आमासहित एउटै कोठामा गुजारा गर्न थाले।
“दुई महीना त पसलबाट आएको आम्दानीको बचतले गुजारा चलाएको थिएँ, त्यसपछि त खाना खर्च पनि गाह्रो हुन थाल्योे,” उनी सुनाउँछन्, “काम नै नभएपछि चिनेजानेका दाईहरूलाई गुहारेँ, उहाँहरूले खाद्यान्नको भारी बोक्ने काममा लगाइदिनुभयो। भारी बोकेर कमाएको पैसा थोरै हुने रहेछ तैपनि लकडाउन नखुलुन्जेल भारी बोक्नुबाहेक अरू विकल्प नै देखिनँ।”

लकडाउन खुकुलो भएपछि उनी फेरि कोटेश्वर चोकमा आइपुगेका छन्। दिउँसो भारी बोक्छन्, साँझ ६ बजेदेखि ८ बजेसम्म खाजा नास्ता बेच्छन्। तर पहिलेजस्तो छैन व्यापार। कोरोना संक्रमण हुने डरले मानिसहरू उनको ठेलामा आउन डराउँछन्। कुनै दिन सामान किन्नै सकिँदैन, कुनै दिन उधारोमा ल्याउने गरेका छन्। त्यो पनि नबिक्दा खेर जान्छ। “बाँकी बचेको खानेकुरा राख्न फ्रिज किन्न सकिएन, फ्रिज नभएपछि सामान बिग्रन्छ, घाटा हुन्छ,” युनीश भन्छन्।

०००
साझँ पर्दै गएपछि सुर्खेत बाबियाचरकी मनिषा लामिछाने (३१ वर्षे) पनि ठूलो पोको बोकेर कोटेश्वरको सडकपेटीमा आइपुग्छिन्। एउटा बाकसमा नाङ्गलो पसल चलाउँछिन्, अर्काेमा लुगाहरू फिजाउँछिन्। पाँच वर्षदेखि सडक पेटीमा यसरी नै व्यवसाय गर्दै आएकी उनको पेशा कोभिड महामारीले खोसिदियो।

पति र छोराछोरीसँग काठमाडौंको जडिबुटीमा भाडामा बस्ने उनी लकडाउन भएपछि गाउँ जान चाहन्थिन्। तर घर फर्किने भाडा सुनेरै उनीहरूको पाइला रोकियो।

“हाम्रो गाउँ जाने गाडीले अघिपछि एकजनाको १२ सय रुपैयाँ लिन्थ्यो, लकडाउन हुने भएसी बुझ्न गएको त ३ हजार रुपैयाँ पो लाग्छ भन्यो,” लामिछाने सुनाउँछिन्, “चार जनाको त १२ हजार लाग्ने भयो। त्यति पैसा तिरेर गाउँमा गएर पनि खेती गर्नु छैन, कमाइ हुन्न। त्यसैले गएनौँ।”
भएको जग्गाजमिन गाउँकै मानिसलाई केही वर्षको लागि बन्धकी दिएर सात वर्ष अघि मनिषाका पति हरिबहादुर काठमाडौं आएका थिए। जग्गा बन्धकी दिएबापत पाएको पैसाले काठमाडौंमा छोराछोरी राम्रो विद्यालयमा पढाउने, राम्रो व्यापार व्यवसाय गर्ने योजना थियो उनीहरूको।

“तर त्यो पैसा त सटर खोलेर पसल राख्न पनि पुगेन,” लामिछाने भन्छिन्, “काठमाडौं आएसी पो थाहा भयो, गाउँको केही हजार त शहरमा सुका जति पनि नहुँदो रहेछ। शहरमा व्यापार व्यवसाय गर्न, बालबच्चालाई राम्रो विद्यालयमा पढाउन त लाखौँ हुनुपर्नेरहेछ।”

उनले छोराछोरीलाई सरकारी विद्यालयमा पढाइन्। पति हरिबहादुरले खाद्यान्नको कार्यालयमा सामान ‘लोड-अनलोड’ गर्ने काम गर्न थाले। मनिषाले चाहिँ सडकमै सानो नाङ्गलो पसल खोलिन्। तर लकडाउनले त उनीहरूको दैनिकी नै प्रभावित बन्यो। खान लाउन नै धौ-धौ भएपछि छोराछोरीको भविश्यको लागि जम्मा गरेको बचत रकम चलाए।

“अघिल्लो लकडाउन त त्यही बचतले नै काटियो, तर दोस्रो लकडाउनमा गाह्रो पर्‍यो,” उनी भन्छिन्, “गुन्द्रुक छैन काठमाडौंमा, त्यही पिठो उमाल्यो, खायो।”
०००
हरेक दिन साँझ सात बजेपछि ललितपुरको लगनखेलदेखि थापाथलीको सडकमा हिँड्ने हो भने एक युवालाई सडकमा कागज, प्लास्टिक, सिसा बटुल्दै गरेको भेटिन्छ। रिक्सामा राखिएको बोरामा फालिएका सामग्री बटुल्दै गरेका उनी हुन्, २३ वर्षे मुकेश कुमार साह। पुख्र्यौली घर भारतको बिहार सितामढी। रोजगारीका लागि काठमाडौं आएका बुबा यही बस्न थाले। उनी यतै जन्मिए, हुर्किए। अहिले बुवा, दाई, भाई र दुई बहिनी सहितको उनको परिवार कालिमाटीमा बस्छ।

परिवारका मुली बुवाले आँखा देख्न छाडेपछि सात कक्षा पढ्दापढ्दै उनी पढाइ छोडेर काममा संलग्न भए। बुवा त स्टोभ, ग्यास चुलो बनाउने काम गर्थे। दाइ फोहोर ओसार्ने गाडीमा काम गर्छन्। बहिनीहरू र भाइ पढ्दै छन्। जिन्दगी राम्रैसँग त होइन, ठिकठिकै चल्दै थियो।

लकडाउनले त्यसमा पनि भाँजो हाल्यो। उनले काम गर्ने कवाडी पसल बन्द भयो। काम नभएपछि कमाइ भएन। कमाइ नभएपछि पैसा भएन। पैसा नभएपछि खाने अन्न घरमा आएन।

“साहुहरू पनि गाउँतिर लागे। कसैले पैसा दिएन। अलिकति जम्मा भएको पैसा केही दिनमै सकियो,” साह भन्छन्, “अरू जस्तो हामी पैसावाला छैन, जे मन लाग्यो त्यो किनेर खानसक्ने हैसियत छैन, लकडाउनमा कतै जान पनि पाएन। त्यो बेला विभिन्न संस्थाले दिएको राहतले नै हाम्रो परिवार बाँचेको हो।”

पहिलो लकडाउनको समयमा उनीसँग चिया खाने पनि पैसा नभएपछि उनलाई जीवन देखेर दिक्क लाग्न थाल्यो। त्यतिबेला प्रहरीको मतलब नगरी खोलाको किनारमा कवाडी खोजेर, खुलेका कवाडी पसलमा सस्तोमा बेचे। त्यसबाट उनको चिया खर्च जुट्थ्यो।

उनी भन्छन्, “अहिले लकडाउन खुलेपछि फेरि काम गर्न थालेको छु। दिनको चार/पाँच सय रुपैयाँ कमाउन थालेको छु।” उनी साँझ ६ बजे कालिमाटिबाट रिक्सा लिएर कोठाबाट निस्कन्छन्। रातको १० बजेसम्म कवाडी संकलन गरी कबाडी पसलमा छोडेर घर जान्छन् र बिहान सामान छान्न पसलमा जान्छन्। उनलाई ती सामान छानिसक्न दुईदेखि तीन घण्टा लाग्छ। उनी जस्तै कवाडी सामान संकलन गर्ने २५/३० जना छन्।

“साहुहरू पनि गाउँतिर लागे। कसैले पैसा दिएन। अलिकति जम्मा भएको पैसा केही दिनमै सकियो,” साह भन्छन्, “अरू जस्तो हामी पैसावाला छैन, जे मन लाग्यो त्यो किनेर खानसक्ने हैसियत छैन, लकडाउनमा कतै जान पनि पाएन। त्यो बेला विभिन्न संस्थाले दिएको राहतले नै हाम्रो परिवार बाँचेको हो।”

कबाडी काम गर्दा धेरैले उनलाई हेप्छन् भने केहीले माया गर्छन्। “हाम्रो काम देखेर घृणा गर्नेहरू पनि छन्। तर हाम्रो काममा पनि त दुःख हुन्छ, उकालोमा रिक्सा तान्न गाह्रो हुन्छ भनेर कसैले सोच्दैन। सिसा, फलामले कति हात काटिन्छ,” उनी भन्छन्, “अरूले भन्यो भनेर काम नै छोड्न मिल्दैन। योबाहेक अरू काम गर्न पनि आउँदैन।”

बेरोजगार बने स्वरोजगार

शनिबारबाहेक हरेक दिन दिउँसो दुई बजेपछि पुतलीसडकको शंखरदेव क्याम्पस नजिकै फुटपाथ हिँड्ने हो भने बोरा ओच्छ्याएर काइँयो, नेलकटर, टीका लगायत स-साना सामानहरू बेच्दै गरेकी दोलखा जिरीकी दुर्गा जिरेललाई भेटिन्छ। उनीसँगै हुन्छ, उनको ८ वर्षे छोरा समिर। व्यापारसँगै छोरालाई अक्षर सिकाउँदै हुन्छिन् उनी।

लकडाउनअघि उनी फुटपाथमा सामान बेच्नुका साथै बिहान र दिउँसोपख घर-घरमा लुगा धुन जान्थिन्। “कोरोना सर्छ भनेर मानिसहरूले बोलाउनै छोडेपछि त्यो काम गुम्यो”, जिरेल भन्छिन्।

काम गुमे पनि खाने मुख त उही थिए, एक छोरा र एक छोरी सहित उनी। दोस्रो बिहे गरेर पति अर्कै अन्तै बस्न थालेपछि उनले छोराछोरी हुर्काइरहिथिन्। तर तर लकडाउनमा कमाइ नै रोकिएपछि उनी माइतीको शरणमा पुगेकी छन्। अहिले पनि कमाइ राम्रो नभएकोले उनी माइतीमा नै छिन्। माइतीले उनको छोरा र छोरीलाई पढाइदिएका छन्।

“बिहे गरेकी छोरी फेरि माइतीमै आएर बस्न अप्ठेरो भइरहेको छ, तर बाध्यता भयो,” उनी भन्छिन्, “कोरोनाले काम खोस्यो। अरूको भर पर्नुपर्ने बनायो।”

थपियो ऋण

लकडाउनका कारण सिन्धुलीकी सीता बस्नेतको परिवारमा ऋण थपिएको छ। लकडाउनमा कमाउन नसक्दा अझै तीन महीनाको डेरा भाडा १५ हजार रुपैयाँ घरबेटीलाई तिर्न बाँकी रहेको सुनाउँछिन् उनी। पहिलो लकडाउनमा त धेरथोर बचतले काम चलाएको थियो उनको परिवारले तर दोस्रो लकडाउनमा न बचत थियो, न त राहत नै पाए।

“कसैले सहयोग गरेको पनि छैन, आश पनि लाग्दैन,” उनी भन्छिन्, “वर्षाैँदेखि बसेको घरको मालिकले दुःख भएर भाडा तिर्न नसक्दा एक महीनाको भाडा त छुट दिएन, अरूले के नै गर्छन् र ?” रामेछापका युनिश क्षत्रीलाई पनि पहिलो लकडाउनमा २५ हजार रुपैयाँ जतिको ऋण लागेको थियो। त्यो तिरिनसक्दै दोस्रो लकडाउन भयो। दोस्रो लकडाउनमा थप १५ हजार ऋण थपिएको सुनाउँछन्।

“जति कमाउँछु, त्यो भन्दा बढी खर्च हुन्छ,” उनी भन्छन्, “लकडाउन नै पिच्छे ऋण लागेको छ। अब फेरि लकडाउन भयो भने अझै बढ्छ।”
कोभिड-१९ को कारण अहिले उनको ठेलागाडामा खानेकुरा खान आउने मानिसको संख्यामा पनि घटेको छ। लकडाउन हुनु अघि दिनभरीको साँवा कटाएर २५ सय देखि ३ हजारसम्मको नाफा कमाउने गरको उनीे अहिले दिनको पाँच सय नाफा निकाल्न हम्मे परेको सुनाउँछन्।

घरबेटीले भाडाका लागि गर्ने किचकिच सुनेर परिवारका सदस्यले उनलाई ‘विदेश नै जाऊ’ भन्छन्। तर विदेश जाने रहर पुगिसकेको छ उनको। तीन वर्ष अघि साउदी अरब गएका थिए उनी तर जाँदा तीन वर्षको कन्ट्र्याक्ट गरेर गएपनि कम्पनी घाटामा गएको भन्दै दुई वर्षमै फर्कनुपर्‍यो। ‘फ्री-भिसा, फ्री-टिकट’ मा जान लाग्दा पनि मेनपावरका एजेन्टले उनलाई दुःख दिए।

“विदेश जाने दिनमा एजेन्टले ५५ हजार दे, नत्र विदेश जान नपाउने बनाइदिन्छु भनेर धम्की दियो,” उनी सम्झन्छन्, “विदेश जानुअघि दूतावासबाट अन्तर्वार्ता लिँदा सरहरूले मलाई ‘फ्री-भिसा, फ्री-टिकट’ मा जान लागेकोले एजेन्टले थप पैसा मागे नदिनु भन्नुभएको थियो, त्यसैले मैले पैसा दिन्नँ भनेँ। मैले मेडिकल चेकअपको लागि ११ हजार पाँच सय तिरेँ, तर एजेन्टले विदेश उड्ने दिनमा पैसा मागेर तनाव दियो।”

विदेशमा पनि खासै कमाउन सकेनन्। विदेशमा कमाएर ल्याएको पैसा घरायसी ऋण तिर्नमा खर्च भयो। बाँकी बचेको पैसाले पसल खोलेका थिए। त्यो पनि लकडाउनले बन्द गराइदियो। दुःख-सुख जेहोस् नेपालमै केही गर्न चाहन्छन् उनी तर वातावरण उनले सोचेजस्तो छैन।
“गरीबलाई जे गरे नि सुख हुन्न रैछ, केही सीप नलागे ऋण तिर्न भए पनि विदेश जानुपर्ने बाध्यता आइलाग्दै छ,” उनी भन्छन्।

सुर्खेत बाबियाचरकी मनिषा लामिछानेका पति हरिबहादुरले खाद्यान्न मिलमा बोराहरू ‘लोड-अनलोड’ गर्ने काम त लकडाउनमा पनि रोकिएन तर त्यहीे बाहनामा उनको तलब भने रोकियो। परिणाम, उनीहरूले पनि आर्थिक समस्या भोग्नुपर्‍यो।

“लकडाउन खुकुलो भएपछि पैसा दिन थालेको छ, तर पूरै दिएको छैन,” लामिछाने भन्छिन्, “पैसा नपाएर चार महीनाको डेरा भाडा तिर्नै बाँकी छ।”

दुःख मात्रै दिन्छ महानगरपालिका

लकडाउनका कारण जिन्दगी नै बिथोलिएको यो घडीमा सरकारी संयन्त्र भने कतै पनि काम लागेको छैन। बरु काठमाडौं महानगरपालिकाले थप दुःख मात्रै दिने गरेको अनुभव छ भुक्तभोगीहरूको। सीता बस्नेतसँग लकडाउनअघि मकै ओसार्न, पोल्न मिल्ने ठेलागाडा थियो। २०, २५ दिन अघि सडकको छेउमा राखेर मकै पोल्दै, बेच्दै गर्दा काठमाडौं महानगरको नगरप्रहरीले ठेलागाडा नै लगिदियो। ठेलागाडासँगै त्यो दिन ल्याएको मकै, कराइ र ओदान पनि गयो।

“विदेश जाने दिनमा एजेन्टले ५५ हजार दे, नत्र विदेश जान नपाउने बनाइदिन्छु भनेर धम्की दियो,” उनी सम्झन्छन्, “विदेश जानुअघि दूतावासबाट अन्तर्वार्ता लिँदा सरहरूले मलाई ‘फ्री-भिसा, फ्री-टिकट’ मा जान लागेकोले एजेन्टले थप पैसा मागे नदिनु भन्नुभएको थियो, त्यसैले मैले पैसा दिन्नँ भनेँ।

“महानगरले अब त्यो गाडा दिँदैन। हाम्रो सामान लिलाम गरेर पैसा कमाउँछ,” उनी भन्छिन्, “लकडाउनभरि पुलिसले लखेटेको लखेट्यै गर्ने, लकडाउन हट्यो, नगरपालिकाले लखेट्न थाल्यो। बिहानभरिको कमाइले बेलुकी खाने गरीबलाई कोभिडले मात्रै हैन, सरकारले पनि हेलाँ गरेको छ।”

सीतालाई मात्रै होइन, रामेछापका युनिश क्षत्रीले पनि नगरप्रहरीबाट सास्ती खेपेका छन्। व्यापार गरेर साँझ ८ बजेपछि कोटेश्वरबाट जडीबुटी फर्किने क्रममा प्रहरी वृतले सिलिण्डर उठाएर लगिदियो। “ढिलासम्म ठेला सडकमा राख्यो भनेर भरि सिलिण्डर नै लग्यो, अनि एक हप्तापछि लिन आउनुभन्यो,” उनी सम्झन्छन्, “हप्तादिनपछि खाली सिलिण्डर पो दियो। अब त्यहाँ कराउ भने मलाई नै कुट्लान् भन्ने डरले केही बोलिनँ।”

छिन्नभिन्न भयो पढाइ

लगातार पढेको भए सीता बस्नेतको ९ वर्षे छोरा नमराज अहिले कक्षा चारमा अध्ययनरत हुन्थे। तर उनी दुई वर्षदेखि कक्षा तीनमा नै छन्। लकडाउन भएर कक्षा बन्द भएदेखि छोराको पढाइ सुचारु गराउन सकेकी छैनन् उनले नमराजका साथीहरू त अनलाइन कक्षा पढ्छन् तर आर्थिक अभावकै कारण उनका छोरा भने पढाइ बाट बञ्चित हुन परेको छ।

“साथीहरू अनलाइन कक्षा पढ्छन्, मलाई पनि पढ्न मन लाग्छ तर मसँग भिडिओ चल्ने मोबाइल नै छैन,” दुखेसो सुनाउँछन् नमराज।
छोरालाई पनि उसका साथीसरह पढाउने इच्छा त नभएको कहाँ हो र सीतासँग ! तर इच्छा पुरा गर्न पनि काठमाडौंमा पैसा नै चाहिने रहेछ।
“कमाइ राम्रो भएको भए छोरालाई पढाउन चाहिने सामान किन्दिन्थेँ होला, राम्रो डेरामा सरिन्थ्यो होला, मिठो मिठो खाइन्थ्यो,” उनी भन्छिन्, “खाना खाजा खानै पर्‍यो। कमाएको पैसा खान लाउन र भाडा तिर्दै ठिक हुन्छ। छोराको भविश्यको बारेमा चिन्ता हुन्छ। के गर्नु सबै कुरा पैसा रहेछ, पैसा नभए केही हुन्न रहेछ।”

सुर्खेतकी मनिषा लामिछानेको छोरा महादेवस्थानस्थित कोटेश्वर सरस्वती उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा र छोरी कक्षा छ मा अध्ययनरत छन्। गतवर्षदेखि दुवैको अनलाइन कक्षा सुरू भएको छ। घरबेटीसँग वाइफाइ लिएका छन्। वाइफाइ लिएवापत महीनाको पाँच सय तिर्नुपर्छ।

पैसा तिरेअनुसार छोराछोरीको पढाइ राम्रो नभएको उनले महशुस गरेकी छन्। “छोराको त ठिकै छ, छोरीको पढाइ त खत्तम भइसक्यो। पहिले पढेको पनि बिर्सिन लागिसकी,” उनी भन्छिन्, “छोराछोरीको भविश्य सोचेर चिन्ता लाग्छ।”

एकतिहाईले घट्यो आम्दानी

महानगरपालिकाका यी श्रमजीवि लगायत देशैभरका कामदारहरूको एकतिहाईमा कमी आएको हालै प्रकाशित एक अध्ययनले जनाएको छ। वल्र्ड भिजन इन्टन्यासनलले युनिसेफसँग मिलेर १५ जिल्लामा फोनमार्फत् एक हजार तीन सय ४६ जनासँग सर्वेक्षण गरेको थियो। गत मे २०२१ (जेठ-असार) मा प्रकाशित ‘द्रुत आवश्यकता आंकलन/घरधुरी सर्वेक्षण’ नाम दिइएको त्यो सर्वेक्षणको नतिजाले कोभिडअघि मासिक १५ हजारसम्म कमाउने श्रमजीविहरूको आय मुश्किलले पाँच हजार कमाउनेसम्म झरेको देखाएको छ।

सर्वेक्षणमा संलग्नमध्ये ८६ प्रतिशतले जिविकाका लागि ऋण लिएका छन्। २२ प्रतिशतको उपभायेग गर्ने दर घटेको छ। १७ प्रतिशतले दैनिक आवश्यकतामा नआउने काम महत्वका सामग्री बेचेका छन्। सर्वेक्षणले खाद्य असुरक्षा १९ प्रतिशतबाट बढेर ३५ प्रतिशतमा पुगेको देखाएको छ। उत्तरदातामध्ये १०० मा ५६ जनाले मात्रै परिवारको न्यूनतम आवश्यकता पूर्ति गर्न सकेको बताएका छन्। १०० मा ८७ जनाले दैनिक उपभोग्य सामग्रीको मूल्य अत्याधिक बढेको बताएका छन्।

सबैभन्दा विडम्बना त १०० मा ६९ जनाले दैनिक आवश्यकता टार्न ऋण पनि पाएका छैनन्। महिलाहरू मुली भएको परिवार झनै जोखिममा परेको छ। महिलाहरू मुली भएको घरमा बढी खाद्य असुरक्षा छाएको छ। महिला मुली भएका ८० प्रतिशत घरपरिवार कोभिडकै कारण ऋणमा फसेका छन्।

तस्वीर र भिडिओ  गाेपेन राई


Comment

One thought on “जिन्दगी बिथोलिदियो महामारीले, दुःखमा झन् सास्ती दियो सरकारले

  1. Hi, I’m Mahmud. I would like to introduce you to one of my websites where you will find all kinds of WordPress & WooCommerce related Premium Tools absolutely free. That means you don’t have to spend money to buy your necessary WordPress Tools. Usually, all of our tools are bought from official developers with unlimited licenses and then our professional developer’s team creates an activated version of the product carefully for multiple domain usages.
    .
    So It’s guaranteed that the Plugins or Themes weren’t contained any kind of viruses or hidden malware. Our files are completely clean and secured. So you can use these files without any hesitation. Also, you can be sure to scan any file with VirusTotal.Com before using it.
    .
    Website Link: https://nulled4all.com
    .
    Thank You
    Mahmud Ghazni

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved