माधवबारे युवराजको फेरिएको बोली : एमालेको एजेण्डा र विचार लिएर कहाँ पुग्ने ?

नेपालभ्युज

माधवबारे युवराजको फेरिएको बोली : एमालेको एजेण्डा र विचार लिएर कहाँ पुग्ने ?
फाइल फाेटाे

सुर्खेत। नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्ज युवराज ज्ञवालीले पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको हात भए पनि मुख्य जिम्मेवार नेता नेपाल नै भएको बताएका छन्। सुर्खेतमा मंगलबार पत्रकार सम्मेलनमा ज्ञवालीले पार्टी फुट्नुमा नेपाल मुख्य दोषी रहेका बताएका हुन्।

एमाले फुटाएर माधव नेपालले गम्भीर गल्ती गरेको भन्दै ज्ञवालीले त्यो गल्ती नेता नेपालले महसुस गर्ने बताए। हिजोका गल्तीलाई मुख्य कारण बनाएर आज पार्टी फुटाउनु जायज नभएको उनको भनाइ छ। ज्ञवालीले भने, ‘‘एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ ? हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ ?’’

माधव नेपालले आफ्नो समूहको स्थायी कमिटीको बैठकसमेत नराखी अचानक नयाँ पार्टी दर्ता गर्न पुगेका ज्ञवालीले बताए। आफूले माधवको कदमका विषयमा थाहा पाएलगत्तै संस्थागत निर्णय नगरी नयाँ कदम नचाल्नका लागि आग्रह गरको पनि स्मरण गरे। स्थायी समितिमा छलफल नै नगरेर नयाँ दल दर्ता गर्न जानु भनेको इतिहासमै ठूलो गल्ती हुने कुरा आफूले सम्झाएको ज्ञवालीले बताए।

ज्ञवालीले भने, ‘‘तपाईं पार्टी दर्ता गर्न जाँदै हुनुहुन्छ रे भनेर त्यही दिन बिहान मैले फोन गरेर सोध्दा उहाँले हो भन्नु भयो। मैले स्थायी कमिटीको बैठक बसाल्नुस्, त्यहाँ छलफल गरेपछि मात्रै के गर्नुपर्ने हो, जानु पर्ने हो भने जाऔँला, नजानुपर्ने हो भने नजाऔँला भनेँ।’’

ज्ञवालीले एमालेका कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधरण पार्टी विभाजनको विपक्षमा रहेको भन्दै विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)ले खास प्रभाव पार्न नसक्ने बताए। पार्टी विभाजनको दोष माधव नेपाल र केपी ओलीलाई दिँदै उनले कर्णालीमा माधव नेतृत्वको एकीकृत समाजवादीले कम प्रभाव पार्ने ठोकुवा गरे।

ज्ञवालीले माधव नेपालले आफूहरुलाई धोकेबाजको रुपमा प्रस्तुत गरेको भन्दै त्यष्सको पनि खण्डन गरे। आफ्नो समूहको बैठकमा छलफल नै नगरिकन दल दर्ता गर्न जाने माधव नेपालले आफूहरुलाई धोका दिएर छाडेर हिँडेको आरोप लगाएकोमा पनि आक्रोश पोखे। उनको प्रश्न छ, ‘‘बैठक नबसी उहाँ दल दर्ता गराउन जाँदा उहाँले छोडेको भयो कि हामीले छोडेको भयो ? तथ्यले के भन्छ ?’’

वाम मोर्चा बनाएर एमालेलाई सिध्याउने अभियानमा नलाग्न माधव नेपाललाई अनुरोध गर्दै उपाध्यक्ष ज्ञवालीले त्यसमा लागेपनि सफल नहुने ठोकुवा गरे। एमालेको मत खोसेर बलियो हुन्छौँ भन्ने योजनामा एकीकृत समाजवादी रहेको त्यो गलत हुने पनि उनले बताए। एमालेबारे भ्रम नछर्न आग्रह गरेका ज्ञवालीको आशय जनताले कुन नेता र पार्टी कस्तो भन्ने बुझिसकेका भन्ने थियो।

एमालेमा विभाजनअघि आफूहरु पार्टी एकतालाई कायम राख्ने शर्तमा फरकमतसहित माधव नेपालको विचार समूहमा रहेको भन्दै उपाध्यक्ष ज्ञवालीले उक्त समूहभित्रको अन्तर्विरोधका कारण आफूहरू एमालेमै लागेको प्रष्ट पारे। माधव समूहमा पार्टी एकता गर्ने र विभाजन गर्ने विषयमा अन्तर्विरोध हुँदा आफूहरु एमाले एकताको पक्षमा उभिएको उनले बताए।

माधव समूहमा करिब १० जना विभाजनको पक्षमा नरहेको अवस्थामा आफूहरु एमालेमै रहने गरी निर्णय लिएको ज्ञवालीले बताए। आफूहरुले माधव नेपाललाई विश्वास दिलाउन एक महिनासम्म प्रयास गरेको तर असफल भएको र नेपालले अचानक पार्टी दर्ता गराएका उनले बताए। ज्ञवालीले भने, ‘‘उहाँले अर्को पार्टी बनाएर ठूलो गल्ती गर्नुभएको छ। एउटै विचार र सिद्धान्तमा चलेर अर्को पार्टी बनाउनु जायज होइन।’’

जनाधार भएको पार्टी एमाले र कांग्रेस
उपाध्यक्ष ज्ञवालीले अहिले नेपाली राजनीतिमा जनाधार भएको पार्टीहरु नेकपा एमाले र नेपाली कांग्रेस नै भएको पनि बताए। पछिल्ला निर्वाचनहरुलाई हेर्ने हो भने पनि अहिले जनाधार र जनविश्वास भएका पार्टीहरु एमाले र कांग्रेस नै भएका उनको भनाइ छ।

सत्ता गठबन्धनलाई प्रभावमा पार्ने गरी अहिले एकीकृत समाजवादी देखिएपनि नेपाली राजनीतिमा जनाधार बनाउन कठिन भएको ज्ञवालीको भनाइ छ। उनले एमाले र कांग्रेसबाहेर जनाधार र जनविश्वास बनाउनका लागि अरुसँग हैसियत नभएको ठोकुवा गरे। ज्ञवालीले भने, ‘‘कांग्रेस-एमालेबाहेक अरूसँग हैसियत छैन। पार्टी छाडेर गएकाहरु घरमा आउनुस्, सुरक्षित हुनुस्, छुट्टिएर कटेरोमा जाने सुरक्षित छैनन् र हुँदैनन् पनि!’

सभामुख एमाले फुटाउन लागे : ज्ञवाली
उपाध्यक्ष ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटा एमाले फुटाउनका लागि आफैं लागेको पनि आरोप लगाए। निष्पक्षताका आधारमा काम गर्नुपर्ने सभामुखले एमाले विरुद्ध षड्यन्त्रमा लागेर पार्टी फुटाउनका लागि योगदान गरेको आरोप लगाए।

सभामुख पदमा जो व्यक्ति बसे पनि उसले निष्पक्षताका आधारमा काम गर्नुपर्न उपाध्यक्ष ज्ञवालीको मत थियो। उनले भने, ‘‘पार्टीले हाम्रा कार्यकर्ताहरुलाई कारबाही गर्न संस्थागत निर्णय गरेर निवेदन दिइसकेपछि त्यसलाई लामो समयसम्म राख्नुले पुष्टि गर्छ कि सभामुख चाहिँ एमाले फूटाउनका लागि भूमिका खेल्नु भएको छ।’’

कामको आधारमा सरकारलाई समर्थन र विरोध
उपाध्यक्ष ज्ञवालीले अहिलेको सरकारको विषयमा एमालेले गुण र दोषका आधारमा धारणा बनाउने बताए। उनले सरकारले राम्रा कामहरु गरे समर्थन र सहयोग गर्ने तथा नराम्रा र जनविरोधी कामहरु गरे विरोध गर्ने प्रष्ट पारे।

राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्दै जाने एमालेको नीति रहेको भन्दै उपाध्यक्ष ज्ञवालीले प्रतिपक्षीका रुपमा कामका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने बताए। उनले भने, ‘‘विगतको निर्वाचनमा जनतासँग गरेका सबै बाचा पूरा भएनन्। केही पूरा भए पनि अझै धेरै गर्न बाँकी छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved