कला संसार

मूर्तिशिल्पमै मग्न महर्जन

केही समययता उनको दिमागमा एउटा परिकल्पना घुमिरहेको छ। त्यो हो– ‘पिकनिक स्कुल’। काठमाडौँ उपत्यका वरपरका कुनै सुन्दर ठाउँमा विद्यालय तहका विद्यार्थीलाई कला, संगीत, नाटकतिर आकर्षित तुल्याउने हेतुले ‘पिकनिक स्कुल’ स्थापना गर्ने सोच उमारिरहेका छन् उनले। भन्छन्, ‘हामीले कम्तीमा पनि सय वटाजति स्कुलको संयुक्त सहकार्यमा यस्तो स्कुल बनाउन सक्छौँ।’

मूर्तिशिल्पमै मग्न महर्जन

सन् २००७ ताका बलिउडले एउटा सार्थक र प्रभावकारी सिनेमा दिएको थियो– ‘तारे जमीन पर’। बाल मनोविज्ञानलाई पछ्याइएको उक्त सिनेमाका बाल–कलाकार ईशान (दर्शील सफारी) ले ‘डिस्लेक्सिया’को समस्या झेल्दै आएका हुन्छन्। जतिसुकै प्रयत्नका बावजुद पनि बालकको ध्यान अध्ययनतिर पटक्कै जाँदैन। अध्ययनतिरभन्दा अरू सिर्जनशील कार्यतिर नै उनको मनमस्तिष्क डोहोरिरहन्छ।

मूर्तिशिल्पी विजय महर्जनलाई पनि त्यस्तै मनो–समस्या थियो, सानो छँदाखेरि। अर्थात् एक किमिसले डिस्लेक्सियाजस्तै। पढाइमा पटक्कै ध्यान नजाने। ज्ञानोदय बालबाटिकाको कक्षा–कोठामा शिक्षक÷शिक्षिकाले पढाइरहँदा उनको दिमागमा भने अनेक थरिका स्वैरकल्पना नाचिरहन्थ्यो। स्वैरकाल्पनिक संसारतिरको यात्रामा उडान भर्न तत्पर रहन्थ्यो, उनको मस्तिष्क। भन्छन्, ‘म कति पढ्ने प्रयास गर्थेँ तर सक्दिनथेँ र सोच्थेँ, मलाई के भएको होला यस्तो ? दिमाग निकै डुल्थ्यो।’
उनको दिमाग बोधो थिएन पटक्कै। केवल पढाइमा केन्द्रित मात्र हुन नसक्ने। ती दिनहरूमा परिकल्पनाको आकाशमा पखेँटा फैलाउँदै उड्ने उनलाई एउटा निश्चित प्रतिभा–क्षेत्र पहिल्याउने आधार भने बन्यो। त्यो थियो– मूर्तिकला।

सानैदेखि मूर्ति–मोह

स्वयम्भूको पूर्वी काखमा अवस्थित छाउनी। स्वयम्भू वरिपरि अनेक स्तूप। हातमा जपमाला लिएर घुमिरहेका भिक्षु–भिक्षुणीहरू। विष्णुमती तरेपछि आउँथे– भीमसेनस्थान र वसन्तपुर। ती ठाउँमा थरिथरिका प्रस्तर कला। चार दशकपूर्व जन्मिए उनी त्यहीं परिवृत्तमा। एक दिन उनी केही साथीसँग स्वयम्भू परिसरमा घुम्दै थिए। मानिसहरूले मूर्तिहरूलाई ढोग्ने, पूजा–आराधना गर्ने र केही पैसा पनि चढाउने गरेको देखेपछि मूर्तिको महत्व बुझे उनले।

देउपाला अर्थात् देवीदेउताको मूर्तिको हेरालु। देउताको मूर्तिमा भक्तजनहरूले पैसा चढाएको देख्थे उनी र साथीहरूसँग मिलेर त्यो पैसा बटुल्थे। र, खान्थे लड्डु किनेर। त्यसपछि उनले मूर्ति बनाउन थाले र आफूलाई पायक पर्ने ठाउँमा राखेर आफैँ देउपालाको भूमिकामा उभिए। भन्छन्, ‘हामीले बनाएर बाटामा राखेका मूर्तिमा मानिसहरूले पैसा चढाउँथे। हामी रमाउँदै त्यो पैसा टिप्थ्यौँ र मीठाइ किनेर खान्थ्यौँ।’

सात वर्षको छँदा नै उनले कलाकारिता क्षेत्रमा पाइला बिसाउन थालिसकेका थिए। कहिले पेन्टिङ, कहिले मूर्ति बनाउने उनी पछि भने मूर्तिमै एकोहोरिए। भन्छन्, ‘सानै छँदादेखि नै माटोबाट मूर्तिहरू बनाएर त्यसमै रमाउन थालिसकेको थिएँ। सुरुमा मैले माटोका गाडीहरू बनाएर यो क्षेत्रमा पाइला राखेको थिएँ।’
पछि भने शिक्षक रवीन्द्र ज्यापुले उनलाई मूर्तिकलाको विशाल फाँटमा विचरण गर्न ढाढस दिए, प्रशस्तै व्यावहारिक ज्ञान सिकाए।

२–३ महिनाअघिको कुरा। उनी मूर्तिकर्मकै गोहो पछ्याउँदै भेनिस पुगेर फर्किए। भेनिस बाइनालेमा सहभागिता जनाएका उनले महसुस गरे– अझैसम्म पनि नेपाली कलाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभावशाली उपस्थिति देखाउन पाएको छैन। अझ भेनिस बाइनालेमा प्रवेश गर्न मात्रै धेरै रकम चाहिने र छनोट हुन पनि गाह्रो थियो। त्यसमा उनी र आङछिरिङ शेर्पाको संयुक्त सहकार्यमा निर्मित मूर्ति प्रदर्शनी राखिएको थियो। शेर्पाको डिजाइनलाई उनले मूर्तिकलामा ढालेका थिए। सुखद् पक्ष, भेनिसमा प्रदर्शित त्यो मूर्ति चाँडै नै अमेरिकाको रुविन म्युजियममा पुग्दैछ।

सात वर्षको छँदा नै उनले कलाकारिता क्षेत्रमा पाइला बिसाउन थालिसकेका थिए। कहिले पेन्टिङ, कहिले मूर्ति बनाउने उनी पछि भने मूर्तिमै एकोहोरिए। भन्छन्, ‘सानै छँदादेखि नै माटोबाट मूर्तिहरू बनाएर त्यसमै रमाउन थालिसकेको थिएँ। सुरुमा मैले माटोका गाडीहरू बनाएर यो क्षेत्रमा पाइला राखेको थिएँ।’

अर्को, विदेशमा लैजाने नेपाली आर्टमा अधिकांश कन्टेम्पोररी आर्ट नै हुन्छन्। पछिल्लो समयचाहिँ अमूर्त मूर्तिहरू पनि विदेशीका नजरमा पर्न थालेका छन्। तर नेपाली मूर्तिलाई विदेशी बजारमापुर्‍याउन भने अनेक समस्या देखेका छन् उनले। भन्छन्, ‘नेपालीहरूले विदेशमा मूर्ति लैजाँदा धेरै खर्चिलो हुन्छ। मूर्ति ठुलो साइजको हुनुका साथै गहु्रँगो पनि हुन्छ र बाहिर लैजान गाह्रो नै पर्छ।’

बाह्य देशहरूमा मूर्ति लैजान नसके पनि के भो र ? अचेल ‘आइडिया’ बेच्ने कार्यको सुखद् सुरुवात भइसकेको छ। भन्छन्, ‘हामी आफ्नो आइडिया पठाउँछौँ र विदेशमा त्यही आइडियाअनुसार मूर्ति निकाल्ने गरिन्छ। हामीले डाटाहरू पठाएपछि मेसिनले आफैँ काट्छ। अहिले विश्वमा यसरी नै मूर्तिको बजार विस्तार भइरहेको छ।’
उनी र उनीसम्बद्ध टोलीले थ्रीडीमा डिजाइन गरेर डाटाहरू बनाउँछन्। त्यसरी बनाइएको डाटा विदेशीहरूले किन्छन्। र, विदेशीहरूले किनेपछि मेसिनले आफैँ काट्छ। भन्छन्, ‘यो प्रविधि अहिले सबै देशमा छन्। हामीकहाँ चाहिँ पछिल्लो समय मात्र आएको हो।’

परम्परागत मूर्तिकलालाई आधुनिक प्रविधिले हस्तक्षेप गरे पनि चीनजस्ता मुलुकले भने परम्परागत रुपमै तयार पारिएका मूर्तिहरू खोज्छन् अझै। भन्छन्, ‘मानव–निर्मित मूर्तिहरूमा नै चीनको जोड रहेको पाएको छु।’

नेपालमै मार्केट

अचेल उनी दुई कुरामा केन्द्रित छन्। एउटा, मूर्तिकलामार्फत् विश्व परिदृश्यमा नेपाललाई चिनाउने। अर्को, नेपालमै मूर्तिको व्यावसायिकरण गरी अर्थतन्त्रलाई टेवा पु¥याउने। झट्ट सुन्दा उनको सोचलाई ‘मूर्तिकरण’ गर्न अप्ठेरै होलाजस्तो लाग्छ। होइन त्यस्तो। उनले मूर्तिकलाको बढ्दो बजारलाई बुझेर नै बनाइरहेका छन्, आफ्ना योजनाहरू।

केही वर्षयता उनको ध्यान सोहोरिएको छ– पब्लिक आर्टतिर। भन्छन्, ‘मूर्तिहरूको व्यावसायिकरण गरिनु आवश्यक छ। त्यसका निम्ति मैले गार्डेन, मठमन्दिर र घरहरूमा राख्ने मूर्तिहरूबारे अध्ययनका साथै पहलसमेत गरिरहेको छु।’

मूर्तिकलालाई व्यवसायका रुपमा अपनाएका उनले अधिकांश त देउताहरूकै मूर्ति बनाएका छन्। केही समय पहिला उनले ताराको मूर्ति बनाए। शिव, लोकेश्वर र गणेशका मूर्तिहरू पनि बनाएका छन्, प्रशस्तै। नेपालको मौलिक पहिचान खुल्ने बुद्ध, रिम्पोन्छेका मूर्तिहरूमा पनि उनले शिल्प पोखेका छन्। शिवको मूर्ति बनाउँदा भने निकै सन्तुष्ट देखिएका थिए उनी।

‘नेपाली मूर्तिको बजार नेपाल नै हो।’ दुई दशकभन्दा लामो समय मूर्ति–शिल्पमै बिताएका महर्जनले बुझेको यथार्थ यही नै हो।

बुद्ध र रिम्पोन्छेका मूर्तिहरू गुम्बाहरूले किन्छन्। होटल, पुनर्निर्माण गरिएका मन्दिर, गुम्बाहरूका साथै नयाँ–नयाँ भवनहरू नै मूर्तिका बजार हुन्। भन्छन्, ‘अचेल विदेशमा नेपाली मूर्तिहरू गइरहेका छैनन्। नेपालीहरूले एउटा घर बनाउँदा ४–५ करोड खर्च गर्न थालिसके। उनीहरूले घर बनाउँदा सजावटका निम्ति पेन्टिङ र मूर्तिहरूलाई पनि रोज्न थालेका छन्। यसले नेपाली मूर्तिहरूलाई नेपालमै बेच्न सकिने अवस्था सिर्जना हुँदै गएको छ।’

काठमाडौँ, ललितपुर, भक्तपुरजस्ता शहरका घरहरूलाई सिँगार्ने आधार हो– कलात्मक झ्याल–ढोका। बुट्टेदार झ्याल–ढोका। तर पछिल्लो समय निर्मित भवनहरूमा भने कलात्मक भए पनि त्यस्ता झ्याल–ढोकाको प्रयोग गर्नै छाडिएको छ। त्यसको एक मात्र कारण हो– धेरै खर्चिलो।
महर्जन भन्छन्, ‘कुनै मानिसलाई कलात्मक झ्याल–ढोका राखेर घर बनाउने इच्छा हुन्छ। तर एउटै झ्यालको ३–४ लाख रुपियाँ पर्छ। त्यति धेरै खर्च गरेर झ्याल–ढोका राख्न कसले आँट गर्छ र ?’

तर महर्जनले सस्तोमा नेवारी शैलीका झ्याल–ढोकाहरू बनाएर बेच्ने परिकल्पना उमारिसकेका छन्। भन्छन्, ‘हामीले फोहोरजन्य प्लास्टिकबाट दुरुस्तै नेवारी शैलीका कलात्मक झ्याल–ढोकाहरू बनाउन सक्ने देखेका छौँ।’

‘त्यस्ता झ्याल–ढोका आयुको कत्तिको हुन्छ नि ?’ महर्जन भन्छन्, ‘काठजत्तिकै लामो आयु हुन्छ। कीराले खाँदैन, घामपानी पनि खप्छ। यो हामीले लामो रिसर्च गरेर पत्ता लगाएका हौँ। यसरी बनाइएका झ्याल–ढोका हलुका हुन्छन् र सस्तो पनि।’

यस्ता झ्याल–ढोका कम्प्रेस फोहोर र एपोक्सी (एक किसिमको केमिकल, जसले बाइन्डिङ गर्ने काम गर्छ) बाट बन्दछ। यसले नेवारी आर्किटेक्चरले निरन्तरता पाउने पनि उनको विश्वास छ।

फोहोरबाट पनि मूर्ति

काठमाडौँजस्तो महानगरलाई फोहोर ‘टाउको दुखाइ’को विषय बन्दै आएको छ, वर्षौंयता। महर्जनले भने नसड्ने फोहोरबाट मूर्ति बनाउने परिकल्पना गरेका छन्। भन्छन्, ‘नकुहिने फोहोरलाई कम्प्रेस गरेर मूर्ति बनाउन सकिन्छ। कुनै पनि फोहोर अर्थात् कागज, प्लास्टिक, कपडा, ढुंगाहरूलाई मिलाएर बनाउन सकिन्छ।’
त्यस्ता फोहोरहरूबाट राम्रा–राम्रा गमलाहरू पनि बनाउन सकिन्छ। भन्छन्, ‘हामीकहाँ फोहोर व्यवस्थापनको ठुलो समस्या छ। नकुहिने फोहोरहरूबाट धेरै चिज बनाउन सकिन्छ। यसबाट रोजगारीको सिर्जना पनि हुन्छ।’

सिंहलाई विशेष सजावट

सिंह, उनको मूर्तिशिल्पले सदैव पछ्याइरहने प्राणी हो। किन त सिंह नै ? भन्छन्, ‘सिंह संसारभरि प्रसिद्ध छ। तपाईँ इटाली जानुस्, भेनिस जानुस्, सबैतिर सिंहको मूर्ति देख्न सक्नु हुनेछ। सिंहको सबैतिर राम्रो स्थान छ। मन्दिरमा होस् वा घरमा होस्, सिंहको मूर्तिलाई सजाउने गरिएको पाइन्छ। कतिपय मन्दिरहरूमा देख्नुभएकै होला, दुइटा सिंहलाई अग्रभागमा राखिएको हुन्छ।’

हुन पनि उनले सिंहको मूर्ति मात्रै ३०–३५ वटा बेचिसके, अहिलेसम्म। भन्छन्, ‘म सिंहको नयाँ–नयाँ डिजाइन निकाल्ने तयारीमा छु।’
उनको बुझाइमा घरमा सिंहको मूर्ति सजाउँदा त्यसबाट शक्ति र ऊर्जा प्राप्त हुन्छ। भन्छन्, ‘तपाईँ घरमा सिंहको मूर्ति राख्नुस्, तपाईँलाई कसैले हेप्न सक्दैन। सिंहले हामीलाई शक्ति दिन्छ। देवीदेउताका मूर्तिले बजार नपाउन सक्छ तर सिंहको मूर्तिले भने संसारभरि नै बजार पाउँदै आएको छ।’

सिंहजस्तै अर्को शक्तिशाली जनावर बाघको मूर्ति पनि उनले ८–९ वटै बनाइसकेका छन्। सिंह, बाघबाहेक जरायोको टाउकोको मूर्ति पनि उनको रुचिभित्र पर्दै आएको छ।
काठमाडौँका पार्टी प्यालेस र क्यासिनोहरूमा उनले बनाएका सिंहका मूर्तिहरू बढी मात्रामा सजिएका छन्। मूर्तिलाई कमर्सियल रुप दिन नयाँ विषयवस्तुको चयन महत्वपूर्ण रहेको अभिमत राख्ने महर्जन भन्छन्, ‘हामीले मूर्तिको मार्केट केमा छ, अब त्यतातिर ध्यान दिनुपर्छ।’

तेञ्जिङसँगै डुबुल्की मार्दा

करिब डेढ दशकअघि मूर्तिकलामा व्यावसायिक हिसाबले बामे सर्न लाग्दै थिए उनी। त्यही बेला एउटा सुनौलो प्रस्ताव आयो– प्रथम सगरमाथा आरोही तेञ्जिङ नोर्गेको मूर्ति बनाउनुपर्ने। दार्जीलिङमा बसोवास गर्दै आएका नोर्गेका सुपुत्र र नाति पुस्ताले यस्तो प्रस्ताव ल्याएका थिए।

नोर्गेको मूर्ति राख्ने योजना रहे पनि सगरमाथा क्षेत्र विश्वसम्पदा सूचीमा रहेको कारण जुन ठाउँमा मूर्ति राख्ने योजना थियो, त्यसमा विवाद उब्जिरहेको थियो। पछि भने शेर्पा समुदायले सबै व्यवधान तोडेर नोर्गेको मूर्ति राखिछाडे। सम्झिन्छन्, ‘करिब दुई वर्षसम्म शेर्पा समुदायले अथक संघर्ष गरेपछि सो ठाउँमा नोर्गेको मूर्ति राख्ने अनुमति मिल्यो। शेर्पा समुदायको बलियो एकता र आवाजले नै त्यहाँ मूर्ति राख्न सम्भव भयो।’

नोर्गेको मूर्ति उभ्याउने टुंगो लागेसँगै कुन कलाकारलाई मूर्ति बनाउन दिने भन्ने विषयमा छलफल भएछ। अधिकांशले नेपाली कलाकारलाई नै दिनुपर्दछ भन्ने राय राखेपछि महर्जनले उक्त काम पाए।

सगरमाथा क्षेत्रमा नोर्गेको १५ फिट अग्लो मूर्ति राखिनुअघि करिब ६ महिनासम्म उनले अथक मिहिनेत गरेर मूर्ति तयार पारे। सगरमाथाको चुचुरोमा झण्डा गाड्दै गरेका नोर्गेको आकृतिलाई मूर्तिमा ढाल्ने आधारचाहिँ त्यतिबेलाको तस्बिर नै थियो। तस्बिर कस्तो थियो भने जसमा नोर्गेको अनुहार नै देखिँदैनथ्यो। उनले त्यही तस्बिरको आधारमा नोर्गेको अनुहारको आधारमा मूर्ति बनाए।

उनी प्रायः बिहानको समय मूर्तिशिल्पमा बिताउँछन्। बिहानको समयलाई अरू समयभन्दा ऊर्जावान् ठान्छन्। धेरै वर्ष छाउनीमा मूर्ति कुद्दै आएका उनले तीन वर्षपहिला भने लाजिम्पाटमा मूर्तिको ग्यालरी खोले। ठुलो स्पेशको खोजी गर्दै जाँदा लाजिम्पाटमा फेला पारे। लाजिम्पाटको ग्यालरीमा सयौँ मूर्ति छन्।

त्यो मूर्ति बनाउँदाका अन्तरकथा भने उनी बिर्सन चाहँदैनन्, ‘प्राविधिक हिसाबले नोर्गेको मूर्ति बनाउन निकै गाह्रो थियो। शरीरको माथिल्लो भागमा व्यागहरू भएको हुँदा माथिल्लो भाग निकै भारी थियो र तल्लो भागचाहिँ खुट्टामात्र थियो। त्यो मूर्ति बनाउन हामीले तीन महिनासम्म गरेको मैनको काम डिजल्भ गरेका थियौँ। मूर्तिको माथिल्लो भाग भारी भएको हुँदा मैन नै खस्न पुग्यो। त्यसपछि मैले धेरै जुक्ति लगाएँ र इटालियन पद्धति अपनाएर त्यो मूर्ति बनाएँ।’

ललितकला क्याम्पसबाट मानव–आकृतिमा स्नातक र क्रियटिभ कम्पोजिसन र मल्टिमिडियामा स्नातकोत्तर गरेका उनले राष्ट्रिय जीवनका थुप्रै व्यक्तित्वलाई मूर्तिमा ढालिसकेका छन्। बीपी कोइराला, चन्द्रशमशेर, देवशमशेर, सत्यमोहन जोशीलगायत सयौं जनाका। भन्छन्, ‘मैले बनाएका मानव–आकृति मूर्तिहरूमा डा. रामप्रसाद पोखरेल, सत्यमोहन जोशीका मूर्तिहरूबाट मैले धेरै आत्मसन्तुष्टि पाएको छु।’

उनी प्रायः बिहानको समय मूर्तिशिल्पमा बिताउँछन्। बिहानको समयलाई अरू समयभन्दा ऊर्जावान् ठान्छन्। धेरै वर्ष छाउनीमा मूर्ति कुद्दै आएका उनले तीन वर्षपहिला भने लाजिम्पाटमा मूर्तिको ग्यालरी खोले। ठुलो स्पेशको खोजी गर्दै जाँदा लाजिम्पाटमा फेला पारे। लाजिम्पाटको ग्यालरीमा सयौँ मूर्ति छन्। भन्छन्, ‘सानो स्पेशमा काम गर्न असजिलो लागेर मैले ठुलो स्पेश खोजेर लाजिम्पाटमा ग्यालरी राखेको हुँ।’

मूर्तिकलामा निकै मिहिनेत छ र त्यत्तिकै खर्चिलो पनि। मिहिनेत र श्रमअनुसारकै पारिश्रमिक पनि लिन्छन् उनी। भगवान् शिवको एउटा मूर्तिलाई उनले ५०–६० लाखमा बेचे, केही वर्षअघि। भन्छन्, ‘मैले केही मूर्तिबाट राम्रो पैसा पाएको छु।’

एउटा मूर्तिले आफैँमा अथक परिश्रमको माग त गर्दछ नै। त्योभन्दा सकसको विषय त त्यो मूर्तिले ओगट्ने स्थान हो। भन्छन्, ‘कुनै–कुनै मूर्तिले एउटा कोठा नै ओगट्छ। एउटा कोठाको कम्तीमा पनि दस हजार त भाडै लाग्छ। महिनौंसम्म भाडा तिरेर मूर्ति राख्दा महँगो पर्न आउँछ।’

एउटा सुन्दर परिकल्पना

केही समययता उनको दिमागमा एउटा परिकल्पना घुमिरहेको छ। त्यो हो– ‘पिकनिक स्कुल’। काठमाडौँ उपत्यका वरपरका कुनै सुन्दर ठाउँमा विद्यालय तहका विद्यार्थीलाई कला, संगीत, नाटकतिर आकर्षित तुल्याउने हेतुले ‘पिकनिक स्कुल’ स्थापना गर्ने सोच उमारिरहेका छन् उनले। भन्छन्, ‘हामीले कम्तीमा पनि सय वटाजति स्कुलको संयुक्त सहकार्यमा यस्तो स्कुल बनाउन सक्छौँ।’

त्यस्तो पिकनिक स्कुलमा बिहानदेखि बेलुकीसम्मै विद्यार्थीहरूलाई खानपिनको व्यवस्था गरिनुका साथै विद्यार्थीहरूले दिनभरि आफ्नो रुचिको विषयमा अध्ययन र क्रियाकलाप गर्न सक्नेछन्।

भन्छन्, ‘विद्यार्थीहरूले पिकनिकमा मनाउँदै कला, संगीत र नाटकबारे धेरै ज्ञान बटुल्न सक्छन्।’ यस्तो अभ्यास उनले छाउनीस्थित आफ्नै ग्यालरीमा सुरु रेका थिए। तर रोकियो। भन्छन्, ‘कोरोनाले गर्दा बन्द गर्नुप¥यो। अब फेरि सुरु गर्ने विचार गरिरहेको छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved