कर्णाली याक्सको मुख्य प्रायोजक महिन्द्रा अग्नि ग्रुप

नेपालभ्युज

कर्णाली याक्सको मुख्य प्रायोजक महिन्द्रा अग्नि ग्रुप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा अग्नि ग्रुपसँग सम्झौता गरेको छ ।

शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतामा कर्णाली याक्समा मालिक झनक दत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरेका छन् ।

सम्झौता कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्समा सह– मालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एण्ड डेभलपमेण्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्मिमा खड्का, योङ्गेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो ।

सम्झौतापछि बोल्दै महिन्द्रा अग्नी ग्रुप उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताउँदै शुभकामना व्यक्त गरिन् ।

यसैगरी कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता गरेको छ ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।

त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved