काठमाडौं । अनलाइन बेटिङ साइट(सट्टेबाजी) को प्रचार गरेको आरोपमा नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले बाध्यता भएको भन्दै स्वीकारेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा सरोगेट ब्रान्ड प्रयोग गर्नुपर्ने बाध्यता भएको उनले बताए ।
यदि सरकारले पर्याप्त आर्थिक सहयोग प्रदान गरेको भए आफूहरूले सरोगेट ब्रान्डको आवश्यकता महसुस नगर्ने उनको भनाइ थियो ।
एनपीएलमा क्यानले ‘वुल्फ ७७७न्युज’ नामक सरोगेट साइटको प्रचार गरेको थियो । खासमा अनलाइन जुवा खेल वुल्फ ट्रिपलसेभेनको विज्ञापन गरेको थियो ।
यस्तै, क्यानले ‘ड्रिम ११’ को विज्ञापन देखाएको थियो । एनपीएल आयोजकले बेटिङ साइटको प्रचार गरिरहँदा फ्रेन्चाइजी टिमले पनि उसैगरी खुलेआम बेटिङ साइटको प्रचार गरेका थिए ।
विराटनगर किंग्सले ‘बिजे८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बिजेस्पोर्ट्स’लाई आफ्नो जर्सीमा राखेको थियो ।
सुदूरपश्चिम रोयल्सले ‘बाबु८८’ बेटिङ साइटको सरोगेट कम्पनी ‘बाबु८८स्पोर्ट्स’लाई आफ्नो जर्सीमा राखेर लाखौँ दर्शकलाई अनलाइन जुवा खेल्न प्रेरित गरेको थियो ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा अन्तरवार्ता दिँदै पूर्वक्रिकेटर समेत रहेका खड्काले आफूहरूले सट्टेबाजी प्लेटफर्मको प्रचार नगर्ने, तर लगानीका लागि ती प्लेटफर्मका सरोगेट ब्रान्ड प्रयोग गरेको दाबी गरे ।
बेटिङलाई कहिले पनि प्रोमोट नगरेको बताएका उनले सरोगेटबाट लगानी आइरहेकाले प्रयोग गरेको बताए ।
सरोगेट ब्रान्डले खेलकुद प्रतियोगितामा बेटिङ प्रचार नभई आफ्नो ब्रान्ड मात्रै प्रवर्द्धन गर्ने खड्काको दाबी छ ।
उनका अनुसार विगत पाँच/सात वर्षदेखि नेपालमा सरोगेट ब्रान्डहरू प्रयोग भइरहेका छन् ।
खड्काले भने, ”आईसीसी र एसीसीले पनि सरोगेट ब्रान्ड प्रयोग गर्न पाउँछन् । देशको ऐन कानून अनुसारको हामीले संरचना हेर्यौं भने आज पनि सरोगेट ब्रान्ड प्रयोग गर्न पाउने/नपाउने भन्ने डिफाइन भइसकेको छैन । त्यसको कानूनी बुँदा चाहिँ छैन । यो सही हो वा होइन भनेर ।”

नेपालको सबैभन्दा ठूलो घरेलु लिग एनपीएल सफलतापूर्वक सम्पन्न भएपनि विवादरहित हुन सकेन । खासगरी यस लिगमा प्रयोजकका रूपमा आएको उल्फ ७७७ र ‘ड्रिम ११’ को अनलाइन सट्टेबाजीसँग जोडिएकाले विवादित बनेको थियो ।
जर्सीमा बेटिङ प्लेटफर्मको प्रचार भएपछि सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका इङ्लिस ब्याट्सम्यान सैफ अलि जैबले टेप टाँसेर खेलेका थिए ।
क्यान र फ्रेन्चाइज टिम नै अनलाइन जुवाको प्रचारमा, मैदानमै करोडौंको कारोबार
Facebook Comment
Comment