चिनियाँको निशानामा नेपाली चेली: विवाह गरेर लैजान्छन् र लगाउँछन् देहव्यापारमा, दलाल हुन्छन् नेपाली नै
परिवार र आफ्नो भविष्य सुन्दर हुने सपना बोकेर विवाह गरी चिन पुगेकी नेपाली युवतीले सोचेभन्दा ठ्याक्कै उल्टो भयो । उनले थाहा पाइन् उनको बिहे नभई बेचिएको पो रहेछ । परपुरुषसँग सम्पर्क राख्दिनँ भनेर अस्वीकार गर्थिन् । उनको शक्ति चलेन । मारेर फालिदिन्छु भनेपछि मान्न विवश भइन् ।
काठमाडौं । चिनियाँ नागरिकसँग बिहे गरेर चीनमै बसिरहेकी मनमाया घलेले आफ्नै गाउँका युवतीहरूलाई राम्रो केटा आएको भन्दै बिहे गर्न प्रस्ताव गरिन् । मनमायाको माइतीघर नुवाकोट हो ।
उनले आफ्ना गाउँकी चेलीहरूलाई चिनियासँग बिहे गर्ने हो भने उनीहरूलगायत पूरै परिवारलाई धेरै राम्रो हुने भनेर विभिन्न प्रलोभन दिँदै आएकी थिइन् ।
नुवाकोटकी एक युवतीलाई मनमायाले फोनमार्फत् चिनियाँ केटासँग बिहे गर्न प्रस्ताव गरिन् । ती युवतीले अस्वीकार गर्दै भनिन्, ‘म अहिले बिहे गर्दिनँ, भर्खर पढ्दैछु । पछि जागिर खाएपछि मात्रै बिहे गर्ने हो ।’
मनमायाले अनेकन् प्रलोभन दिइन् । उनी भन्थिन्, ‘धेरै धनी चाइनिज केटा हो । उनीहरूले नेपाली केटी धेरै मन पराउँछन् । चाइनाका धेरै केटाहरू बिहे गर्न भनेर नेपाल आएका छन् । उनीहरूसँग बिहे गरेमा धेरै फाइदा हुन्छ, धेरै धनी हुन पाइन्छ ।’
गरिबीको दलदलमा पिल्सिएका युवतीलाई चिनियाँसँग बिहे गरेमा साँच्चै राम्रो हुन्छ भन्ने विश्वास मनमायाले दिलाउन सफल भइन् । बिहे गरेर गएको पाँच वर्षमा ग्रिन कार्ड बन्छ समेत भनिन् । जागिर नपाइरहेका बेला युवतीलाई पनि मनमायाको सल्लाह ठिकै लाग्यो ।
मनमायाले गाउँले केटीलाई फकाउनको लागि एक पटक भेटेर कुरा गरिदिन र मन नपरेमा अस्वीकार गर्न भन्थिन् । गाउँकै एक युवतीलाई काठमाडौंको ठमेलस्थित नर्सिङ चोकको एउटा होटलमा चिनियाँ केटासँग भेटघाट गराइदिइन् ।
त्यहाँ चाइनिज एकजना पुरुष (मेङ जोङ) र चाइनिजकी केटाका आमा र मनमाया थिइन् । ती युवती पनि पुगिन् । कुराकानी गर्दैगर्दा चाइनिज आमाछोराले नै केटी मन प¥यो भनेर स्विकारे । करिब २० मिनेटमा केटाकी आमाले युवतीको फोटो लिइन् ।
युवतीलाई पनि केटा ठीकै लाग्यो । हेर्दा सोझोजस्तै लाग्यो । उनीमाथि घर परिवारको ठुलो जिम्मेवारी थियो । नेपालमा कतै भनेको जस्तो काम पनि नपाइने भएकाले बिहे गरेर सुख पाइएला कि भन्ने लाग्यो । यसैले चाइनिज केटालाई पनि उनले मन परेको खबर मनमाया मार्फत् पठाइन् ।
मनमाया दिदीले अदालतमा गई विवाह दर्ता गर्नुपर्छ, नत्र चीन जान पाइँदैन भनिन् ।
बिहेपछि घर सुन्दर हुने सपना बोकेर युवतीले बिहे गर्न राजी भइन् । बिहे दर्ताका लागि उनीहरु अदालत पुगे । २०७९ चैत्र १३ मा काठमाडौं जिल्ला अदालतमा उनीहरुबीच विवाह भयो ।
चिनियाँ पुरुषले नेपाली युवतीलाई विवाह गरेर २०८० वैशाख १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आफ्नो घर चीन लगे । यसरी नेपाली चेली चिनियाँको घरमा भित्रिने पहिलो थिइनन् । मनमायाले पनि उतै बिहे गरेकी थिइन् । युवतीसँगै चिनियाँको घरमा मनमाया पनि भित्रिइन् । त्यसको भोलिपल्टै अर्कै सहर (हर्विन)मा जान मनमाया घरबाट निस्किइन् ।
परिवार र आफ्नो भविष्य सुन्दर हुने सपना बोकेर विवाह गरी चिन पुगेकी नेपाली युवतीले सोचेभन्दा ठ्याक्कै उल्टो भयो । उनले थाहा पाइन् उनको बिहे नभई बेचिएको पो रहेछ ।
युवतीले प्रहरीको मानव वेचबिखन अनुसन्धान ब्युरोमा भनेकी छिन्, ‘बिहे गरेर गएको सुरु सुरुका दिनमा सबै राम्रै चल्दै थियो । १०÷१२ दिनपछि पतिको व्यवहारमा परिवर्तन आउन थाल्यो । मेरो घरपरिवार र साथीसँग फोनमा बोल्न प्रतिबन्ध गरियो । बिस्तारै बिस्तारै कोठामा मात्रै बस्ने बाहिर निस्कन नपाउने गरियो,’ युवतीले भनिन् ।
पीडित युवतीको बयान
कोठामा बन्धक बनाएर राखेका बेला पतिले शारीरिक सम्पर्क गर्नुभन्दा पहिले लामो समयसम्म उत्तेजना आउने औषधी सेवन गर्थे । त्यसको केही दिनपछि पीडित युवतीलाई छुट्टै घरमा राखियो ।
पीडित युवतीले भनेकी छिन्, ‘घरबाहिरको अर्को झुपडीमा मलाई अलग्गै राखियो । बाहिरका परपुरुषहरूसँग पैसा लिई यौनकर्ममा लगाउन थाले । आफ्नो मानेर आएको श्रीमान्ले जे गर्यो गर्यो, त्यो त सहेरै बसेँ । परपुरुषसँग सम्पर्क राख्दिनँ भनेर अस्वीकार गर्दा त्यहाँ मेरो शक्ति चलेन । मारेर फालिदिन्छु भनेपछि म मान्न विवश भएँ ।’
त्यसरी बसेको झुपडीमा दैनिक ८–१० जना केटा आएर शारीरिक सम्पर्क राख्नुपर्ने पीडित युवतीले बताएकी छिन् ।
पीडित युवतीले आफूलाई नेपाल फर्काउनु भन्दै धेरै अनुरोध गर्दा पतिले मानेनन् ।
पतिको जवाफ उद्धृत गर्दै पीडित युवतीले भनिन्, ‘कहाँ यसै नेपाल पठाउन सकिन्छ र ? एजेन्ट मनमाया घलेलाई नेपाली पाँच लाख रूपैयाँ दिएर किनेर ल्याएको हौँ । अब त मेरो सामान हो ।’
उनले आफू बेचिएको कुरा बल्ल थाहा पाइन् । पति घरबाहिर गएको समयमा फोनबाट फुपूकी छोरी राधिकामार्फत् चीनमै बस्ने उसको साथी सरिता तामाङलाई फोन गरिन् । सरिताले यो कुरा बेइजिङस्थित नेपाली दूतावासमा खबर पुर्याइन् । युवतीले फोन गरेको लोकेशनको आधारमा नेपाली दूतावास र चिनियाँ प्रहरीले युवतीको उद्धार गरे ।
चीन सरकारकै सहयोगमा हवाईमार्फत् पीडित युवती असार २०८० असार १ गते नेपाल फर्किएकी छिन् । युवतीले आफू बेचिएको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिइन् ।
यस्तो दुःख कसलाई पनि नपरोस् भन्दै सबैलाई सचेत हुन उनले सुझाव दिइन् । उनलाई फकाएर चीन पुर्याउने मनमाया स्वदेश फर्किएलगतै उनी पक्राउ परेकी छिन् । चिनियाँ युवा भने उतै रहेकाले नेपाल प्रहरीले भेट्न सकेको छैन ।
पछिल्लो समय चिनियाँसँग बिहे गराएर पठाइदिने एजेन्टले पाँचदेखि दस लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ ।
चिनियाँले थप केही पैसा बिहेको कागजी प्रक्रिया पूरा गर्न, कपडा, टिकट खरिद गर्न र एजेन्टलाई दिन खर्चन्थे ।
पछिल्लो समय चिनियाँहरू ‘नेपाल आएको एक साता नबित्दै भाषा नमिल्ने, दोहोरो संवाद पनि नभएका केटाकेटीबीच बिहे भएको देखिन्छ । यस्तो बिहेमा विभिन्न एजेन्टको भूमिका देखिन्छ । आर्थिक कारोबार पनि भएको छ भने यसलाई बिहे मात्रै मान्न नसकिने अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् ।
प्रहरीका अनुसार एजेन्टहरूले युवतीका बाबुआमालाई समेत विश्वासमा लिन ज्वाइँले दिएको भन्दै ५० देखि ६० हजार रुपैयाँसम्म दिएको देखियो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले यो टोलीले यसअघि पनि यसैगरी कागजी प्रक्रिया मात्रै पुर्याएर कैयौँ नेपाली चेलीलाई चीन पुर्याएको हुन सक्ने बताए ।
यस्ता धेरै युवती चर्को श्रम र यौन शोषणमा पर्ने जोखिम उच्च देखिन्छ । चिनियाँहरू केटी खोज्दै नेपाल, भियतनाम र कम्बोडियासम्म पुग्ने गरेका छन् ।
ब्युरोका अनुसार पछिल्लो समय भियतनाम र कम्बोडियाले कडाइ गर्न थालेपछि चिनियाँ नेपाल आउन थालेको अनुमान छ । यसरी नेपाल आएका चिनियाँलाई दुर्गमका चेलीलाई आर्थिक प्रलोभनमा पारी बिहे गराएर पठाउन एजेन्टहरू सक्रिय देखिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौमा पेस गरेको अभियोग पत्र
Facebook Comment
Comment