काठमाडौं । छायाँ सेन्टरमा रहेको प्लेब्वाई क्लबको पार्किङमा भएको कुटपिट घटनामा संलग्न गुण्डा नाइके सानुभाइ भनेर चिनिने युवराज गुरुङको समूहविरुद्ध मुद्धा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले घटनामा संलग्न ७ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दामा सानुभाइ भनिने युवराज गुरूङ, विश्व तामाङ भनिने बिसु तामाङ, मार्शल भनिने शैलेन्द्र तामाङ, कमल तामाङ, शेरबहादुर भनिने शेरलाल पौडेल, बिनोद तामाङ र रघु तामाङलाई प्रतिवादी बनाइएको छ ।
तीमध्ये विश्व र मार्शलमात्रै पक्राउ परेका छन् भने सानुभाइसहित पाँच जना फरार छन् ।
माघ ६ गते बिहान ठमेलको छाया सेन्टरको पार्किङ क्षेत्रमा सानुभाइको समूहले एक व्यक्तिमाथि आक्रमण गरेको थियो।
आफूमाथि आक्रमण गरेको भन्दै छमबहादुर पुनले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका थिए।
सातै जना प्रतिवादीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर गरिएको छ । ज्यान मार्ने उद्योगको कसुर गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
Facebook Comment
Comment