काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरूको भन्सार पूर्णरूपमा निःशुल्क गर्नुपर्ने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले विद्युतीय सवारी साधनको भन्सार पूर्णरूपमा निःशुल्क गर्नुपर्ने बताएका हुन् ।
उनले आर्थिक वर्ष २०८०-८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताउँदै उनले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको
टिप्पणी गरे।
अध्यक्ष लिङ्देनले करको दर र दायरा जथाभावी रूपमा बढाउने काम गरिएको बताउँदै मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगत देखिका प्रधानमन्त्रीहरूले खाली भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको बताए।
उनले भने, ‘मल कारखानको कुरा पनि हरायो । हाइड्रोजन उत्पादनको कुरा पनि हरायो । हामी खालि बिजुली कसरी भारतलाई जिम्मा लगाउने, त्यो पनि उत्पादन गरेको बिजुली जिम्मा लगाउने होइन खोलानाला नै लाउने । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको बेला पश्चिम सेती के के बुझाउनु भयो । अहिले फुकोट कर्णाली, अरुण तल्लो । हामीले भारतलाई विद्युत उत्पादन गर्न यी खोलाहरू जिम्मा दियौँ यो सम्झौता गर्यौँ भन्नेमा जहिले पनि हामी गौरव गर्छौं। हामी आफैँ उत्पादन गर्ने भयौँ । हाम्रै पैसाले गर्ने भयौँ । वैदेशिक रोजगारमा भएका युवाहरुको पैसाले गर्ने भयौँ । हाम्रो गैरआवासीय नेपालीहरूबाट गर्ने भयौँ र त्यसतर्फ विकल्प खोज्यौँ भन्नेतर्फ हाम्रो ध्यान गएन । भारतले लगानी गरेन भने हाम्रोमा बिजुली उत्पादन नै हुँदैन । उत्पादन भयो भने पनि खर्च गर्ने ठाउँ हुँदैन भन्छौँ । हामी किन मल कारखाना स्थापना गर्दैनौं ? किन हाइड्रोजनतर्फ जाने आँट गर्दैनौँ ?’
उनले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको समेत स्पष्ट पारे। तर, विदेशीले नागरिकता लिएको विषयमा भने छानबिन हुनुपर्ने उनको भनाइ छ।
Facebook Comment
Comment