कांग्रेसबाट चुनाव लडेका चार महिला पराजित, सीता बनिन् एक्ली सांसद्‍

पराजित हुने चारै महिलाको मतान्तर दुई हजार भन्दा कम

नेपालभ्युज

कांग्रेसबाट चुनाव लडेका चार महिला पराजित, सीता बनिन् एक्ली सांसद्‍

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट दिएका पाँच महिला उम्मेदवारमध्ये एक जनाले मात्रै संसदको यात्रा सुनिश्चित गरेकी छन्।

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला हुन् सीता गुरुङ। शनिबार बिहान सम्पन्न मत परिणामअनुसार गुरुङले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा जितेकी हुन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पराजित गरेकी हुन्।

गुरुङले १९ हजार ७०२ मत प्राप्त गरिन् भने सुब्बाले १८ हजार ६२३ मत ल्याए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले (हाल नेकपा एकीकृत समाजवादी) का नेता भवानीप्रसाद खापुङसँग उनी पराजित भएकी थिइन्।

कांग्रेसबाट टिकट पाएका अन्य चार महिला नेतृहरू भने पराजित भएका छन्। पराजित हुनेमा चित्रलेखा यादव, सुजाता कोइराला, महालक्ष्मी उपाध्याय ‘डिना’ र पुष्पा भुसाल रहेका छन्।

यादव सिरहा-२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादवसँग पराजित भएकी हुन्। चित्रलेखा १ हजार १५० मतले पराजित भएकी हुन्। राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरेका छन् भने चित्रलेखाले २३ हजार २८ मत पाएकी छन्।

मकवानपुर-१ बाट टिकट पाएकी कांग्रेस सहमहामन्त्री उपाध्यायलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले पराजित गरेका छन्। सिंहले २७ हजार ८१६ मत ल्याए भने उपाध्यायले २५ हजार ४२३ मतमा प्राप्त गरिन्। नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे।

मोरङ क्षेत्र नम्बर २ बाट चुनाव लडेकी कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग १ हजार २०८ मतले पराजित भएकी छन्। पोखरेल ३३ हजार १४८ मतसहित विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत प्राप्त गरेकी छन्। यो पटकको चुनावमा पराजय भोग्ने अर्की कांग्रेस नेतृ हुन् पुष्पा भुसाल।

अर्घाखाँचीबाट चुनाव लडेकी उनी १ हजार ७३० मतले पराजित भएकी हुन्। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसँग उनी पराजित भएकी हुन्। रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गरे भने भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी हुन्।

पाँच दलिय गठबन्धनको प्रमुख दल कांग्रेसले १६५ मध्ये प्रतिनिधिसभाका ९१ सिटमा उम्मेदवारी दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved