चुनावबारे अयोधीप्रसाद यादव- मतदातामा उत्साहको अभाव देखियो

समग्रमा भन्दाखेरि यसपटकको निर्वाचन सामान्यरूपमै सम्पन्न भयो । चुनावमा मतदाताहरूमा देखिनुपर्ने उत्साह र उमङ्गचाहिँ कमी भएकै हो । यसबाट राजनीतिक दलहरूले धेरै कुरा सिक्न सक्छन् ।

नेपालभ्युज

चुनावबारे अयोधीप्रसाद यादव- मतदातामा उत्साहको अभाव देखियो

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मतदान सम्पन्न भयो । अहिले मतपेटिका सङ्कलनको काम भइरहेका छन् । अब केहीबेरमा खासगरी सहरी र तराईका केही निर्वाचन क्षेत्रमा मतगणना सुरू हुँदैछ ।

निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको बताएको छ ।

तर, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा खासरूपमा उत्साह नदेखिएको विश्लेषणहरू भइरहेका छन् । यसमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसमेत सहमत छन् ।

यादवलाई नेपालभ्यूजले ‘आज सम्पन्न भएको आम निर्वाचन कस्तो देख्नुभयो ?’ भनेर जिज्ञासा राखेका थियो । जिज्ञासामा आएको जवाफलाई जस्ताको त्यस्तै राखिएको छ;

देशभरिको चुनावी माहोल बुझ्दैगर्दा र सञ्चारमाध्यमहरूले सम्प्रेषण गरिरहेका समाचारका आधारमा भन्नुपर्दा चुनाव ठिकैरूपमा सम्पन्न भएका छन् । यस्तो अवस्थामा विश्लेषण गर्दा कतिपय अवस्थामा वस्तुगत हुन्छ भने कतिपय अवस्थामा आत्मगत पनि हुनसक्छ । यद्यपि तपाईंले सोधेको प्रश्नको जवाफमा म केही कुरा भन्छु । निर्वाचन सामान्यरूपमा सम्पन्न पाउँछु म । यसलाई स्वाभाविक मान्नुपर्छ । केही ठाउँमा छिटपुट घटनाहरू भए भने अधिकांश ठाउँमा मतदान सामान्य र शान्तिपूर्ण वातावरणमै सम्पन्न भएको छ । यसलाई सकारात्मकरूपमा लिनुपर्छ । 

तर, निर्वाचनमा मतदाताहरूमा देखिनुपर्ने जुन उत्साह हो, त्योचाहिँ देखिएन । त्यसको अभाव देखियो । योचाहिँ लोकतन्त्रका लागि दुखद् हो भनेर भन्न चाहन्छु म । मतदाताहरूमा उत्साहको अभाव देखियो । यो खासरूपमा सुखद् अवस्था होइन । त्यसका धेरैवटा कारणहरू हुन सक्छन् । पहिलो, मतदाताहरूले आफूले चाहेको विकास पाएनन् र मत दिने कि नदिने भन्ने अवस्थाबाट मुक्त हुन पाएनन् । दोस्रो, मतदाता शिक्षाको कमी भयो । यसपटक निर्वाचन आयोगले सञ्चारमाध्यमकै मात्रै भर गर्‍यो, यसले पनि मतदाताहरूमा उत्साह नदेखिएको हो । कतिपय मतदाताहरू त यस्ता छन् कि— सिकाउन आएनन्, दिन आउँदैन जान्नँ भन्ने पनि हुन्छन् । त्यस्ता मतदातालाई ख्यालमा राखेर आयोगले काम गरेजस्तो लाग्दैन मलाई ।

जनताहरू दल र नेताहरूप्रतिको गुनासोले भरिएका छन् जस्तो लाग्छ । अर्को त यसपटक स्वतन्त्र र नयाँ पार्टीहरू अपत्यारिलो तवरले आए । यसले पनि कतिपयलाई ‘कन्फ्यूजन’मा पार्‍यो । यसपटकको चुनावी परिणाम केही नयाँखाले आउन सक्छ ।

समग्रमा भन्दाखेरि यसपटकको निर्वाचन सामान्यरूपमै सम्पन्न भयो । चुनावमा मतदाताहरूमा देखिनुपर्ने उत्साह र उमङ्गचाहिँ कमी भएकै हो । यसबाट राजनीतिक दलहरूले धेरै कुरा सिक्न सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved