गठबन्धन नभएको काठमाडौंका यी दुई क्षेत्र, जहाँ हुँदैछ रोचक भिडन्त

कांग्रेस, एमाले र माओवादी भिड्दा कसले मार्ला बाजी ?

समग्रमा दुवै क्षेत्रमा कडा प्रतिस्पर्धा भए पनि १० मा कांग्रेसलाई हराउन एमालेलाई सहज छैन । ३ मा भने मा‌ओवादी उम्मेदवारका कारण एमालेलाई चिट्ठा पर्न सक्छ ।

नेपालभ्युज

गठबन्धन नभएको काठमाडौंका यी दुई क्षेत्र, जहाँ हुँदैछ रोचक भिडन्त

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर मुख्य दलहरू गठबन्धन गरेर चुनावमा होमिँदा काठमाडौंका दुई क्षेत्रमा भने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र एक्लाएक्लै भिड्दैछन्।

नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको उम्मेदवारी छ, त कतै सत्ता गठबन्धनविरुद्ध एमाले नेतृत्वको राप्रपा, जनता समाजवादी पार्टीसहित दलको गठबन्धन छ। तर, कांग्रेस, एमाले र माओवादी केन्द्र नै एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा भिडेको क्षेत्र हो काठमाडौं–३ र १०।

सीट बाँडफाँड गर्ने क्रममा यी दुवै क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेसले उम्मेदवारी दिने र प्रदेशसभामा एक–एक क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति थियो। तर, कांग्रेसले गठबन्धनमा भएको सहमतिविपरीत प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै क्षेत्रमा एकल उम्मेदवारी दिएपछि माओवादीले पनि प्रतिनिधिसभामा उम्मेदवारी दिएको हो।

यी दुई क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्णसबुज बानियाँले बताए। उनले भने ‘‘यी क्षेत्रमा पहिल्यैदेखि कांग्रेस उम्मेदवारले जित्दै आएका छन्। गठबन्धनमा भएको सहमति अनुसार हामीले उम्मेदवारी दिएका हौँ। गठबन्धन नभए पनि मित्रवत् प्रतिस्पर्धामा छौँ।’’

काठमाडौं–३ मा निवर्तमान सांसद र मेयर तथा केन्द्रीय सदस्यबीच भिडन्त

काठमाडौं–३ मा मुख्य दलहरुबीच रोचक भिडन्त छ। जहाँ एमालेका कृष्णबहादुर राई, कांग्रेसका सन्तोष चालिसे र नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईँ भिडेका छन्।

एमालेका राई अघिल्लो पटक यसै क्षेत्रबाट निर्वाचित सांसद् हुन्। उनले कांग्रेसकी अम्बिका बस्नेतलाई हराएका थिए। राईले १९ हजार १६९ मत पाएका थिए भने कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन्।

अहिलेका कांग्रेस उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत हुन्। उनी कांग्रेसको क्षेत्रीय कार्यसमितिका सभापति हुन्। माओवादी केन्द्रका उम्मेदवार बजगाईँ पार्टीका केन्द्रीय सदस्य हुन्।

काठमाडौं–१० मा निवर्तमान सांसदहरू र युवा नेता प्रतिस्पर्धामा

काठमाडौं ३ जस्तै सत्तागठबन्धन र विपक्षी गठबन्धनमध्ये कुनैले पनि तालमेल नगरेको क्षेत्र हो काठमाडौं १०। जहाँ भएको त्रिपक्षीय भिडन्तमा कांग्रेसका राजन केसी, एमालेका हिमेश केसी र माओवादी केन्द्रका अञ्जना बिशंखे उम्मेदवार छन् । धेरै उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा यीनै तीनजनाबीच हुने देखिन्छ।

एमालेका युवा उम्मेदवार केसी स्थानीय युवामाझ लोकप्रिय मानिन्छन्। तर, यो क्षेत्रमा अघिल्ला २ चुनावमा लगातार कांग्रेसले जितेको हो।

एमालेका युवा उम्मेदवार केसी स्थानीय युवामाझ लोकप्रिय मानिन्छन्। तर, यो क्षेत्रमा अघिल्ला २ चुनावमा लगातार कांग्रेसले जितेको हो। २०७० र ०७४ मा कांग्रेसका केसीले जितेका थिए।

२०७४ मा कांग्रेस केन्द्रीय सदस्य केसीले एमालेको समर्थनमा उठेका माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका थिए।

०७० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई उनैले पराजित गरेका थिए। जहाँ २०६४ मा भने प्रचण्डले जितेका थिए।

बिशंखे यसअघि माओवादीकी समानुपातिक सांसद थिइन । उनी ०६३ मा अन्तरिम व्यवस्थापिकाकी सदस्य समेत हुन्।

 

कसले मार्ला बाजी 

काठमाडौं ३ मा माओवादी केन्द्र कमजोर छ । तर यहाँ हारजित पनि धेरै अन्तरको नहुने भएकाले माओवादीले पाउने मत नै निर्णायक हुन सक्छ ।

कांग्रेसले माओवादीको मत नआए पनि जित्ने आंकलन गरेको छ । तर यो क्षेत्रमा एमाले पनि कमजोर छैन । माओवादीले २ हजार भन्दा बढी मत ल्यायो भने कांग्रेसलाई गाह्रो हुने विष्लेषण गरिएको छ ।

सत्ता गठबन्धनबाट एकजना मात्रै उम्मेदवार भएको भए एमालेलाई जित्न कठिन हुने अनुमान थियो । तर माओवादी उम्मेदवारका कारण एमालेको विश्वास बढेको छ ।

क्षेत्र नम्बर १० मा माओवादीको पनि राम्रै मत छ । तर यहाँ कांग्रेसले गत चुनावमा वाम गठबन्धनलाई हराएकाले अहिले झन् सहज रुपमा जित्ने आकलन गरेको छ ।

त्यसैले उसले यो पटक तालमेलका लागि खासै चासो दिएन । स्थानीय चुनावको मतका आधारमा पनि यो क्षेत्रमा कांग्रेस निकै बलियो शक्ति हो ।

समग्रमा दुवै क्षेत्रमा कडा प्रतिस्पर्धा भए पनि १० मा कांग्रेसलाई हराउन एमालेलाई सहज छैन । ३ मा भने मा‌ओवादी उम्मेदवारका कारण एमालेलाई चिट्ठा पर्न सक्छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved