मेटाले पहिलोपटक नेपालमा कर्मचारी खटाएरै चुनावी सामग्रीको अनुगमन गर्दै

सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाएका छन्। 

नेपालभ्युज

मेटाले पहिलोपटक नेपालमा कर्मचारी खटाएरै चुनावी सामग्रीको अनुगमन गर्दै

काठमाडौं। आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।

यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले निकै चर्चा पाएको थियो। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर संयुक्त रूपमा आयोजना गरिएको भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि पनि मेटाले नेपालका सामग्रीलाई अनुगमन गर्ने र फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई अझै व्यवस्थित गर्ने जनाएका छन्।

मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजले फेसबुकमा रहेका सामग्रीलाई सत्यतथ्य, सभ्य, द्वेषरहित र पठनीय बनाउन आफूहरू लागिपरेको बताए। उनले भने, “हाम्रो टोलीले नेपालको निर्वाचनलाई नजिकबाट हेरिरहेको छ। मेटाअन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सेयर हुने सामग्रीलाई अझै गुणस्तरीय र पठनीय बनाउन हामी यहाँ आएका हौँ।”

उनले पत्रकारले विशेष गरी फेसबुक चलाउँदा ध्यान दिनुपर्ने, असामाजिक र मिथ्या सूचना रोक्न पहल गर्नुपर्ने सुझाव दिए।

“कसैले आचारसंहिताविपरीत फेसबुकबाट निर्वाचनसम्बन्धी प्रचारप्रसार ग‍र्‍यो भने जोसुकैले रिपोर्ट गर्न सक्छन्। कुनै पनि गलत कुरा रिपोर्ट गरेपछि के हो भनेर हाम्रो आर्टिफिसियल इन्टेलिजेन्सले पहिचान गर्छ। त्यसपछि पनि चित्त नबुझेमा हाम्रो टिमले सो कुराको गहन रूपमा अध्ययन गरेर थप प्रक्रिया अघि बढाउँछ,” उनले भने।

कार्यक्रममा मेटाका प्रतिनिधिले निर्वाचन प्रक्रियाको समयमा फेसबुकमार्फत हुने तथ्यहीन, भ्रामक एवं घृणायुक्त सामग्री रोक्न पत्रकार, नागरिक समाज, राजनीतिक दल र सबै सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। उनीहरूले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा देखिने नकारात्मक सामग्रीको स्क्रिन सट गरेर वा पोस्ट, कमेन्ट वा सेयर गरेका सामग्री रिपोर्ट (उजुरी) गर्न आग्रह गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई निर्वाचनलाई प्रभावित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आग्रह गरे। उनले सञ्चारमाध्यम स्वनियमन र स्वनियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गरे।  निर्वाचनको समयमा राजनीतिक दल, उम्मेदवार र आम मतदाताले सामाजिक सञ्जालको भरपुर उपयोग गरी सुसूचित हुन, संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अभ्यास अझै सबल पार्न आयोग र मेटाले आग्रह गरेको छ।   – गोरखापत्र दैनिकबाट

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved