काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मानबहादुर रावल पहिलो पटक निर्वाचन लड्दै छन्। आगामी मंसिर ४ गते आम निर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा अछाम क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’ बाट रावल चुनावी प्रतिस्पर्धामा छन्। उनलाई नेपाली कांग्रेसले टिकट दिएको हो।
रावलसँग एमालेबाट शिवप्रसाद उपाध्याय प्रतिस्पर्धा गर्दैछन्। २०६४ सालको संविधान सभाको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका नेता शरदसिंह भण्डारीसँग पराजित भएका उपाध्याय यस पटक प्रदेश सभामा जित्ने दाउमा छन्।
रावल भने उपाध्यायलाई दोस्रो पटक पनि सांसद् बन्ने अवसरबाट रोकेर आफू प्रदेशसभा सदस्य बन्ने प्रयासमा छन्। रावल र उपाध्याय दुवै प्रतिस्पर्धी मंगलसेन नगरबासी हुन्।

शिवप्रसाद उपाध्याय
नेताको छोरा भएकैले आइजीपी हुन पाएनन्!
कांग्रेस नेता मान बहादुरका बुबा भैरबसिंह रावल २००७ साल देखि कांग्रेसमा आवद्ध थिए। जिन्दगीको लामो समय पार्टीमा सक्रिए बनेका भैरवसिंहलाई २०३३ सालमा वीपी कोइराला नेपालमा फर्किएपछि नेपाली कांग्रेस अछामको जिम्मेवारी सुम्पिए।
०३३ सालमै कांग्रेस अछामको नेतृत्व लिएका भैरवसिंहले २०३६ सालको बहुदलको चुनावमा पनि कांग्रेस अछामको कमाण्डरको रुपमा काम गरे। उनले ०३३ साल देखि निरन्तर २०५२ साल सम्म कांग्रेस अछामको सभापति भएर काम गरे।
त्यो अवधिभर भैरवसिंह रावलले कुनै पनि लाभको पद लिएनन्। यता २०३१ मा सहायक प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका मानबहादुर २०६२ सम्म राष्ट्र सेवामा सक्रिए बने। उनी आफ्नो प्रहरी सेवा अवधिभर उत्कृष्ट काम गरेको दाबी गर्छन्। हरेक कार्यसम्पादनमा पहिलो हुने रावल खुल्ला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षक पनि भए।
२०६२ सालमा एसएसपी भएका उनले सोही पदबाट अवकास पाएर घर फर्किनु पर्यो। शाही शासनकाल घोषणा भएको २४ घण्टा नवित्दै काठमाडौंबाट नेपालगञ्ज सरुवा गरिएको उनले सुनाए। पारिवारीक पृष्ठभूमि कांग्रेस भएकैले आफूलाई कारबाहीस्वरुप तत्काल सरुवा गरेको उनले दाबी गरे।
दुई वर्षसम्म चलेको शासनकालमा उनी प्रत्यक्ष मारमा परे। कार्यसम्पादनमा जहिल्यै पहिलो हुने रावललाई शाहीकालको सरकारले बढुवा रोकेर उनीभन्दा दोस्रो नम्बर बरियताका रमेशचन्द्र ठकुरी, तेस्रो नम्बरमा रहेका रवीन्द्रप्रताव शाहलाई डीआइजीमा बढुवा गरियो। रावल भने एसएसपीमै रोकिए।
ठकुरी र शाह प्रहरीको आइजीपी पनि बने तर रावलको आइजीपी बन्ने सपना तुहियो। उनी एसएसपीबाटै घर फर्किए। उनी भन्छन्,’मेरो काम प्रहरीमा कम भएको भए जहिल्यै पहिलो नम्बर आउँदैन थिए हुँला तर सबै क्षेत्रबाट रोक्ने प्रयास भयो। आईजीपी हुन नदिने खेल भयो, पहिलो नम्बरमा हुँदा पनि पछि पारियो। त्यसपछि कार्यअवधी पनि सकियो र अवकास पाँए।’
रावलको राजनीतिक यात्रा
प्रहरी सेवाबाट अवकास पाएपछि रावललाई उनका बुबाले राजनीतिमा अघि सारे। मानबहादुर बुबा वृद्ध भएपछि २०६३ रावल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए। जुन बेला अछाम जिल्लामा माओवादीको दबदबा थियो। कांग्रेसको संगठन थिएन्।
उनले भने,’त्यो बेला बाडा, बस्ती लगायतका क्षेत्रमा गएर संगठन निर्माणमा लागे। गोविन्द बहादुर शाह पछि पहिलो व्यक्ति मै हुँ जो बाडा, बस्ती, मलातिकोट, ढकारी लगायतका गाउँमा गएर कांग्रेसको संगठन निर्माण गर्ने। गाउँमा १० जना पनि कांग्रेस हुदैन थिए।’
आफूले सबै ठाँउमा संगठन निर्माण र विस्तार गरेकाले आज अछामभरी कांग्रेस मौलाएको उनले दाबी गरे। आज एकसय एक नेता कार्यकर्ता देखिएकाले आफूलाई गर्व लागेको उनले सुनाए।
नेता रावल कांग्रेसको १२ औं महाधिवेशनमा महासमिति सदस्य भए। त्यसपछि पनि पार्टीको राजनीतिमा सक्रिए रहेका रावललाई यतिबेला पार्टीले टिकट दिएर चुनाव लडाएको छ। ‘त्यसै पनि कांग्रेसको संगठन बलियो छ। दोश्रो कुरा यसपटक हामी गठबन्धनमा छौँ’, उनले भने,’यसपटक जित्नेमा ढुक्क छु। पार्टीको आन्तरिक चुनावमा जो जता तिर लागेपनि अहिले हामी सबै एक ठाँउमा उभिएका छौँ।’
आफूले गरेका कामले उनी जनतामाझ लोकप्रिय छन्। खासगरी उनले रोजगारीको क्षेत्रमा उल्लेख काम गरेका छन्। अछामका तमाम युवाहरूलाई उनले रोजगारी दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्। रोजगारसँगै अछामको विकास र आर्थिक समृद्धिको पाटोलाई अघि बढाउने उनको अबको लक्ष्य छ।
जिल्लाको समग्र विकास, सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धि, गुणस्तरिय नि:शुल्क शिक्षा, स्वास्थ्य, पूर्वाधार सड्क, खानेपानी लगायतका मुख्य एजेण्डासहित उनी जनतामाझ तत माग्न गएका छन्। आफू कुनै कार्यकारी वा जिम्मेवार पदमा नहुँदा पनि विगतमा जनताको पक्षमा थुप्रै काम गरेकाले नै आफ्नो जित्ने बलियो आधार भएको उनले दाबी गरे।
कैलाशखोला, वलीगाउँ, जुपु बान्नातोली, रामारोशन र सदरमुकामबाट रामारोशन सड्क आफ्नै नेतृत्वमा बनेको उनले बताए। विनयाक- कर्णालीमा समेत ०५६ सालमा नै कर्णाली बेलखेतको सड्क निर्माण पनि आफ्नै नेृतत्वमा भएको भन्दै रावलले विगतमा गरेका काम र भावी योजनाले आफूलाई जितका लागि सहज हुने दाबी गरे।
‘कुनै पनि अछामी रोजगारीको लागि म कहाँ जान्छ भने त्यो मेरो जहिल्यै प्राथमिक्तामा पर्यो। मैले आफ्नो तर्फबाट रोजगारी दिलाउन हरप्रयास गरेकु छुँ। अबको लक्ष्य भनेको सम्रग अछामको विकासका साथै जिल्लाबासी जनतालाई खुशी र सुखी दिलाउन प्रयत्न रहनेछ। त्यसका लागि योजनाबद्ध भएर अघि बढ्नेछु।’ राजनीतिलाई नाफा कमाउन नभएर जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको उनले बताए।
प्रदेश ख मा पर्ने तीन वटा पालिकामध्ये गत स्थानीय तहको निर्वाचनमा मंगलसेन नगरपालिकामा नेकपा एमालेले तथा कमलबजार र ढकारीमा कांग्रेसले जितेको छ। कमलबजारको आधा क्षेत्र प्रदेश क मा पर्छ।
Facebook Comment
Comment