काठमाडौं । चितवन राइनोजका रवि बोपारा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा हालसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
उनले लुम्बिनी लायन्सका कप्तान रोहित पौडेललाई उछिनेका हुन् । बुधबार भएको एलिमिनेटरमा कर्णाली याक्सविरुद्ध ५३ रन बनाएपछि उनले रोहितलाई सात रनले उछिनेका छन् । इंग्लिस खेलाडी रविको रन २८६ पुगेको छ ।
टोली खराब प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिए पनि नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितको प्रदर्शन व्यक्तिगत रुपमा भने उच्च रहेको थियो । उनले सात खेलमा २७९ रन बनाएका थिए । उनले पोखरा एभेन्जर्सविरुद्ध बनाएको ९५ रन सर्वाधिक हो ।
रविले अर्थशतकीय पारी खेल्दै ३४ बलमा ५३ रन बनाए पनि उनको टोली चितवन भने कर्णालीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यो प्रतियोगितामा रविको यो तेस्रो अर्धशतक हो ।
सूचीको तेस्रो नम्बरमा पोखराका एन्ड्रिस गोउस छन् । अमेरिकी यी खेलाडीले २२४ रन जोडेका छन् ।
यसैगरी चौथो नम्बरमा चितवनका कप्तान कुशल मल्ल छन् । उनले २२३ रन बनाएका छन् ।
सूचीको पाँचौं नम्बरमा सुदूरपश्चिम राेयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । उनले हालसम्म १९८ रन जोडेका छन् ।
Facebook Comment
Comment