काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टोलीका ’महान्’ क्रिकेटर ब्रायन लारा आज (शुक्रबार) नेपाल आइपुगेका छन् ।

उनी बिहान ९ः१५ बजेतिर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् ।

लारा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
गत जुनमा अमेरिका र वेस्ट इन्डिजले संयक्त रूपमा आयोजना गरेको टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका दौरान नै लाराले नेपाल आउन इच्छुक भएको बताएका थिए । जहाँ नेपाल पनि सहभागी थियो ।

क्यानका अनुसार लाराले एनपीएलका केही खेल हेर्नेछन् । लाराले बुधबार मात्रै सामाजिक सञ्जालमार्फत आफू एनपीएलका खेल हेर्न इच्छुक रहेको बताएका थिए ।
ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए ।

मंसिर १५ देखि जारी एनपीइलमा आज दुई खेल हुँदैछन् । पहिलाे खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् ।
Facebook Comment
Comment