काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
कर्णालीमा भारतका चर्चित ब्याटर शिखर धवन तथा चितवनमा पाकिस्तानका बलर सोहिल तानबिर छन् । धवन देब्रे हाते ब्याटर हुन् भने तानबिर देब्रे हाते बलर । यसर्थ आज यी दुईको भिडन्तले खेल रोचक हुने अपेक्षा गरिएको छ ।
किनकि धवन र तानबिर १६ वर्षपछि कुनै पनि फ्रेन्चाइज लिगमा आमने–सामने हँदैछन् । यो संयोग नेपाली भूमिका जुरेको छ ।
यी दुई टी–ट्वान्टी फ्रेन्चाइज लिगअन्तर्गत पछिल्लोपटक सन् २००८ को पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आमने–सामने भएका थिए । तानबिरले राजस्थान रोयल्सबाट खेल्दा धवन दिल्ली डियरडेभिल्समा आबद्ध थिए । सो वर्ष उपाधि तानबिर आबद्ध राजस्थानले जितेको थियो ।
जारी प्रतियोगितामा पहिलो खेलमा खासै नजमेका धवनले दोस्रो खेलमा भने उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले काठमान्डु गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए ।

यता तानबिर पनि उच्च लयमा छन् । उनले काठमान्डुसँगको खेलमा पाँच तथा पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिएका छन् । उनले प्रत्येक खेलमा कम्तीमा तीन विकेट लिएका छन् । धवन र तानबिरबीचको आमने–सामनेलाई भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिद्वन्द्वीताको दृष्टिकोणले समेत हेरिएको छ ।
सुरुवाती दुई खेलमा हार ब्यहोरेको कर्णाली पहिलो जितको खोजीमा रहँदा चितवन अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले तथा दोस्रो खेलमा काठमान्डुसँग तीन विकेटले हारेको थियो ।
यता कुशल मल्लको कप्तानीमा रहेको चितवनले सुरुवाती दुवै खेल जितेको छ । पहिलो खेलमा काठमान्डुलाई पाँच विकेट र दोस्रो खेलमा पोखरालाई ८७ रनको फराकिलो अन्तरले हराएको चितवन आज पनि यही नतिजा दोहोर्याउन चाहन्छ ।
आज नै हुने दोस्रो खेलमा जितविहीन लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो १ बजे शुरू हुनेछ ।
Facebook Comment
Comment