काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (बिहीबार) पनि दुई खेल हुँदैछन् ।
पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दैछन् । यो खेल बिहान ९ बजेपछि सुरु हुँदैछ ।
पोखरा आज दुई खेलमा शतप्रतिशत जित निकालेर लयमा रहेको जनकपुरलाई हराएर पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । यसर्थ आज उ जित्नैपर्ने दबाबमा छ ।
यता जनकपुर भने उच्च लयमा छ । उसले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रोमा कर्णाली याक्सलाई हराएको थियो । आज पनि उ पोखराविरुद्ध त्यही लय कायम राख्न चाहन्छ ।
पोखराको कप्तानी कुशल भुर्तेल र जनकपुरको अनिलकुमार साहले गर्नेछन् ।
आज दिउँसो १ बजेपछि हुने अर्को खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स आमने–सामने हुँदैछन् ।
Facebook Comment
Comment