काठमाडौं । भारतीय क्रिकेटका सुपरस्टार र ‘गब्बर’ उपनामले परिचित शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् ।
उनको एनपीएलमा सहभागिताले नेपाली क्रिकेटप्रेमी मात्र नभई छिमेकी भारतका फ्यानहरूमाझ पनि ठूलो उत्साह सिर्जना गरेको छ । एनपील भोलिबाट सुरु हुने छ ।
धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने तय भएको छ । धवन जस्ता विश्वस्तरका भेट्रान खेलाडीको उपस्थितिले नेपालमा क्रिकेटप्रतिको चासो र आकर्षणलाई थप बलियो बनाएको छ ।
धवनको ग्ल्यामरस करियर
शिखर धवन विश्व क्रिकेटकै चर्चित र ग्ल्यामरस फ्रेन्चाइज लिग, आईपीएल (इन्डियन प्रिमियर लिग) मा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा छन् ।
उनले हैदराबाद, डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स जस्ता टिमबाट खेलेका छन्
। सन् २०१६ मा सनराइजर्स हैदराबादबाट आईपीएल जितेका धवन आईपीएलमा लगातार दुई शतक बनाउने पहिलो खेलाडीसमेत हुन् ।
त्यसैगरी, धवनले भारतका लागि आईसीसी च्याम्पियन्स ट्रफी २०१३, एसिया कप २०१६ र २०१८ जस्ता महत्वपूर्ण प्रतियोगिता जितिसकेका छन् । ‘मिस्टर आईसीसी’ भनेर चिनिने धवनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सधैं उत्कृष्ट प्रदर्शन गरेका छन् ।
धवनको आगमनको महत्व
धवनलाई कर्णाली याक्सले अनुबन्ध गरेपछि एनपीएलको चर्चा एकाएक चुलिएको छ । भारतीय मिडियामा धवनको नेपाल आगमन प्रमुख समाचार बनेको छ, जसले लिगलाई भारतमा पनि चासोको विषय बनाएको छ ।
धवनजस्तो खेलाडीको सहभागीता नेपालका युवा क्रिकेटरहरूका लागि प्रेरणाको स्रोत बन्नेछ ।
उनको अनुभव र कौशलले नेपाली क्रिकेटलाई मात्र होइन, एनपीएलको अन्तर्राष्ट्रिय छवि निर्माणमा पनि योगदान दिनेछ । धवनको आगमनले नेपाली खेलमैदानमा नयाँ सम्भावना र अवसरहरूको ढोका खोलेको छ ।

धवनको विशेषता र फ्यानक्रेज
शिखर धवनलाई ‘गब्बर,’ ‘जाट जी,’ र ‘मिस्टर आईसीसी’ जस्ता उपनामले चिनिन्छ । सन् २००४ को यू–१९ विश्वकपमा उनले सर्वाधिक रन बनाउने खेलाडीको रूपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘बेस्ट प्लेयर’ को अवार्ड जितेका थिए ।
उनको आक्रामक ब्याटिङ शैली, शान्त स्वभाव, र ठूलो मञ्चमा प्रदर्शन गर्नसक्ने क्षमताले उनलाई विशेष बनाएको छ ।
अहिले धवनको नेपाल आगमनले यहाँका क्रिकेट फ्यानहरूमाझ मात्र नभई भारतमा पनि ठूलो प्रभाव पारेको छ ।
शिखर धवनको आगमनले नेपाल प्रिमियर लिग को पहिलो संस्करणलाई विश्वस्तरको प्रतियोगिताका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
यसले नेपाली क्रिकेटप्रेमी र खेलाडीहरूलाई धवनबाट सिक्ने र प्रेरणा लिने अवसर प्रदान गरेको छ ।
Facebook Comment
Comment