काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न नेपाली क्रिकेट समर्थकहरु आतुर छन् ।
मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । तर, त्यसको तीन दिनअघि नै उक्त खेलको टिकट ‘सोल्ड आउट’ भएको छ । यही सोमबारदेखि टिकट बुकिङ खुला भएको थियो ।
टिकट ब्रिकेता खल्तीले उक्त खेलका लागि टिकट ‘सोल्ड आउट’ भइसकेको जनाएको छ । सिद्धार्थ बैंक जोन, जनरल जाने २, जनरल जाने ३ र भीआईपीतर्फको सबै टिकट बिक्री भइसकेको छ ।
त्रिवि क्रिकेट मैदानमा भीआईपी र सामान्यतर्फ गरी लगभग १२ हजार दर्शक क्षमता रहेको छ । उद्घाटन खेलमा टिकटको मूल्य साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ ।
लिग अन्य खेलमा साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ ।
यस्तै, प्लेअफ खेलमा साधारणतर्फ ५ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ ।
फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको लागि साधारणतर्फ ४ हजार ४८० रुपैयाँ र भीआईपीतर्फ ८ हजार २४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ ।
Facebook Comment
Comment