काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किंग्सका मार्की खेलाडी सन्दीप लामिछानेले यस प्रतियोगितालाई सफल पार्न समर्थकको साथ आवश्यक पर्ने बताएका छन् ।
सोमबार एनपीएलको ट्रफी अनावरण कार्यक्रमपश्चात पत्रकारसँगको कुराकानीमा लामिछानेले समर्थकको मायाप्रति कृतज्ञता व्यक्त गर्दै प्रतियोगितालाई भव्य बनाउन समर्थकको साथ आवश्यकता पर्ने बताएका हुन् ।
‘समर्थकहरु छुटाउनै नमिल्ने हाम्रो अभिन्न अङ्ग हुन् । हामी संसारको कुनै पनि कुनामा गएर खेले पनि चाहे त्यो नेपालको खेल होस् वा फ्रेन्चाइज लिग होस्, समर्थकले दिएको मायाप्रति हामी सधैँ कृतज्ञ हुन्छौँ,’ उनले भने, ‘फेरि पनि एनपीएललाई भव्य बनाउन समर्थकको साथ चाहिन्छ । यसले नेपाली क्रिकेटलाई पनि राम्रो हुनेछ ।’
सन्दीपले आफ्नो टोलीको तयारी राम्रो भइरहेको पनि बताए । उनले भने, ‘हाम्रो टोलीका खेलाडी शेपमा नै छन् । अस्ति विराटनगर गएर प्रशिक्षणमा सहभागी हुँदा सबैको तयारी राम्रो भएको अनुभूति भयो ।’
साथै, एनपीएलका कारण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिमा पनि खुसी व्यक्त गरे । ‘आजभन्दा ४–५ महिना अगाडि त्रिविको जुन स्थिति थियो र अहिले जुन छ, त्यसमा फरक पाउन सकिन्छ । अहिले राम्रो स्तरमा पुगेको छ । यो सबै पक्षको नेतृत्व गरिरहेका पारस खड्का दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, अन्य कार्य पनि चाँडो सकाउन हुन्छ भन्ने आशा राखेका छौँ,’ सन्दीपले भने ।
उनले विगत ५ वर्षमा नेपाली क्रिकेटको विकास भएको पनि बताए । ‘प्यारपिट, स्कोरबोर्ड तथा अन्य पक्षले पाँच वर्ष अगाडि र आजको अवस्थामा क्रिकेटको विकासलाई दर्शाउँछ । खेलाडीको स्तर तथा हरेक पक्षमा नेपाली क्रिकेट उदाइरहेको दर्शाइरहेको छ,’ सन्दीपले भने ।
एनपीएलले मात्र नभई कसरी हुन्छ नेपाली क्रिकेटलाई माथि लैजाने उद्देश्यमा सबैजना अघि बढि रहेको उनी बताउँछन् ।
Facebook Comment
Comment