काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ । यसैबीच ट्रफीको माथिल्लो भागमा रहेको ढुङ्गा चर्चामा रहेको छ ।
उक्त ढुङ्गा सगरमाथाको कालापत्थरबाट ल्याइएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले त्यहाँबाट ल्याएको बताए । कार्यक्रममा निमा र मिङ्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसबीच किन ट्रफीमा ढुंङ्गा राखियो भनेर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेको छ । यसबारे क्यानका सचिव पारस खड्काले प्रस्ट पारेका छन् । नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुङ्गा राखिएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्याउने आशा राखेका छौँ, यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ । साथै, ट्रफीलाई विशेष बनाउन पनि राखिएको हो ।’
काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा सोमबार बिहान आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी सार्वजनिक गरेका हुन् ।
Facebook Comment
Comment