के स्टार्मरको नयाँ लेबर सरकारले बेलायतलाई पुनर्जीवन दिन सक्ला ?

स्टार्मरको प्रारम्भिक छवि एक क्रान्तिकारी वामपन्थी मानव अधिकारवादी वकिलको थियो । अब उनले आफूलाई एक दृढ टेक्नोक्र्याटका रूपमा पुनर्आविष्कार गर्नुपर्दछ ।
उनले आफ्नो पार्टीमै एक कठोर परिवर्तन गर्न सक्नुपर्दछ ।

के स्टार्मरको नयाँ लेबर सरकारले बेलायतलाई पुनर्जीवन दिन सक्ला ?

सर्वेक्षणहरूले महिनौं अगाडिदेखि भविष्यवाणी गर्दै आएका थिए, तैपनि बेलायतको जुलाई ४ को निर्वाचन परिणाम आश्चर्यजनक नै मानियो ।

कन्जर्भेटिभ पार्टीको १९० वर्षको इतिहासमा यो सबैभन्दा खराब प्रर्दशन थियो । यो पार्टीले झन्डै आधा मत र २५० संसदीय सिट गुमाएको छ । एक पूर्वप्रधानमन्त्री लिज ट्रस, ९ क्याबिनेट मन्त्री र दर्शनौं पार्टी व्यक्तित्व संसद्‌भन्दा बाहिरै रहेका छन् । उनीहरूले आआफ्नो निर्वाचन क्षेत्रमा चुनाव हारेका छन् ।

यो निवर्तमान प्रधानमन्त्री ऋषि सुनकप्रति मात्र लक्षित थिएन, बरु १४ वर्ष लामो टोरी शासनबाट उत्पन्न आक्रोशको लहर थियो । यो गर्जनले ठूलै पहिरो ल्यायो ।

लोकतन्त्रमा शासक पार्टी यति छिटो बिरलै जान्छन् । सन् २०१९ को चुनावमा बोरिस जोहन्सनले ठूलो बहुमत प्राप्त गरेका थिए । तर, एक अर्को चुनावमै कन्जर्भेटिभ यो हालतमा पुगेको छ ।

यसका कारण पनि बढो स्पष्ट छन् । ती हुन्, युरोपेली सङ्घबाट असहज बहिर्गमन, सामाजिक तथा आर्थिक क्षयीकरण, संस्थागत क्षय, अप्रभावकारी र ध्वंसात्मक नेताहरूको आलोपालो, जोहन्सनका अराजक गतिविधि, चरम नवउदारवादी अर्थशास्त्रका साथ लिज ट्रसको अल्पकालीन र दुर्भाग्यपूर्ण प्रयोग ।

विगत डेढ दशकदेखि संयुक्त अधिराज्यमा देश अन्तिम खुट्टामा उभिएको छ भन्ने भावना बढ्दो थियो । यसले ‘अंग्रेज नेटिभिज्म’ र स्कटिस, आइरिस र वेल्स पृथकतावादलाई चर्काएको थियो । यो वा त्यो प्रकारले सङ्घ नै ध्वस्त हुनसक्ने जोखिम बढेका थिए ।

यी विकृतिका दोषी कसलाई मान्ने भन्ने प्रश्नमा मतदाताले कुनै आशंका गर्ने ठाउँ विश्वलाई छोडेनन् । टोरी दल यसका लागि जिम्मेवार ठहर्‍याइयो । सिक्काको अर्को पाटोबाट हेर्दा लेबर नेता किअर स्टार्मरले ४१२ सिटसहित अनुमान गरिएको चुनावी सफलता छोएका छन् । यसले उनलाई सन् १९९७ को टोनी ब्लेयरको ऐतिहासिक जीतको निकटतालाई दोहोर्‍याउन दिएको छ ।

पाँच वर्षअघि उनी नेता हुँदा लेबर पार्टीको अवस्था निकै तल थियो । लेबर पार्टीको पुनरुत्थान मात्र भएको हैन, यो उत्साहजनक रूपमा स्वर्ग उक्लिएको छ । लेबर पार्टीले सन् २०१९ मा जोहन्सनको अनौठो आकर्षण र ब्रेक्जिट पूरा गर्ने आश्वासनको कारण गुमाएको श्रमिक वर्ग मतांशमाथि पुनर्कब्जा गरेको छ । ‘राता पर्खाल’ फेरि लेबरको पोल्टामा फर्किएका छन् ।

लेबर पार्टीले स्कटल्यान्डमा आफ्नो प्रभुत्व पुनः जमाएको छ । यो नयाँ शताब्दीमा स्वतन्त्रतावादी स्कटिश नेसनल पार्टीको किल्लाजस्तो देखिन्थ्यो । वेल्सका ३२ मध्ये २७ सिट जितेको छ । अब नयाँ लेबर सरकारसँग वास्तवमै आफूलाई ‘ब्रिटिस’ दाबी गर्ने अधिकार छ । यो काम ब्लेयरदेखि यताका कुनै पनि पूर्ववर्ती सरकारले गर्न सकेका थिएनन् । देश टुक्रिने जोखिम छोटो अवधिकै लागि सही; तत्काललाई हटेको छ ।

जोहन्सनकालीन बेलायत ट्रम्पकालीन अमेरिकाजस्तै थियो । यसले संस्थागतभन्दा पनि व्यक्तित्वकेन्द्रित उपद्रवी राजनीति गरेको थियो । जोहन्सन र कन्जर्भेटिभ पार्टीले यसबीच अनेक अराजक क्रियाकलाप गरेका थिए । स्टार्मरको प्रवेशले करिश्मारहित प्रयोजनवादी प्रवृत्तिलाई बढावा दिन्छ । अहिले इटली र फ्रान्सदेखि निदरल्यान्ड र स्वीडेनसम्मका युरोपेली लोकतन्त्रमा चरम दक्षिण्पन्थीहरूको लहर छ । बेलायतले फेरेको राहतको सास टाढाका किनारासम्म सुनिने छ ।

तर, अझै पनि लेबरको ३४ प्रतिशत मतांश एकदमै कम हो । टोरीप्रति जनु प्रकारको आक्रोश देखिएको छ, त्यही दरमा स्टार्मर र लेबर पार्टी लोकप्रिय भने देखिँदैनन् । यसको अर्थ स्टार्मरले देश बचाउने आशा बलियो छैन भन्ने हो । स्टार्मर आफ्नो विशाल विजयका लागि ‘पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली’ प्रति ऋणी छन् । यो प्रणालीमा निर्वाचन क्षेत्रहरूमा सानो मतान्तरले पनि राष्ट्रियस्तरमा ठूलो नाटकीय परिवर्तनको लहर ल्याउँछ ।

पाँच वर्षभित्रै यति ठूलो राजनीतिक परिवर्तनले बेलायत अस्थिर र नाजुक राजनीतिको समुन्द्रभित्र आफ्नो भाग्यलाई तैराइरहेको छ भन्ने देखाउँछ । स्टार्मरले शक्ति त बलियो पाएका छन्, यसका बाबजुद उनको अगाडिको बाटो ढुङ्गाहरूले भरिएको छ । चुनावी अभियानमा महत्त्वको मुद्दा त बनाइएन तर, ब्रेक्जिट पराजय एक जारी वास्तविकता हो । यसले स्टार्मरको आर्थिक बृद्धिको बाचालाई बाधा पुर्‍याउँछ ।

जीवनस्तरमा उदेकलाग्दो गिरावट छ । सामाजिक विभाजन विस्तार भएका छन् । दक्षिण इंगल्यान्ड र बाँकी अधिराज्यबीचको दूरी बढ्दो छ । सार्वजनिक र स्वास्थ्य सेवाहरू पतन भएका छन् । ब्रिटिस पहिचान सामाजिक लोकतन्त्रका सामूहिक आधार नष्ट हुँदैछन् । यस्ता क्षेत्रमा आवश्यक नगद प्रवाहको अभाव छ । वर्षौँदेखि लन्डन सबै नागरिकको केन्द्रीय संस्था हुन असमर्थ छ । लोकतन्त्रप्रतिको आस्था कमजोर हुँदै गएको छ ।

शासन प्रणालीमा आधारभूत सुधार नगरिकन यी चुनौती सामना गर्न सकिँदैन । स्टार्मर आफैँ आगो बाल्न सक्ने मान्छे हैनन् । उनको सार्वजनिक आचरण उल्लेख्य रूपमा कमजोर छ । लेबर पार्टीले टोरी दलको नीतिमा रहेको वित्तीय बाधा स्वीकार गरेको छ । तसर्थ, स्टार्मर शासनकालमा सुधारका आधार त्यति बलिया छैनन् । लोकप्रिय अभिमत र संसदीय प्रतिनिधित्वका बीच नमिलेको अनुपातले प्रणालीका लागि जोखिम बढाएका छन् ।

बेलायत टाइटानिकजस्तै डुब्दैछ भन्ने विम्ब त्यसै प्रयोग हुन थालेको हैन । सन् २०१० र सन् २०२० को बीचमा नेपोलियनिक युद्धयताका शान्तिपूर्ण प्रत्येक दशकमा भन्दा सबैभन्दा बढी ज्याला बृद्धिदर घट्यो । सन् २००७ यता देशको वार्षिक उत्पादकत्व दर ०.४ प्रतिशतले घट्दो छ । यो सन् १८२६ पछिकै सबैभन्दा न्यून हो ।

बितेका १६ वर्षमा जीडीपी प्रतिव्यक्ति आय बृद्धि मुस्किलले ४.३ प्रतिशत छ । ठीक अघिल्लो १६ वर्षमा यो ४६ प्रतिशत थियो । वास्तविक ज्याला सन् २००८ को विश्व वित्तीय सङ्कटअघिको स्थिति १४ हजार डलरमा पुगेको छ । यो स्थितिको जिम्मेवार हिजो बेलायतको युरोपेली सङ्घमा संलग्नतालाई मानिएको थियो । बोरिस जोहन्सनको लोकप्रियताको आधार यही तर्क प्रणाली थियो । तर, आज के प्रमाणित भयो भने बेलायतको दुर्दशाको कारण युरोपेली सङ्घभित्र हैन, अधिराज्यभित्रै थिए ।

जोहन्सन र उनको सानो समूहले सन् २०१६ को ब्रेक्जिट जनमत संग्रहमा ब्रसेल्सबाट बाहिरिँदा बेलायतको वैश्विक भूमिका फिर्ता हुने आश्वासन दिएका थिए । समृद्धि र सफलताको शिखरमा पुग्ने बताएका थिए । खासमा यो एक साँघुरो दृष्टिकोण थियो । ‘अंग्रेज राष्ट्रवाद’ को पुनरुत्थान थियो ।

बहुसांस्कृतिकतावादी लन्डन, उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्समा यस्तो कुराको खासै अपिल थिएन । वेल्सभाषी बहुमतले युरोपेली सङ्घमा बस्ने पक्षमा मतदान गरेका थिए । तर, सन् २०१९को चुनावमा अंग्रेजभाषीले जोहन्सनलाई ब्रेक्जिट सम्झौता पूरा गर्ने शर्तमा बहुमत दिए ।

आज यो राजनीतिक परियोजना कति सफल भयो, त्यसको समीक्षा हुनुपर्ने भएको छ । तथ्यहरूले के देखाउँछन् भने ब्रेक्जिटअघि ६४ बिलियन डलर रहेको निर्यात व्यापार सन् २०१९-२०२२ को बीचमा ४ बिलियन डलरले घटेको छ । आझ अधिकांश टोरी अभियानकर्ताहरू यी तथ्य सम्झना गर्दैनन् । प्रधानमन्त्री ऋषि सुनक आफैँ एक उत्साही ब्रेक्जिटर थिए, उनले यो चुनावमा यी तथ्यको चर्चासम्म गरेनन् । स्टार्मरसमेत यस विषयमा मौन छन् । उनले ब्रिटिस पहिचानका थुप्रै नसुल्झेका प्रश्नलाई बेवास्ता गर्दै आएका छन् । टोरीले लिएका आर्थिक, वित्तीय र अन्य नीतिमा लेबरले कुनै उल्लेखनीय परिवर्तन गर्ला भनेर पत्याउन गाह्रो छ ।

बेलायत आज एक ‘खोक्रो साम्राज्य’ जस्तो भइरहेको छ । तर, स्टार्मर यो सत्यलाई स्वीकार गर्न कति तयार छन् ? यदि उनी यो सत्य स्वीकार गर्दछन् भने उनले युरोपेली साझा बजारमा पुनर्प्रवेशको उपाय खोज्नुपर्दछ । स्टार्मरले हल गर्नुपर्ने प्रश्न सामान्य नभएर अस्तित्वसँग जोडिएका छन् । विपक्षी दलको रूपमा लेबर पार्टी यी मुद्दाबाट बेखबर छैन ।

नयाँ आउने लेबर सरकारले यो बुझ्नुपर्दछ कि बेलायत अब हिजोको साम्राज्य छैन । ऐतिहासिक परिबन्धहरूले यसलाई एक विशाल सङ्गठित शक्तिका रूपमा स्वीकार गर्दैन । बेलायत अब बहुसंख्यक इसाई तथा प्रोटेस्टेन्ट राज्य पनि रहेन । औधोगिक क्रान्तिको विरासत मार्गरेट थ्याचरकालमा यसले त्यागिसकेको हो ।

अब यससँग हिजोको सैन्य शक्ति पनि छैन । महारानी एलिजाबेथको मृत्युसँगै राजतन्त्रको छाहरी पनि बलियो छैन । बेलायती सामाजिक लोकतन्त्रका थुप्रै आधार कन्जर्भेटिभहरूले विनाश गरी सकेका छन् । यसलाई अझै पनि एक सङ्घका रूपमा पुनर्गठनको कल्पना भने गर्न सकिन्छ । सबै विविधता एक ठाउँमा रहन र रमाउन फरक राष्ट्रियता, क्षेत्रीयता र जातीय पहिचानलाई नयाँ कल्पनाशीलताबाट समेट्न जरुरी छ । आफ्ना सम्भावित आर्थिक शक्तिको परिचालन गर्न व्यापारको बाटो खोल्नुपर्दछ । युरोप र अन्यत्रबाट मानवीय पुँजीको बाटो खोल्न पर्दछ ।

यसका लागि स्टार्मर सरकारले पहिलो कुरा यो स्वीकार गर्नुपर्दछ कि जसले देशलाई पछाडि धकेल्यो त्यो ब्रसेल्सको जवाफदेहिताहीन युरोक्रेसी हैन, लन्डनकै अतिकेन्द्रिकृत सरकार थियो । जो एक साम्राज्यको भ्रममा साना टापुहरूमाथि नियन्त्रण गर्न बनेको थियो ।

थोरै हिच्किचहटका साथ सही; स्टार्मरले समाजिक लोकतन्त्रलाई पुनर्निर्माण गर्न अवश्य प्रयत्न गर्नेछन् । साम्राज्यको लोपपछि सङ्घलाई जोगाउने सबैभन्दा बलियो आधार यही हो । यसले देशको सबै भागका नागरिकलाई साझा सम्बन्धको मूर्त अनुभूति दिएको थियो ।

संयुक्त अधिराज्यको एक मात्र व्यावहारिक भविष्य भनेको सङ्घीय लोकतन्त्र हो । यसले क्षेत्रहरू र राष्ट्रव्यापी रूपमा यसका बासिन्दाका बीच शक्तिको प्रवाह गर्दछ ।

स्टार्मरको प्रारम्भिक छवि एक क्रान्तिकारी वामपन्थी मानव अधिकारवादी वकिलको थियो । अब उनले आफूलाई एक दृढ टेक्नोक्र्याटका रूपमा पुनर्आविष्कार गर्नुपर्दछ ।
उनले आफ्नो पार्टीमै एक कठोर परिवर्तन गर्न सक्नुपर्दछ ।

के स्टार्मर अघि बढ्न र सङ्घलाई पुनर्आविष्कार गर्न सक्षम छन् ? यो प्रष्ट छैन । उनले त्यस्तो जिम्मेवारी लिन चाहेको अहिलेसम्मका घटनाक्रम र अभिव्यक्तिबाट पुष्टि हुँदैन । आफ्नो विजयलाई उनले राज्य अझै एकताबद्ध र अक्षुण्ण छ भन्ने प्रमाणका रूपमा लिन खोजेको देखिन्छ ।

सरकारको शालीनता, योग्यता र सुसङ्गतिको पुनर्स्थापनाले बेलायती गौरवलाई परनर्स्थापित गर्ने काम गर्नेछ । यदि स्टार्मरले जनताको क्रोधलाई दीर्घकालीन आशावादमा परिणत गर्न असफल भए भने अङ्ग्रेज राष्ट्रवादको निरासा फेरि फैलिनेछ । त्यस्तो भए उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड र वेल्सलाई विभाजन ततर्फ अघि बढाउने छ ।

लेबर पार्टीको जीत पार्टीको जीत मात्र हैन, बेलायतलाई पुनर्निर्माण गर्ने र बचाउने अवसर पनि हो । यदि उनले यो सत्य बुझे भने उनले कामलाई ठीक ढङ्गले गर्ने साहस प्राप्त गर्नेछन् । टुटेका कार्यहरूको कडीलाई जोड्न सक्नेछन् ।

फरेन अफियर्सबाट संक्षेपीकरणसहित अनुदित ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved