आईपीएल फाइनल : कोलकाता र हैदरावादमा को बलियो ?

कोलकाता अहिले ब्याटिङ र बलिङ दुवैमा निकै बलियो देखिएको छ। जारी सिजनमा उसले दुई पटक २५० भन्दा धेरै रन बनाएको छ । यस्तै पछिल्लो ५ खेलमा कोलकाताले ४७ विकेट लिएको छ । हैदरावादको ब्याटिङ लाइनअप झनै विष्फोटक देखिन्छ । उसले तीन पटक २५० भन्दा धेरै रन बनाएको छ । साथै आईपीएल इतिहासकै ठूलो स्कोर २८७ पनि उसकै नाममा छ ।

नेपालभ्युज

आईपीएल फाइनल : कोलकाता र हैदरावादमा को बलियो ?

काठमाडौं। इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा आज कोलकाता नाइट राईडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ।

चेन्नइको चेपौकस्थित एमए चिदम्बरम स्टेडियममा  राति पौने ८ बजे कोलकाता र हैदाराबाद आमने सामने हुनेछन् । करिब २ महिनाअगाडि सुरु भएको आईपीएलमा बलिया प्रतिस्पर्धीलाई पछि पार्दै दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन् ।

सन् २०२१ मा हैदरावाद आईपीएलको अन्तिम स्थानमा रहेको थियो । सन् २०२२ मा आठौं भयो। सन् २०२३ पनि अन्तिम स्थानमा रह्यो। पछिल्ला २ सिजनमा कोलकाता भने सातौं स्थानमा थियो ।

हैदरावाद र कोलकाताको प्रतिस्पर्धा प्रतियोगिता सुरु हुनुअगावै सुरु भएको थियो । अक्सनमा नै खेलाडी किन्न दुवै टोलीले कीर्तिमानी रकम खर्च गरेका थिए ।

अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइर्डसले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो । यससँगै स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महंगो खेलाडी बन्न पुगे ।

हैदारावादले पनि अष्ट्रेलियालाई एकदिवसीय उपाधि जिताउने कप्तान प्याट कमिन्सलाई २० करोड ५९ लाखमा टोलीमा आबद्ध गरेको थियो।

कोलकाताले सन् २०१२ र सन् २०१४ मा उपाधि जितेको थियो । हैदरावादले सन् २०१६ मा उपाधि जितेको थियो । पछिल्ला केही सिजनमा धेरै संघर्ष गरेका दुवै टोलीमध्ये एकले ट्रफी जितेर उपाधिको खडेरी अन्त्य गर्नेछन् ।

जारी आईपीएलमा कोलकाता हैदरावादमाथि हावी भएको देखिन्छ । यसअघि लिगमा पहिलो र दोस्रो भएपछि, कोलकाता र हैदरावादले नै क्वालिफायर १ पनि खेलेका थिए । सो खेल कोलकाताले ७ विकेटले जित्यो ।

आईपीएलको पछिल्लो संस्करणमा सुरुवाती खेलमा पराजित भएको टोलीसँग फाइनलमा पनि पराजित भएका धेरै उदाहरण छन् । केवल एक सिजनमा भने पराजित भएको टोलीले फाइनल जितेको थियो ।

सन् २०१७ मा भएको फाइनलमा मुम्बई इण्डियन्सले राइजिङ पुणेलाई हराउँदै उपाधि जितेको थियो । त्यो सिजनमा मुम्बइ पुणेसँग लिग चरणका दुवै खेलमा मात्रै नभएर क्वालिफायरमा पनि पराजित भएको थियो।

श्रेयस अय्यरले यसपटक कोलकाताको नेतृत्व गर्दैछन् । उनले सन् २०२० मा दिल्ली क्यापिटल्सलाई फाइनल पुर्‍याएका थिए । यद्यपि, पछिल्ला केही महिना भने उनका लागि सुखद भएन ।

ढाडमा चोट लाग्दा सन् २०२३ को एकदिवसीय विश्वकपको स्क्वाडमा अय्यर पर्न सकेका थिएनन् । साथै उनी टी–२० विश्वकपमा पनि पर्न सकेनन् । क्वालिफायर १ मा हैदरवादविरुद्ध अय्यरले २४ बलमा ५८ रन बनाएका थिए ।

हैदरावादमा भने अष्ट्रेलियालाई विश्व टेस्ट च्याम्पियन बनाउने प्याट कमिन्स कप्तान छन् । उनकै कप्तानीमा भारतमा भएको एकदिवसीय विश्वकप पनि अष्ट्रेलियाले नै जितेको थियो ।

पहिलो पटक आईपीएल टोलीको कप्तानी गरेका कमिन्सले उपाधि जित्न भने बलियो कोलकाताको चुनौती पन्छाउनु पर्नेछ ।

कोलकाता अहिले ब्याटिङ र बलिङ दुवैमा निकै बलियो देखिएको छ। जारी सिजनमा उसले दुई पटक २५० भन्दा धेरै रन बनाएको छ । यस्तै पछिल्लो ५ खेलमा कोलकाताले ४७ विकेट लिएको छ ।

हैदरावादको ब्याटिङ लाइनअप झनै विष्फोटक देखिन्छ । उसले तीन पटक २५० भन्दा धेरै रन बनाएको छ । साथै आईपीएल इतिहासकै ठूलो स्कोर २८७ पनि उसकै नाममा छ । जुन यही सिजनमा बनेको हो ।

हैदरावादमा ट्राभिस हेड, अभिषेक शर्मा, हेनरिक क्लासेनजस्ता उच्चस्तरका ब्याटर छन् । कोलकातामा पनि सुनिल नारायण, वैंकटेश अय्यर, आन्द्रे रशल, रिन्कु सिंह जस्ता विष्फोटक ब्याटरको कमी छैन ।

त्यसैले फाइनल भिडन्तमा पनि ठूलो स्कोर बन्ने अनुमान गरिएको छ । समग्रमा हेर्दा यसपटकको फाइनल बलरभन्दा पनि ब्याटरको भिडन्त बन्ने देखिन्छ । यसमा कसले बाजी मार्छ ? त्यसका लागि अब केही घण्टा मात्रै कुर्नु पर्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved