सरकारसँग पानी माग्दै काठमाडौंमा चुरेका जनता (भिडिओसहित)

जथाभावी चुरेको वन फँडानी, अवैध क्रसरधन्दा र गिट्टी-बालुवा दोहनले खानेपानी र सिँचाइका मुहान सुक्न थालेपछि अहिले तराईका धेरै जिल्लामा पानीको अभाव खड्किन थालेको छ । कल तथा ट्यूबेलहरूमा पानी सुक्न थालेको छ ।

नेपालभ्युज

सरकारसँग पानी माग्दै काठमाडौंमा चुरेका जनता (भिडिओसहित)

काठमाडौं । मधेस प्रदेशका विभिन्न जिल्लाका नागरिक सरकारसँग पानी माग्न काठमाडौं आइपुगेका छन् । २५ दिनको कष्टपूर्ण पैदल यात्रा गरेर उनीहरू बिहीबार मात्रै काठमाडौं आइपुगेका हुन् ।

जथाभावी चुरेको वन फँडानी, अवैध क्रसरधन्दा र गिट्टी-बालुवा दोहनले खानेपानी र सिँचाइका मुहान सुक्न थालेपछि अहिले तराईका धेरै जिल्लामा पानीको अभाव खड्किन थालेको छ । कल तथा ट्यूबेलहरूमा पानी सुक्न थालेको छ ।

सोही विषयमा सरकारको ध्यानाकर्षण गर्न उनीहरू काठमाडौं आएका हुन् । आजभन्दा पाँच-सात वर्षअगाडि कमला तथा बालुवा जस्ता ठूला नदीहरूमा बाह्रमासै पानी बग्ने गरेको वीरगञ्जका दीपक यादव बताउँछन् । “तर, अहिले ती ठूला नदीमा पानी छैन । सरकार त हाम्रै हो, अब हेरौँ न्याय दिन्छ कि दिँदैन,” यादव भन्छन् ।

वन अतिक्रमणले आजित उनीहरूमा सरकारप्रति झिनो आस छ । ‘चुरे रहे पानी, पानी रहे हामी’ भन्ने नारासहित उनीहरूले गत वैशाख १६ देखि चुरे संरक्षण पैदल यात्रा सुरु गरेका थिए ।

चुरे, वनजङ्गल संरक्षण, दलित भूमिहीन, सुकुम्वासीहरूको भूमि अधिकार र अवैध उत्खनन तथा सिर्सियालगायतका नदीको प्रदूषण एवम् अतिक्रमणको विरोध गर्दै उनीहरू सप्तरी जिल्लाको भारदहदेखि बाराको पथलैया हुँदै काठमाडौंसम्मको पैदल यात्रा गरेर २५औं दिन बिहीबार माइतीघर आइपुगेको जनकपूरकी शान्तिदेवी यादव बताउँछिन् ।

“पानी छैन अब के खाएर बाँच्नु, सरकारलाई मतलब छैन । स्थानीय निकायसँग पटक-पटक भनेको पनि हो, कुरै सुन्दैन,” उनी गुनासो गर्छिन् ।

दुई वर्षभन्दा बढी वन क्षेत्रमा कार्यालय प्रमुख भएर बसेका कर्मचारीलाई तत्काल सरुवा गर्नुपर्ने, चुरे क्षेत्रका खोलामा हुने अवैध क्रसरधन्दा र गिट्टी-बालुवा दोहन रोक्न ठोस कदम चाल्नुपर्ने, मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी डढेलो नियन्त्रणका योजना बनाउनुपर्ने लगायतका उनीहरूका १२ वटा माग छन् ।

सोही विषयमा उनीहरूले सरकारलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved