माल्दिभ्समा ‘चीन समर्थक’ मुइज्जुको जितले भारतलाई के असर गर्छ ?

केही विज्ञले एउटा सानो देश माल्दिभ्सले दुई एसियाली शक्तिहरू भारत र चीनको बीचमा फस्ने जोखिमको सामना गरिरहेको चेतावनी दिएका छन्। यसअघि माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भइसकेपछि पहिलो विदेश भ्रमण भारत हुने थियो । तर, मुइज्जुले त्यो परम्परा तोडेका छन् । राष्ट्रपति बनेपछि उनले टर्की, युएई र चीन भ्रमण गरिसकेका छन् । तर, अहिलेसम्म भारत आएका छैनन् । 

नेपालभ्युज

माल्दिभ्समा ‘चीन समर्थक’ मुइज्जुको जितले भारतलाई के असर गर्छ ?

काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेशनल कंग्रेसले संसदीय निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जितेको छ ।

गत वर्ष राष्ट्रपति बनेपछि यो निर्वाचनलाई उनको सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको थियो । विज्ञहरूले पीपुल्स नेसनल कांग्रेसको यो जितलाई मुइज्जुको चीन समर्थक र भारत विरोधी नीतिमा समर्थनको रुपमा हेरेका छन्।

९३ सिट भएको माल्दिभ्सको संसदीय चुनावमा मुइज्जुको पार्टीले दुई तिहाइभन्दा बढी सिट जितेको छ । हालसम्म ८६ सिटको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये मुइज्जुको पार्टीले ६६ सिट जितेको छ ।

मुइज्जुको जित यसकारण पनि महत्वपूर्ण छ कि पछिल्लो संसद्‌मा उनको पार्टी र उनका सहयोगीले जम्मा आठ सिट पाएका थिए। जसका कारण उनीहरूलाई विधेयक पारित गराउन समस्या भएको थियो ।

पूर्वराष्ट्रपति तथा भारत समर्थक मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)को संसदमा बहुमत थियो । बहुमतमा रहेकाले एमडीपीले हालै मुइज्जु सरकारका तीन मन्त्रीको नियुक्ति रोकेको थियो । र, केही खर्च स्वीकृत गर्न पनि अस्वीकार गरेको थियो।

भारतसँगको सम्बन्धमा तिक्तता

प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले चुनावमा ठूलो हार व्यहोरेको छ । उक्त दलले यस पटक एक दर्जन सिट मात्रै जितेको छ । अहिले माल्दिभ्सको अर्थतन्त्रको अवस्था राम्रो छैन । अन्तर्राष्ट्रिय मुद्रा कोषले ठूलो ऋणको बारेमा चेतावनी दिएको छ ।

आफ्नो चुनावी वाचा अनुसार भारतीय सेना फिर्ता पठाउने निर्णय कार्यान्वयन गर्दा माल्दिभ्सका मतदाताको मुइज्जुप्रति विश्वास बढेको छ ।

मुइज्जु राष्ट्रपति बनेपछि भारत र माल्दिभ्सबीचको सम्बन्ध निकै बिग्रिएको छ । भारत-माल्दिभ्स सम्बन्धमा देखिएको दरारमा चीनले यस क्षेत्रमा आफ्नो पकड बलियो बनाउन सम्भावनाहरू खोजिरहेको छ।

मुइज्जुले आफू सत्तामा आउने बित्तिकै माल्दिभ्समा रहेका भारतीय सेनाका प्राविधिक कर्मचारीलाई फिर्ता पठाइने बताएका थिए । सोही अनुसार उनले काम पनि गरेका छन् ।

चीन सँगको निकटता भारतका लागि ठूलो चिन्ता

केही विज्ञले एउटा सानो देश माल्दिभ्सले दुई एसियाली शक्तिहरू भारत र चीनको बीचमा फस्ने जोखिमको सामना गरिरहेको चेतावनी दिएका छन्।

पछिल्ला केही वर्षमा चीनले माल्दिभ्सलाई करोडौं डलर ऋण दिएको छ । तीमध्ये अधिकांश ऋण आर्थिक विकास र निर्माण क्षेत्रमा दिइएको छ । संसदीय चुनावको प्रचारप्रसार चर्किरहेको बेला माल्दिभ्स सरकारले चीनलाई धेरै उच्च प्रोफाइलका पूर्वाधार ठेक्का दिएको थियो ।

राष्ट्रपति बनेपछि नियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा मुइज्जु चीन गएपछि सम्बन्ध घनिष्ट भएको थियो । यसअघि माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भइसकेपछि पहिलो विदेश भ्रमण भारत हुने थियो । तर, मुइज्जुले त्यो परम्परा तोडेका छन् ।

राष्ट्रपति बनेपछि उनले टर्की, युएई र चीन भ्रमण गरिसकेका छन् । तर, अहिलेसम्म भारत आएका छैनन् । चीनबाट फर्किएपछि मुइज्जुले भनेका थिए, ‘हामी सानो देश हौं, यसको मतलब यो होइन कि उनीहरूलाई धम्की दिने अधिकार छ।’

मुइज्जुको यो भनाइलाई भारतसँग जोडेर हेरिएको थियो । यद्यपि, मुइज्जुले भारतको नाम भने लिएका थिएनन् ।

अब भारत सँगको विवाद झन् बढ्छ ?

यस वर्षको सुरुमा माल्दिभ्स सरकार र चीनबीच सैन्य सम्झौता भएको थियो । यो सम्झौताले भारतको चिन्ता पनि बढाएको छ ।

माल्दिभ्सको रक्षा मन्त्रालयले सम्झौताहरू कुनै पनि भुक्तानी नगरी गरिएको बताएको छ । यद्यपि, माल्दिभ्स सरकारले आधिकारिक रूपमा यसबारे थप जानकारी दिएको छैन ।

यस्तै एक र्‍यालीमा मुइज्जुले चीनले माल्दिभ्सलाई गैर-घातक हतियार सित्तैमा उपलब्ध गराउने र माल्दिभ्सका सुरक्षा बललाई तालिम पनि दिने बताएका थिए ।विगतमा भारत र अमेरिकाले माल्दिभ्सको सेनालाई तालिम दिँदै आएका थिए ।

माल्दिभ्सका राजनीतिक विज्ञ अजीम जहीरले भने, ‘यो अभूतपूर्व हो। माल्दिभ्सले पहिलो पटक चीनसँग सैन्य सहयोग प्रदान गर्न रक्षा सम्झौता गरेको छ ।’

उनले भने, ‘हामीलाई थाहा थियो कि मुइजुले लगानीका लागि चीनको नजिक जानेछन् । तर, उनी यस हदसम्म पुग्छन् भन्ने कसैले सोचेका थिएनन् ।’

तर, चीनले माल्दिभ्समा कुनै पनि दीर्घकालीन सैन्य योजनालाई अस्वीकार गर्दै आएको छ । चेङ्दु इन्स्टिच्युट अफ वर्ल्ड अफेयर्स थिंक ट्याङ्कका अध्यक्ष डा लङ जिङचुनले भने, ‘यी दुई देशबीचको सामान्य सम्बन्ध हो। यदि चीनले हिन्द महासागरमा आफ्नो उपस्थिति सुधार गर्न चाहन्छ भने माल्दिभ्स भन्दा राम्रो विकल्पहरू छन्।’

‘इन्डिया फर्स्ट’ देखि ‘चीन फर्स्ट’ नीतिसम्म

मुइज्जुलाई ‘चाइना फर्स्ट’ नीतिको समर्थक मानिन्छ । तर, उनले धेरै पटक आफूलाई ‘माल्दिभ्स फर्स्ट’ नीतिको समर्थकको रूपमा व्याख्या गरेका छन् । माल्दिभ्सका विगतका सरकारहरूलाई ‘इन्डिया फर्स्ट’ नीतिको समर्थक मानिन्थ्यो।

आफ्नो चुनावी अभियानमा मुइज्जुले भारतको मुद्दामा तत्कालीन मोहम्मद सोलिहको सरकारलाई निशाना बनाएका थिए। मुइज्जुले भारतसँग भएका सम्झौताको जानकारी नखुलेको बताउने गरेका छन् । अहिले मुइज्जुको पनि त्यस्तै आलोचना भइरहेको छ ।

यस वर्षको फेब्रूअरीमा मुइज्जु प्रशासनले चिनियाँ अनुसन्धान जहाज सियाङ याङ होन्ह ३ लाई मालेमा रोकिन अनुमति दिएको थियो । माल्दिभ्सको यो कदमलाई भारतले राम्रो मानेको छैन ।

माल्दिभ्सले सेनासँग सम्बन्धित यस जहाजलाई रोक्नको लागि कुनै कारण बताएको छैन । तर, भारतीय विज्ञहरू यसमा सहमत देखिँदैनन् । विज्ञहरूले जहाजबाट सङ्कलन गरेको डाटापछि चिनियाँ सेनाले प्रयोग गर्न सक्ने अनुमान गरेका छन् ।

मुइज्जुको भारत सँगको दुरी बढ्दै गएको देखिन्छ । तर, भारतले ऐतिहासिक रूपमा माल्दिभ्सलाई सहयोग गर्दै आएको छ। माल्दिभ्सको अर्थतन्त्रमा पर्यटनले महत्त्वपूर्ण भूमिका खेल्छ। माल्दिभ्स जाने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन्।

माल्दिभ्स औषधि, खाद्यवस्तु र निर्माण सम्बन्धी सामानका लागि भारतमा निर्भर छ । कोरोनापछि माल्दिभ्समा अधिकांश खोप भारतबाटै गएका थिए ।

यस वर्षको सुरूमा मुइज्जुका मन्त्रीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीरमा आपत्तिजनक टिप्पणी गरेपछि भारतमा निकै आक्रामक मनोवृत्ति देखिएको थियो। केही पर्यटन कम्पनीले माल्दिभ्स बहिष्कार गर्ने कुरा गरेका थिए।

यो विवादपछि दुई महिनामा माल्दिभ्स भ्रमण गर्नेको संख्या करिब चार लाख पुगेको थियो । तीमध्ये १३ प्रतिशत पर्यटक चीनका थिए। भारत विवादअघि पहिलो नम्बरमा थियो । तर, अहिले पाँचौं नम्बरमा आएको छ । मुइज्जुले यो विवादका कारण आलोचनाको सामना गर्नुपरेको थियो ।

माल्दिभ्स र भारतबीचको सम्बन्धमा ‘आइस ब्रेक’ भएको बेला संसदीय चुनावमा मुइज्जुको जित भएको हो ।

भारतीय पर्यटकलाई ९-१० अप्रिलमा आकर्षित गर्न माल्दिभ्सको एक प्रमुख पर्यटन संगठनले भारतीय शहरहरूमा रोड शो आयोजना गर्ने घोषणा गरेका थिए ।

यो रोड शोको तात्पर्य माल्दिभ्सको पर्यटनसँग सम्बन्धित सो संस्थाले विभिन्न सहरमा गएर पर्यटन प्रवर्द्धनका लागि शो आयोजना गर्ने, जसमा मानिसहरूलाई आमन्त्रण गर्ने थियो ।

पछिल्लो समय माल्दिभ्स घुम्न आउने भारतीय पर्यटकको संख्यामा भारी गिरावट आएको छ । मोदी प्रतिको टिप्पणीपछि भारतका केही निजी पर्यटन कम्पनीले पनि माल्दिभ्सका लागि बुकिङ बन्द गरेका थिए।

माल्दिभ्स पर्यटन विभागको तथ्याङ्कका अनुसार सन् २०२४ जनवरीमा पर्यटक देशको रूपमा भारतको स्थान पाँचौं स्थानमा झरेको छ ।

तथ्याङ्क अनुसार सन् २०२३ जनवरीमा मालदिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको संख्या १७ हजार २९ थियो । सन् २०२४ जनवरीमा घटेर १२ हजार ७ सय ९२ पुगेको छ।

यसैबीच मोदीले अप्रिल १० मा माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलाई विशेष सन्देश पनि पठाएका थिए।

मोदीले भनेका थिए, ‘जब हामी परम्परागत उत्साहका साथ ईद-उल-फित्र मनाउँछौं, विश्वभरका मानिसहरूले शान्तिपूर्ण र समावेशी विश्व निर्माणका लागि आवश्यक करूणा, भ्रातृत्व र एकताका मूल्यहरूलाई सम्झिरहेका छन्।’

यसबाहेक भारतले आर्थिक वर्ष २०२४-२५ मा माल्दिभ्समा केही वस्तु निर्यात गर्ने सीमा तोकेको छ। यसमा अण्डा, आलु, प्याज, चामल, गहुँको पिठो, चिनी र दाल पर्छन् ।

(बीबीसी हिन्दीबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved