५१ करोड लागतमा अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र बनाउँदै गोदावरी नगर (तस्वीरहरु)

नेपालभ्युज

५१ करोड लागतमा अत्याधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र बनाउँदै गोदावरी नगर (तस्वीरहरु)

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा निर्माणाधिन अत्याधुनिक फोहोरमैला व्यवस्थापन निर्माण कार्य तीव्र छ । निर्माण कम्पनीका अनुसार भौतिक प्रगति ९० प्रतिशत पुगेको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्पलेक्ससंग १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माणको काम सेप्टेम्बर २०२४ मा सकिनु भएपनि अहिलेको काम गर्न तरिकाले समय अगावै काम सकिने निर्माण कम्पनीले दाबी गरेको छ ।

गोदावरी नगरपालिका–३ चौकीडाँडा सामुदायिक वन क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण भईरहेको हो । ५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलमा १ हजार बढी रुखहरु काटिएका थिए ।

अहिले पोखरीमा जिओमेम्ब्रान सिट (फोहोर पानी जमिनमा भिज्न नदिने प्लाष्टिक) बिछ्याउने कार्य सुरु गरेको छ । मेयर विरेन्द्र भट्टले उक्त कार्यको उद्घाटन गरेका हुन् ।

उद्घाटनमा मेयर भट्टले कार्यक्रममा फोहोरमैला केन्द्रको कार्य अगाडि बढाउनका लागि निर्वाचित भईसकेपछि शनिबार पनि नभनेर निरन्तर लागेको बताए । यसलाई निर्माण सम्पन्न भएमा सञ्चालनमा ल्याई सकेपछि फोहोरको बर्गाीकरण गरेर नगरलाई सफा स्वच्छ गर्न सफल हुने उनले बताए ।

‘पुनः प्रयोग हुने फोहोर देखि दिसाजन्य बस्तुलाई व्यवस्थापन गर्ने छौँ’, उनले भने । ‘निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । यस आर्थिक बर्ष भित्र नै सञ्चालनमा ल्याउने छौँ ।’ यो प्रोजेक्ट सञ्चालमा आएपछि गोदावरीको फोहोर पूर्णरुमा व्यवस्थापन हुने मेयर भट्टले दाबी गरे ।

धमाधम रुपमा भइरहेको भौतिक संरचना निर्माणको कार्य करिब अन्तिम चरणमा पुगिसकेको प्रोजेक्ट इन्जिनियर अशोक पाण्डेयले बताए । उनले भौतिक संरचना निर्माणको कार्य लगभग ९० प्रतिशत सकिइसकेको र अव आउने साउन भित्र भौतिक संरचना निर्माणको कार्य सम्पन्न हुने दाबी गरे ।

फोहोर व्यवस्थापन केन्द्रमा कम्पाउण्ड, फोहोर फाल्ने ब्लक, फोहोर प्रशोधन यन्त्र लगायतका संरचनाहरु निर्माण सम्पन्न भईसकेको छ । फोहोरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहोर संकलन गर्ने देखि लिएर डिस्पोजल गर्ने, प्युरिफाई गर्ने र कुहिने फोहोरबाट मल बनाइने बताइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रबाट प्राङ्गारीक मल उत्पादन गरिने छ ।

परियोजनालाई ५० बर्ष सम्म प्रयोग गर्न मिल्ने गरि डिजाईन गरिएको छ । इन्जिनियर पाण्डेयका अनुसार एक दिनको ठोसजन्य १३ टन र १३ घनमिटर दिसाजन्य फोहोर प्रोशोधन गर्ने क्षमता रहेको छ । फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माणका लागि ५१ करोड ठेक्का भएको हो । यसमा ७५ प्रतिशत एडिवीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारले सहयोग रहेको छ ।

२ बर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण सकिएपछि पनि ३ बर्ष भने निर्माण कम्पनीले नै संचालन गर्ने छ । ‘निर्माणको काम सकिएपछि ३ बर्ष अपरेशन मेन्टेनेन्सको काम हुने छ’ इन्जिनियर पाण्डेयले भने ‘उक्त कार्य निर्माण कम्पनिले नै गर्ने छ र त्यसपछि भने नगरपालिकालार्य हस्तान्तरण हुनेछ ।’

नगरपालिकालाई हस्तान्तरण गरेको १ बर्ष सम्म पनि मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुने छ । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा हाल एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढेको हो ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका गरी तिनवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको छ ।

गोदावरी र शुक्लाफाँटा निर्माण कार्य अगाडि बढाए पनि धनगढी उपमहानर भिमदत्तले अझै पनि सुरु गर्न सकेको छैन् । भिमदत्तले नबनाउने भनिसकेको छ भने । धनगढीमा प्रक्रियामा रहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved