ताप्लेजुङमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्दै डा. रुइत

नेपालभ्युज

ताप्लेजुङमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्दै डा. रुइत

फुङ्लिङ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले बिहीबारदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गरेका छन् ।

उनले ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिए ।

जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो ।

शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा. रुइत गृहजिल्ला आएको सङ्घका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए । विभिन्न गाउँ–गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उनले जानकारी दिए ।

बिहीबारदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने सङ्घले जनाएको छ । डा. रुइतले शल्यक्रिया गर्ने भएपछि नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रहेको सङ्घका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए ।

सेवा लिन आउने सबै सेवाग्राहीलाई सहज ढङ्गले सेवा दिएर पठाउने योजनाका साथ काम भइरहेको सङ्घका जिल्ला सहसचिव युवराज गिरीले बताए ।

उनका अनुसार अहिले नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ ।

आँखाको परीक्षणका लागि आइपुगेको तिलगङ्गा आँखा अस्पतालको प्राविधिक टोलीले आज बिहानैदेखि परीक्षण तथा उपचार सुरु गरेको छ ।

परीक्षणका क्रममा छनोट भएका मोतियाबिन्दुका बिरामीको डा. रुइतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताए ।

सङ्घले यसअघि मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतियाबिन्दुका बिरामीको छनोट गरिसकेको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved