लिफ्टदिने भन्दै अपार्टमेन्टमा लगेर बलात्कार ! किशोरी पहिल्लै गर्भवती भएको भन्दै अभियुक्त धरौटीमा छुटे

राति किशोरीलाई घर पुर्‍याइदिने आश्वासनमा आफ्नै अपार्टमेन्टमा लगेर बलात्कार गरेको अभियोग लागेका युवा धरौटीमा छुटेका छन् । आदेशमा न्यायाधीशले ‘पीडित र प्रतिवादीसँगै कोठामा बसेलगत्तै ‘प्रेग्नेन्सी पोजेटिभ’ देखिनु र पीडितमा संघर्षका चोटपटक शरीरमा नदेखिएको आधारमा प्रतिवादीलाई धरौटीमा छाड्नु’ भन्ने उल्लेख गरेका छन् ।

नेपालभ्युज

लिफ्टदिने भन्दै अपार्टमेन्टमा लगेर बलात्कार ! किशोरी पहिल्लै गर्भवती भएको भन्दै अभियुक्त धरौटीमा छुटे
सांकेतिक तस्वीर

काठमाडौं । १२ मंसिर राति साढे बजे । चाबहिल चोकमा नौ कक्षामा पढ्ने १५ वर्षीया किशोरी गाडी कुर्दै थिइन् ।

हिउँदको समयमा राति ९ बजेपछि चक्रपथ चोकमा सार्वजनिक भाडाको गाडी खासै चल्दैन । उनलाई पुग्नुपर्ने थियो वसुन्धरा ।

भक्तपुर बस्ने नाबालिग वसुन्धरास्थित दिदी (मामाकी छोरी) को मा जाँदै थिइन् । वसुन्धराबाटै त्यो दिन बिहान चाबहिलमा साथी भेट्न आएकी थिइन् ।

चाबहिल चोकमा सार्वजनिक गाडी कुरिरहेका बेला उनको अगाडी सेतो कार रोकियो । ‘यति राति किन एक्लै बसेको ?’ गाडीका चालकले सोधे ।

उनी थिए, नक्सालको भाटभटेनी अपार्टमेन्ट बस्ने प्रकाशकुमार श्रेष्ठ । ‘वसुन्धरा जान लागेको, गाडी कुरेको’ किशोरीले जवाफ फर्काइन् ।

‘यति राति गाडी पाइँदैन, आऊ म पुर्‍याइदिन्छु’ कारमा रहेका श्रेष्ठले आग्रह गरे । किशोरीले असहमति जनाउँदै भनिन्, ‘गाडी नपाए म ट्याक्सीमा जानुपर्ला तै पनि एक छिन कुर्छु ।’

केहीबेरको कुराकानीपछि प्रकाशले किशोरीलाई आफ्नै कारमा लगिदिन राजी गराए । किशोरी कारमा बसिन् ।

श्रेष्ठले उनीसँग घर, ठेगाना, त्यहाँ आउनुको कारणलगायतका विभिन्न विषयमा चासो राख्दै थिए । १० मिनेटपछि उनीहरू वसुन्धरा पुगे ।

वसुन्धरा चोक पुगेपछि किशोरीले दिदीलाई फोन गरिन् । फोन उठेन । मुख्य सडकबाट केही भित्र दिदीको कोठा थियो ।

उनलाई गल्ली ठम्याउन गाह्रो भयो । दिदीको फोन नउठे पनि उनी गाडीबाट झरिन् । दिदीको कोठा जाने बाटो खोज्न लागिन् ।

प्रकाशले ‘केटी मान्छे राति बाहिर एक्लै हिँड्दा सुरक्षित नहुने’ भन्दै गाडीमै तानेर राखे । उनले घरमा एक्लै रहेको बताउँदै किशोरीलाई जाऊँ भने । उनी सहमत भइनन् ।

किशोरीले नमानेपछि ठमेलमा खाना खानजान अफर गरे । खाना खाएपछि ल्याएर छाडिदिने बताए ।

त्यसपछि प्रकाशले किशोरीलाई ठमेलमा खाना खान लगेनन् बरु नक्सालतिर गाडी हुइँकाए । उनले किशोरीलाई आफ्नै अपार्टमेन्ट ल्याएका रहेछन् । भित्र छिरेपछि उनले टीभी खोले ।

‘नानीबाबुको ख्याल राख्नु’ भन्दै तीन तलाबाट फाल हालिन् रबिना, मारिए अश्वेत र रिवा !

टीभी हेरिरहेको अवस्थामा प्रकाशले आफ्नो शरीर छुन थालेको किशोरीले बताएकी छिन् । आफूले अफ्ठेरो मान्दामान्दै जबरजस्ती कपडा खोलेर बलात्कार गरेको किशोरीले प्रहरी र अदालतमा बयान दिएकी छिन् ।

यसबीचमा अपार्टमेन्टबाट पनि पीडितले दिदीलाई बारम्बार फोन गरिरहिन् । तर, उठेको थिएन । पछि दिदीको कोठासँगैकी अर्की महिलालाई फोन गरिन् ।

आफू समस्यामा परेकोले दिदीलाई  फोन उठाइदिन भनिदिन आग्रह गरिन् । त्यसपछि दिदीसँग उनको फोन सम्पर्क भयो । किशोरीकी दिदीले प्रकाशलाई फोनमा गाली गरिन् ।

त्यतिबेला रातको सवा २ बजेको थियो । त्यसपछि प्रकाशले किशोरीलाई वसुन्धरा पुर्‍याइदिए । त्यहाँ पुग्दा पौने तीन बजेको थियो ।

०००

दिदीकहाँ पुगेपछि किशोरीले सबै सुनाइन् । बिहान (१३ मंसीरमा) पीडित दीदीसँगै प्रहरीमा गइन् । प्रहरी वृत्त मालीगाउँले त्यही दिन प्रकाशलाई पक्राउ गर्न सक्रियता देखायो ।

प्रहरी पुग्दा प्रकाशले ढोका खोलेनन् । प्रहरीले लक फुटाएर उनलाई समात्यो । बयानमा उनले भने बलात्कार नगरेको दाबी गरेका छन् ।

अस्थायी साधनसमेत प्रयोग नगरी बलात्कार गरेको किशोरीको दाबी छ । त्यस विषयमा प्रकाशको अपार्टमेन्टबाट वीर्यलगायत प्रमाण संकलन गरी प्रहरीले परीक्षणमा पठाएको छ ।

रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी वृत्त मालीगाउँले जनाएको छ । घटनापछि प्रकाशले ‘पैसा दिन्छु, प्रहरीमा नजाउ’ भन्दै फकाएको पीडित पक्षको आरोप छ ।

दोलखाको रेडियो कार्यक्रमबाट चिनजान, ‘लभ’ गरेर काठमाडौं ल्याई होटेलमा प्रेमिकाको हत्या !

किशोरी पहिल्यै गर्भवती भएको भन्दै न्यायाधीशले धरौटीमा छाडे अभियुक्त

१३ मंसिरमा पक्राउ परेका प्रकाश ८ पुसमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश उत्तम सिलवालको आदेशमा छुटे । १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश थियो ।

आदेशमा न्यायाधीशले ‘पीडित र प्रतिवादीसँगै कोठामा बसेलगत्तै ‘प्रेग्नेन्सी पोजेटिभ’ देखिनु र पीडितमा संघर्षका चोटपटक शरीरमा नदेखिएको आधारमा प्रतिवादीलाई धरौटीमा छाड्नु’ भन्ने उल्लेख गरेका छन् ।

नाबालिग बलात्कार जस्तो अपराधका अभियुक्त पनि धरौटीमा छुटेपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीसमेत अचम्मित भएका छन् ।

अझ ती किशोरी गर्भवतीसमेत रहेको अनुसन्धानमा खुलेको छ । तर, अदालतले भने पहिल्यै किशोरीले अरू कसैसँग यौनसम्पर्क गरिसकेकाले गर्भवती भएको आधार बनाएको छ ।

न्यायाधीशको आदेशमा भनिएको छ, ‘प्रतिवादी र पीडित प्रतिवादीको कोठामा बसेको समय अवधि तथा पीडित भनिएकी व्यक्तिमा तत्काल प्रेग्नेन्सी पोजिटिभ देखिनु तथा अन्य घर्षणका ‘फ्रेस इन्जुरिज’हरू नदेखिई पीडितले दिदीलाई पटकपटक फोन गर्दा सम्पर्क हुन नसकी आफ्नोमा लगी राति २ः५१ बजे दिदीसमक्ष पुर्‍याएको अवस्थासमेतबाट प्रतिवादी प्रकाशकुमार श्रेष्ठलाई अहिले नै थुनामा राख्नुपर्ने अवस्था देखिएन ।’

तर, बलात्कार भए–नभएको विषयमा ध्यान नदिई आदेश दिएको पीडित पक्षको गुनासो छ ।

यो आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय अहिले उच्च अदालत गएको छ । अनुसन्धानमा आबद्ध प्रहरी र सरकारी वकिल कार्यालयका अधिकारी भने किशोरीलाई बलात्कार गरेका बलिया प्रमाणसहित अभियोजन गरिएको बताउँछन् ।

‘बलात्कारका पर्याप्त प्रमाण थियो। तर पनि धरौटीमा छाड्ने आदेशमा आयो । यो आदेशमा असन्तुष्टि जनाउँदै उच्च अदालत गएको हौँ,’ एक अधिकारीले भने ।

रवि लामिछानेविरुद्ध सहकारी ठगीमा अनुसन्धान, गैरकानूनीरूपमा ऋण लिएको आरोप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved