ग्लोबल आइएमई बैंक र आईएफसीबीच ५६ मिलियन डलरको ऋण सम्झौता

नेपालभ्युज

ग्लोबल आइएमई बैंक र आईएफसीबीच ५६ मिलियन डलरको ऋण सम्झौता

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र ग्लोबल आइएमई बैंक लिमिटेडबीच ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोडको ऋण सम्झौता भएको छ ।

सो रकम महिलाद्वारा सञ्चालित व्यवसायलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिने ग्लोबल आइएमई बैंकले बताएको छ ।

नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानीले ग्लोबल आइएमई बैंकलाई साना तथा मझौला व्यवसाय, कोभिड १९ महामारीबाट प्रभावित उद्यम, महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामिण क्षेत्रमा रहेका उद्यम व्यवसायलाई सहयोग गर्न सघाउ पुर्‍याउने बताइएको छ ।

आईएफसीको यस लगानीले स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनालगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा विशेष योगदान पुर्‍याउने विस्वास बैंकको छ ।

बैंकका अनुसार यस ऋणको पचास प्रतिशत साना तथा मझौला र खुद्रा ग्राहकको लागि जलवायु तथा लैगिंक क्षेत्रको लगानीमा समानरुपमा विनियोजन गरिनेछ ।

बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यमहरुका लागी बैंकले कर्जा प्रवाह गर्नेछ । नेपालमा  बैंकलाई यस्तो लगानी उपलब्ध गराइएको पहिलो पटक हो ।

नेपालमा साना तथा मझौला उद्यमले मुलुकको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान गरेको तथा २० लाख भन्दा बढी मानिसलाई रोजगारी दिएको बैंकले जनाएको  छ ।

तथापि, ४४ प्रतिशत साना तथा मझौला उद्यमलाई अझै पनि वित्तीय पहुँचमा बाधा रहेको छ । यो अन्तर झण्डै ३.६ विलियन डलरको रहेको बताइएको  छ ।

नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले नेपालमा वैदेशिक लगानी ल्याउने विषयमा निकै खुशी रहने बताउँदै त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्  ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएफसीसँगको सहकार्यले बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धी बन्न सहयोग पुगेको बताए ।

‘विश्व जनमानस जलवायु र वातावरणीय प्रभावको बारेमा सचेत हुँदै गइरहेको अवस्थामा भएको ऋण सम्झौताले जलवायु र लैगिंक फाइनान्सिङ मार्फत दिगोपनको लागि   प्रतिवद्धता जाहेर गर्दछौं’ उनले भने, ‘हरित ऊर्जाको विकासमा नेपालको सम्भाव्यतालाई मान्यता दिँदै ऊर्जा क्षेत्रमा रहेको स्रोतसाधनको खाडललाई पुरा गर्ने हाम्रो प्रतिवद्धता छ ।’

आईएफसीका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले आईएफसीको यो विनियोजनले नेपालमा थप महिलालाई सशक्तीकरण गर्ने, रोजगारी सृजना गर्ने, र जलवायु तथा आर्थिक क्षेत्रमा वित्तीय पहुँच बढाउने लक्ष्य राखेको बताए ।

यस्तै नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायले यसले नेपालका साना तथा मझौला उद्यममा लगानी गर्न सहयोग पुग्ने बताए ।

यो साझेदारी, आईएफसी र ग्लोबल आइएमई बैंकबीचको तेस्रो हो । सन् २०२२ मा आईएफसीले ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) को एक भागको रुपमा एक व्यापार वित्त सुविधा विस्तार गरेको थियो ।

जसमा हरित व्यापार फाइनान्सिङको लागि विशेष प्रावधान समावेश थियो । उक्त सम्झौता आईएफसीले हरित व्यापार फाइनान्समा गरेको विश्वकै पहिलो ऋण प्रवाह थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved