एकै महिनामा थपियो १३ अर्बभन्दा बढी सार्वजनिक ऋण

मुलुकको सार्वजनिक ऋणको दायरा २३ खर्ब ८४ अर्ब पुग्यो

नेपालभ्युज

एकै महिनामा थपियो १३ अर्बभन्दा बढी सार्वजनिक ऋण

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो ।

मंसिर महिना मसान्तसम्म सो ऋणको दायरा कुल २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ रहेको थियो । यसर्थ: एक महिनाको अवधिमा नेपालको सार्वजनिक ऋण १३ अर्ब २२ करोड ६५ लाख रुपैयाँ थपिएको छ ।

यद्यपि, समीक्षा अवधिमा आन्तरिक तथा बाह्य गरी कूल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ प्राप्ति गरिएकोमा ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ ऋणको सावाँ ब्याज भुक्तान गरिएको समेत कार्यालयले जनाएको छ ।

पुस मसान्तसम्ममा भुक्तान गरेर तिर्न बाँकी रहेको ऋणमध्ये आन्तरिकतर्फको हिस्सा ५०.५ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा ४९.५ प्रतिशतको रहेको छ । जसमा आन्तरिकतर्फको ऋणको सावाँ ब्याज गरी ७० अर्ब ५६ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

यस्तै, समीक्षा अवधिमा बाह्यतर्फ २१ अर्ब १९ करोड ८४ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको सरकारले ११ खर्ब ७३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

पछिल्लो महिना आन्तरिकतर्फबाट १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको छ भने बाह्यतर्फबाट १९ अर्ब ९७ करोड रुपैयाँ ऋण सापटी लिइएको कार्यालयले जनाएको छ ।

समीक्षा अवधिको कूल तिर्न बाँकी सार्वजनिक ऋणको आकार वार्षिक बजेट भन्दा १.३६ गुणा अर्थात् ६ खर्ब ३३ अर्ब १७ करोड ३९ लाख रुपैयाँले बढी हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved