चोभारमा नेपालकै पहिलो क्यानोपी जिपलाइन (तस्वीरहरु)

चोभारमा नेपालकै पहिलो क्यानोपी जिपलाइन (तस्वीरहरु)

काठमाडौं । नेपालमै पहिलो पटक क्यानोपी जिपलाइन काठमाडौंको चोभार डाँडामा सञ्चालन भएको छ । जे.भि.एड्भेन्चर प्रा.लि.ले सञ्चालन गरेको यो क्यानोपी जिपलाइन नेपालकै पहिलो हो ।

तीन चरण गरेर खेल्न पाइने उक्त जीपलाइनको कुल लम्बाई करिब ४ सय मिटर रहेको छ । तीनै चरणको जीपलाइन खेल्न १० मिनेट लाग्ने छ । जिपलाइन खेल्दा गरिने अनुभूति अनुसार पहिलो चरणलाई ‘एड्भेन्चर’, दोस्रो चरणलाई ‘डेयर डेभिल्स’ र तेस्रो चरणलाई ‘द फन’ भनी नामकरण गरिएको छ ।

जिपलाइनको क्रममा मञ्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरि डाँडा, काठमाडौं तथा ललितपुरका सुन्दर दृश्य अवलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ ।

कति लाग्छ शुल्क ? 

क्यानोपी जिपलाइनको तीन चरण खेल्नका लागि फोटो भिडियोसहित प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । जसमा टेण्डम (जोडी) ले मात्र २ हजार रुपैयाँमै क्यानोपीको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । साथै विद्यार्थीहरूको लागि १० प्रतिशतसम्म  छुटको पनि व्यवस्था रहेको छ । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयहरूले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउने व्यवस्था रहेको छ ।

आगामी योजना 

चोभार डाँडामा एड्भेन्चर हब नै बनाउने गरी तयारी थालिएको कम्पनीका प्रमुख प्रदीप चौलागाईले बताएका छन् । उनका अनुसार चोभारको डाँडा काटिएको खोँचमा ग्लास ब्रिज निर्माण गरिने भएको छ । जसमा तीन वटा एड्भेन्चरहरु बनाइने छ ।

‘काटिएको खोँचलाई लक्षित गरेर ग्लास ब्रिज बनाइने तयारी थालिएको छ’, उनले भने ‘उक्त ब्रिजमा स्विङ्, स्काई साइक्लिङ र स्काई वाक बनाइने छ ।’ तीन अर्बको लगानी योजना सहित निर्माण थालिएको यस क्यानोपी जीपलाइन आगामी एक वर्षमा निर्माण भइसक्ने सञ्चालक चौलागाई बताउँछन् । यसका साथै, विभिन्न एड्भेन्चरहरुको निर्माणसङै होटेल तथा बिग सिनेमा हाउसको समेत निर्माण गरिने उनको भनाई छ ।

एक दिनमा ३ सयदेखि ३५० जनाले उक्त जिपलाइनको मज्जा लिन सक्नेछन् । जिपलाइन बिहान १० बजेदेखि साँझ ५ः३० सम्म खुला रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved