कोभिड अस्पताल : नगरपालिकाले अलपत्र बनायो, युवाले थाले संरक्षण

नेपालभ्युज

कोभिड अस्पताल : नगरपालिकाले अलपत्र बनायो, युवाले थाले संरक्षण

झापा । कोरोना महामारीपछि देशका विभिन्न स्थानमा कोभिड अस्पतालहरु सञ्चालनमा आए । जसमध्ये एक हो झापा दमकको कोभिड अस्पताल ।

दमक नगरपालिकाले दमक अस्पतालमातहत रहने गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । कोभिड उपचार केन्द्र भनेर स्थापना गरिएको अक्सिजनसहितको ३८ शय्याको यो अस्पताल अहिले अलपत्र बनेको छ ।

दमकको वडा नं २ स्थित बेलडाँगीमा बनाइएको सो अस्पताल कोभिडपछि कुनै पनि प्रयोजनमा ल्याउन नसक्दा प्रयोगविहीन बनेको हो ।

अस्पतालको अवस्थालाई मध्यनजर गर्दै सुन्दर समाज नेपालले अस्पताल सरसफाई गरेको छ । अस्पताल परिसरमा उम्रिएका घाँस र फोहोर व्यवस्थापन गर्नुका साथै अस्पतालभित्रका बेड तथा उपकरणहरुमा लागेको धुलो सफा गरिएको समाजकी अध्यक्ष विन्दु सिटौला (लक्की) ले बताइन् ।

कोरोना संक्रमण दर कम भएसँगै अस्पताललाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा नगरपालिकाले कुनै योजना बनाउन सकेको छैन । डेङ्गी महामारीका समयमा डेङ्गी अस्पताल सञ्चालन गर्न स्थानीयले सुझाएका थिए । तर, कार्यान्वयन हुन सकेन ।

दमकको उत्तरी क्षेत्र र खासगरी शरणार्थी शिविरका शरणार्थीलाई लक्षित गरेर स्वास्थ्य केन्द्र बनाउन सकिने सुन्दर समाज नेपालकी अध्यक्ष लक्कीको छ ।

साथै यस क्षेत्रमा लागूपदार्थ दुर्व्यसनको अवस्थालाई मध्यनजर गर्दै रियाव सेण्टरको रुपमा अघि बढाउन सकिने पनि उनको सुझाव छ ।

सो अस्पताल कोभिडपछि कुनै पनि प्रयोजनमा ल्याउन नसकेको र यसलाई के गर्ने भन्नेबारेमा नगरको स्वास्थ्य शाखाले पनि अहिलेसम्म कुनै योजना नबनाएको वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटाले बताए ।

उनले चाडै नै यसलाई उपयोगमा ल्याउने बताए । तर दमक नगरपालिकाको आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रममा पनि सो अस्पताललाई के मा प्रयोग गर्ने भन्नेबारेमा उल्लेख नगरेकाले नगरकै बेवास्तामा परेको हाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved