यी हुन् मधेस प्रदेशसभा बैठकका निर्णय

यी हुन् मधेस प्रदेशसभा बैठकका निर्णय

जनकपुरधाम । मधेश  प्रदेश सभाको बैठक लामो समयपछि  सोमवारदेखी सुरु भएको छ ।

गत असोज महिनाको २९ गते बैठक सुरु हुने बित्तिकै नेकपा एमालेका उपनेता दिपेन्द्र ठाकुरले सुशासन सहितको माग गरेपछि बैठक स्थगित भएको थियो ।

करिब डेढ महिना भन्दा बढी समयपछि आज बसेको प्रदेशसभाको बैठकबाट ४ महत्वपूर्ण निर्णय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेशसभा बैठकले प्रदेश सांसद अनिरुद्धप्रसाद सिंहको निलम्बन फुकुवा गरेको छ । गत भदौ १८ गते पक्राउ परेका उनलाई पुर्पक्षको लागि थुनामा रहँदा निलम्बन गरिएको थियो ।

गत कात्तिक २३ गते तारिकमा थुनाबाट छुटेको भन्दै सांसद सिंहले निलम्बन फुकुवाको लागि सभाको सचिवालयमा सोमबार निवेदन दिएका थिए । तारिखमा छुटेको मितिदेखि नै निलम्बन फुकुवा गरिएको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

यस्तै बैठकले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरूमा रहेका सदस्य हेरफेर गर्ने निर्णय गरेको छ।

योजना तथा अर्थ समितिका सदस्य सञ्जयकुमार महतोलाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, विकास समितिबाट सरोजकुमार यादवलाई प्रदेश मामिला समितिमा, सांसद सञ्जयकुमार यादवलाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, सांसद वसन्तकुमार कुशवाहलाई सार्वजनिक लेखा समितिमा, बेची लुङ्गेलीलाई प्रदेश मामिला समितिबाट विकास समितिमा र सांसद रत्नेश्वर गोइत यादवलाई विकास समितिबाट प्रदेश मामिला समितिमा जिम्मेवारी हेरफेर गरिएको सभामुख मण्डलले जानकारी दिए ।

यसैगरी गत असार  २६ गते गठन गरेको विशेष संसदीय छानबिन समितिको म्याद पनि थप गरिएको छ । सभाको बैठकले यही मंसिर  महिनाको मसान्तसम्म म्याद थपको प्रस्ताव सर्वसम्मत पारित गरेको छ । सभामा समितिका सभापति उपेन्द्र महतोले म्याद थपसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को कार्यक्रम छानबिन गरी प्रतिवेदन पेस गर्न १० सदस्यीय समिति गठन गरिएको थियो । त्यसबेला समितिको साउन १ गतेदेखि भदौ मसान्तसम्म सयम सीमा तोकिएको थियो । यस अवधिमा समितिले समितिको सभापति चयन र कार्यविधि पारित गरेको सभापति महतोले सभामा जानकारी गराए।

बैठकले प्रदेश मामिला समिति र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापति पदको निर्वाचन २०८० मंसिर १४ गते दिनको ११ बजे गर्ने  निर्णय गरेको छ । सोको कार्यतालिका मिलाई सूची प्रकाशन गर्न सचिवालयलाई सभामुखले निर्देशन समेत दिएका छन् ।

सभाको अर्को बैठक मङ्गलबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved