फार्मबाट फूल बिक्री भएन

नेपालभ्युज

फार्मबाट फूल बिक्री भएन

गल्याङ । स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला घरघरमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो ।

तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूूलको माग बढेपछि व्यावसायिक रुपमा फूलखेती गर्ने बढेका छन् । तर उत्पादन भएको फूल समयमै बिक्री नभएपछि उत्पादक टोल टोलमा सवारीसाधन लिएर फूल बिक्रीमा निस्किएका हुन् ।

गल्याङ नगरपालिका तीन छर्तिमा मौलाकालिका कृषि तथा पशुपालन फार्म मार्फत व्यावसायिक सयपत्रीको फूलखेती गर्दै आएका चन्द्रबहादुर राना ‘चित्र’ ले बेमौसमीरुपमा उत्पादन भएका फूल फार्मबाटै बिक्री गर्छन् । तर ठूलो परिमाणमा फूल उत्पादन गरेका उनको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुगेर फूल बिक्री गरेका छन् । उनले  गल्याङ बजारका विभिन्न टोलका घरघर, पसल पसलमा फूल लगेर बिक्री गर्ने गरेको जानकारी दिए ।

“बेमौसमी फूलको माग धान्न मलाई मुस्किल हुन्थ्यो, यसपालि तिहार लक्षित धेरै नै फूल लगाएकाले र यहाँका धेरै कृषकले फूल उत्पादन गरेकाले फार्मबाट सयपत्री कम बिक्री भयो”, उनले भने, “तयार भएका फूल बिग्रेला कि भनेर टोलटोलमा पुगेर फूल बिक्री गर्ने गरेको छु ।” उनले गल्याङ बजारका सात भन्दा बढी पसललाई फूल बिक्री गर्न दिएको छ भने गल्याङ बजारको गराङ्दीचोकमा सयपत्री फूलको मात्रै पसल राखेका छन् ।

गल्याङ –२ रैबारमा रहेको जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक प्रदीप पाण्डेले समयमै उत्पादित फूल बिक्री गर्नका लागि टोलटोलमा पुगेको बताए । “उपभोक्ताको सहजताका लागि पनि टोलटोलमा पुगेर फूल बिक्री गरेको हुँ”, उनले भने, “फार्ममा पनि प्रसस्त फूल रहेकाले थप बिक्रीका लागि टोलमा नै आउनुपरेको हो ।”

यस्तै गल्याङ–११ का कृषक रुमलाल कँडेलले पनि आफ्नो सवारी साधनमा राखेर टोलटोलमा पुगेर फूल बिक्री गर्दै आएका छन् । उनले माग भएका व्यक्ति तथा पसलमा पुगेर फूल बिक्री गरेको बताए । “फार्ममा जान उपभोक्तालाई असहज भयो”, उनले भने, “टोलटोलमा पुगेपछि माग गरेका र देखेका अरु ग्राहकलाई फूल बिक्री गर्न सहज भएको छ ।”

वालिङमा पनि वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले उत्पादन गरेको सयपत्री फूल बिक्री गर्नका लागि सवारी साधनमा फूल राखेर घरघरमा पुगिएको छ । सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले आफ्नै ठाउँको उत्पादनलाई रोज्नका लागि उपभोक्तालाई आग्रह गरे । “यहाँ उत्पादन गरिएको फूल गुणस्तरीय छ”, उनले भने, “संस्थाको कार्यालयमा पनि फूल राखिएको छ, उनले उपभोक्ताको सहजताको लागि टोलमा पनि पुगेर फूल बिक्री गरिएको हो ।”

गल्याङ, वालिङ र मिर्मीका बजारका व्यापारीले यसपालि कृतिम फूूलभन्दा सयपत्री फूूल पसलमा राख्ने गरेका छन् । यद्यपी स्थानीय व्यवसायीले पर्याप्त फूल उत्पादन गरेपनि बाहिरबाट आउने प्लास्टिकका फूल पनि बजारमा देखिएको छ । फूल व्यवसायीले स्थानीय प्रशासनले प्लास्टिकका फूल बिक्री गर्न नरोक्दा आफूहरु समस्यामा परेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved