करिब १४ अर्बले घट्यो आयात, चाडवाडको मुखमा पनि बढेन व्यापार

आयात घटेसँगै उपभोग्य वस्तुको आन्तरिक व्यापार पनि घटेको छ । जसकारण चाडवाड नजिकिए पनि बजारमा खासै चहलपहल छैन ।

करिब १४ अर्बले घट्यो आयात, चाडवाडको मुखमा पनि बढेन व्यापार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सुरुवाती दुई महिनामा वस्तु तथा सेवाको आयात घटेको छ । तथ्यांकअनुसार गत वर्षको साउन र भदौ महिनाको तुलनामा यस वष १३ अर्ब ८४ करोड रुपैयाँ कमको मात्रै वस्तु तथा सेवा आयात घटेको छ ।

आयात घटेसँगै उपभोग्य वस्तुको आन्तरिक व्यापार पनि घटेको छ । जसकारण चाडवाड नजिकिए पनि बजारमा खासै चहलपहल छैन ।

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिना अर्थात् साउनमा १ दशमलव ५६ प्रतिशतले आयात घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

आयात घटेसँगै देशको व्यापार घाटामा भने कमी आएको छ ।

चालु आर्थिक वर्षको साउन–भदौमा मुलुकको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोडमा खुम्चिएको छ । गत वर्ष सोही अवधिको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

अत्यावश्यक सामानको आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा संकुचन आएपछि सरकारले ०७९ वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी विभिन्न १० वस्तुमा आयात बन्देज गरेको थियो । जसमा मदिरा, तास, मोबाइल, टिभी, मोटरसाइकललगायत रहेका थिए । त्यसपश्चात् पुन: २०७९ भदौ १९ गत राजपत्रमा सूचना जारी गर्दै सरकारले आयात बन्देज गरेकामध्ये ६ प्रकारका उपभोग्य सामग्रीहरूलाई प्रतिबन्ध फुकुवा गर्याे । तर, पनि चालु आर्थिक वर्षका सुरुवाती महिनाहरूमा आयात कम भएको छ ।

नेपालले सुनदेखि नुनसम्म छिमेकी देशबाट आयात गर्ने गरेको छ । देशमै उत्पादनका राम्रो सम्भावना भएको वस्तु तथा सेवाहरू पनि अन्य देशबाट भित्रिरहेका छन् । नेपाली बजारमा नेपाली उत्पादनभन्दा पनि विदेशी ब्रान्डले मार्केट लिइरहेको छ ।

अघिल्ला वर्षका तथ्यांकनुसार हेर्ने हो भने चाडबाड नजिकिएसंगै आयातमा वृद्धि हुनेगथ्र्यो । तर, यस वर्ष चाडबाडको बेलामा झन् आयात घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

कुन सामानको आयात कति ?

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सबैभन्दा बढी १५ अर्ब ७४ करोड ८४ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ । त्यस्तै, दोस्रोमा ११ अर्ब ३० करोड ५७ लाख रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । त्यसैगरी ७ अर्ब ३२ करोड ६३ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास अर्थात् एलपीजी ग्यास आयात भएको विभागको तथ्यांक छ ।

विभागका अनुसार ७ अर्ब ३ करोड ८६ लाखको फलाम, ५ अर्ब ३६ करोड ५३ लाखको स्मार्ट फोन र ४ अर्ब १२ करोड ८१ लाखको सुन लगायतका सामानहरू भित्रिएका छन् ।

आयात घट्नु राम्रो हो ?

नेपालमा आयात घट्नाले उपभोग्य वस्तुको स्वदेशी उत्पादनमा वृद्धि हुन्छ । स्वदेशी उत्पादनहरूले बजार पाउन सक्छन् तर यसबाट भन्सार राजस्वमा गिरावट देखिने सम्भावना रहन्छ ।

पेट्रोलियम पदार्थ नेपालमा बढी खपत हुने भएकाले पेट्रोलियम पदार्थको मूल्य घट्दा आयात मारमा परेको भन्सार विभागका प्रवक्ता पुण्य विक्रम खड्काले बताएका छन् । त्यस्तै, साउन र भदौमा आयात कम हुनुमा माग कम हुनु, वाणिज्य नीति, मौद्रिक नीति र जोखिम भार बढाउनु रहेको अर्थविद् चन्द्र मणि अधिकारीको भनाइ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved