अपि हिमाललाई विश्वभरि चिनाउन भ्रमण वर्ष २०८० सुरु, कसरी पुग्ने हिमाल ?

नेपालभ्युज

अपि हिमाललाई विश्वभरि चिनाउन भ्रमण वर्ष २०८० सुरु, कसरी पुग्ने हिमाल ?

धनगढी। सुदूरपश्चिमकै अग्लो हिमाल अपि हिमाल लाई विश्वभरि चिनाउने उद्देश्यका साथ दार्चुलाको अपि हिमाल गाउँपालिकाले भ्रमण वर्ष २०८० सुरु गरेको छ । असोज १० गते अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा शुभारम्भ गरिएको अपि भ्रमण वर्ष २०८० मा देश तथा विदेशका हजारौं पर्यटक भित्रिने अपेक्षा लिइएको छ ।

गोकुलेश्वर, मकरीगाड हुँदै २ दिनको पैदल यात्रापछि पुगिने अपि हिमालको काखले छुट्टै आनन्द महशुस हुने हुँदा सबै पर्यटकको रोजाइमा अपि हिमाल पर्ने अपेक्षा लिइएको छ ।

समुद्री सतहबाट ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपि सुदूरपश्चिमकै अग्लो हिमाल हो । तराईका जिल्लाहरूबाट टाढा दूरी भएकै कारण पर्यटकहरूको रोजाइमा नपरेको अपि हिमालमा यसपटक अपि भ्रमण वर्ष २०८० शुभारम्भ गरिएको छ । अपि हिमाल गाउँपालिकाले अपिको प्रचार-प्रसारसहित हजारौँ पर्यटक भित्र्याउने लक्ष्यसहित अपि भ्रमण वर्ष सुरु गरेको हो ।

असोज १० गते अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले धनगढीबाट १ दिन सडक मार्ग र २ दिन पैदल यात्रा गरी अपि बेस क्याम्पमा पैदलै पुगेर भ्रमण वर्ष २०८० को शुभारम्भ गरेका हुन् ।

मन्त्री धामीले अपि हिमाल हजारौं पर्यटकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । अपिको मनोरम वातावरण सम्म पुग्न देश विदेशबाट पर्यटकहरू पुग्ने र यहाँको पर्यटन विकासमा नयाँ आयाम थपिने उनको विश्वास छ । मन्त्री धामीले सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भएपनि तिनको प्रचार प्रसार हुन नसकेको बताए ।

अपि भ्रमण वर्ष २०८० ले अपि हिमाललाई विश्वभर चिनाउने अपेक्षा लिएको अपि हिमाल गाउँपालिकाले यो आर्थिक वर्षभित्र ५ हजार बढी पर्यटक भित्र्याउने लक्ष लिएको छ । अपि हिमालमा पर्यटक बढे यहाँको मात्रै नभएर सिगों सुदूरपश्चिमसहित नेपालकै पर्यटनमा नयाँ आयाम थपिने विश्वास अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगत ठेकरे बोहराको छ ।

बोहराले गाउँपालिका एक्लैको प्रयासमा मात्रै भ्रमण वर्ष २०८० सफल पार्ने सम्भव नभएको यसमा प्रदेश र संघीय सरकारले सहयोग गनुपर्ने बताए । उनले पर्यटकका लागि सबैभन्दा छोटो यो रुटबाट जान गाउँपालिकाले गाइडको व्यवस्था गरेको छ । साथै पैदल यात्राका लागी अपि हिमाल गाउँपालिका र प्रदेश पर्यटन इकाइले सिंढी सहितको पर्यटन पदमार्ग निर्माण गरेको छ ।

अपि हिमाल भ्रमण वर्ष २०८० लाई सफल पार्न सुदूरपश्चिमका पर्यटन व्यवसायीहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । भ्रमण वर्षको शुभारम्भमा अपि बेस क्याम्पमै पुगेर पर्यटन व्यवसायीहरूले प्रचार-प्रसार र भौतिक पूर्वाधार विकासलाई जोड दिन सहयोग गरेको नाटा सुदूरपश्चिमका अध्यक्ष पदमबहादुर सिंहले जानकारी दिए । अपि जस्तो रमणीय ठाउँलाई चिनाउन नसक्नुकै कारण पर्यटनको विकास पछाडि धकेलिएको अवगत गराउँदै पर्यटन व्यवसायी सिंहले अब प्रचार प्रसारसँगै थप पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए।

कसरी पुग्ने अपि हिमाल ?

सुदूरपश्चिमको उच्च हिमाली चुचुरामध्ये पर्छ, दार्चुलाको अपि हिमाल । अपि हिमाल अपि गाउँपालिकामा नै पर्छ । यस हिमालको उचाइ ७ हजार १३२ मिटर छ । सन् १८९९ मा पहिचानमा आई सन् १९६० मा पहिलोपटक आरोहण गरिएको अपि हिमालसम्म पुग्न दार्चुला सदरमुकामबाट तीनवटा रुट छन् । अपि हिमालसँगै ६ हजार ८५० मिटर अग्लो अर्को कापाचुली हिमाल अपि बेस क्याम्पबाट आधा घण्टामा सजिलै पुग्न सकिन्छ ।

त्यसैगरी, ५ हजार ३६८ मिटर अग्लो ठाडाढुंगा हिमाल पनि उत्तिकै रमणीय र आरोहणका दृष्टिकोणबाट उपयुक्त रहेको छ । सबैभन्दा छोटो रुट दार्चुला सदरमुकाम खलंगाबाट हुती, सुन्सेरा, राप्ला हुँदै व्यास भएर अपि हिमालसम्म पुग्न सकिन्छ । बाटो त्रिदेशीय सीमा क्षेत्रमा पर्ने हुँदा विदेशी आरोहीहरूको प्राथमिकतामा पर्ने गरेको छैन । दोस्रो रुटका रूपमा दार्चुला सदरमुकामदेखि खार, सिप्टी र सितोला हुँदै अपि बेस क्याम्पसम्म पुगिन्छ ।

पर्याप्त दृश्यावलोकन र रमणीय प्रकृतिसँगै यस रुटबाट अपि बेस क्याम्पसम्म पुग्न सकिन्छ । बाटो र बासको अभावमा यो रुट पनि पर्यटक र पर्वतारोहीको रोजाइमा पर्दैन । पर्यटक र पर्वतारोहीहरूका लागि सबैभन्दा छोटो रुटका रूपमा दार्चुलाको गोकुलेश्वर हुँदै मकरीगाड, गुल्जर, घुसाको रुट रहेको छ । मकरीगाडबाट २ दिन दिन पैदल यात्रापछि अपि हिमाल बेस क्याम्पसम्म पुग्न सकिन्छ । अपि हिमालसम्म पुग्न आउने पर्यटक र पर्वतारोहीहरूले प्रायः यही रुटलाई प्रयोग गर्ने गर्छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved