आठ गुणाले बढ्यो चेक बाउन्स, साढे ४७ अर्बको चेक साटिएन

गत आर्थिक वर्षमा नेपाल प्रहरीले चेक बाउन्सका १२ हजार ३० वटा  मुद्दा सरकारी वकिलमार्फत अदालतमा बुझाएको थियो । जसमा देशभर ४७ अर्ब ५० करोड २६ लाख ६८ हजार ७ सय ७९ रुपैयाँ बराबरको खाली चेक दिएको पाइएको छ ।

आठ गुणाले बढ्यो चेक बाउन्स, साढे ४७ अर्बको चेक साटिएन
काठमाडौं। पछिल्लो समय चेक बाउन्सका मुद्दाहरू दिनानुदिन बढिरहेका छन् । गत आर्थिक वर्षमा नेपाल प्रहरीले चेक बाउन्सका १२ हजार ३० वटा  मुद्दा सरकारी वकिलमार्फत अदालतमा बुझाएको थियो । जसमा देशभर ४७ अर्ब ५० करोड २६ लाख ६८ हजार ७ सय ७९ रुपैयाँ बराबरको खाली चेक दिएको पाइएको छ ।
आर्थिक वर्ष २०७८–७९ मा ५ हजार ३७० वटा चेक बाउन्सका मुद्दा दायर हुँदा ६ अर्ब ७१ करोड ९२ लाख ८५ हजार २२९ रुपैयाँ बराबरको खाली चेक काटिएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । यो हिसाबमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ८ गुणा बढी रकम बराबरको चेक बाउन्स भएको छ ।
आर्थिक वर्ष २०८०–८१ को पहिला दुई महिनामा ७ हजारभन्दा व्यक्ति तथा कम्पनी चेक बाउन्सको कारणले कालोसूचीमा परेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ । जसमा साउन महिनामा मात्रै ४ हजार ४ सय ६० रहेको छन् भने भदौमा ३ हजार ३ सय २१ रहेका छन् ।
के हो चेक बाउन्स ? 
सामान्यतया, भुक्तानीका निम्ति दिएको चेक बैङ्कबाट भुक्तान नभएर फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । खातावालाले आफ्नो खातामा पर्याप्त रकम नभएको खण्डमा चेक काटेर दिएमा चेक बाउन्स हुनसक्छ । काटिएको चेकमा हस्ताक्षर नमिलेको खण्डमा पनि चेक बाउन्स हुने सम्भावना रहन्छ ।
चेक बाउन्स भएमा के हुन्छ ? 
खातावालाले पैसा नभएको चेक दिएमा त्यसबारे सर्वप्रथम सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्दछ । यदि, जानकारी गराउँदा पनि खातावालले खातामा पैसा हालेनन् भने अथवा तीन पटकसम्म चेक बाउन्स भयो भने खातावालविरुद्ध प्रमाणसहित चेक बाउन्सको मुद्दा दर्ता गर्न सकिन्छ ।
तीन पटकसम्म चेक बाउन्स भएको खण्डमा खातावालालाई बैंकिङ कसुरको मुद्दा लाग्नेछ र जेल सजायसमेत हुने सम्भावना रहन्छ । बैंकिङ कसुरमा परेका कसुरदारले भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न नपाउने र ऋण लिन नपाउने गरी सजाय तोकिनेछ ।
यदि, पटक-पटक चेक बाउन्स भएमा प्रमाणसहित सम्बन्धित बैंकसँग समन्वय गरी खातावालालाई कालोसूचीमा राख्न सकिन्छ ।
चेक बाउन्सबाट कालोसूचीमा पर्नेहरू 
कर्जा सूचना केन्द्रका अनुसार आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिनामा ७ हजाभन्दा बढी चेक बाउन्सको कारण कालोसूचीमा परेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।
कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुनुवारका अनुसार सबैभन्दा धेरै निर्माण व्यवसायीहरू चेक बाउन्सका कारण कालोसूचीमा परेका छन् ।
उनले भने, ‘मुख्यतः कन्स्ट्रक्सन कम्पनीहरू चेक बाउन्सको कारणले कालोसूचीमा पर्दै आइरहेका छन् । बैंकको कर्जा चुक्ता गर्न नसकेका, खातामा पैसा नभई चेक दिएका लगायतका कारणले कालोसूचीमा पर्दै आइरहेका छन् ।’

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved