कित्ताकाट खुले पनि बढेन घरजग्गा कारोबार, किन ?

व्यवसायी भन्छन्- बैंकको ब्याजदरका कारण समस्या भयो

मुलुकको अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकारले साउन ३० गतेदेखि जग्गाको कित्ताकाट खुला गर्यो । तर परिणाम सरकारले अपेक्षा गरेजस्तो भएन ।

कित्ताकाट खुले पनि बढेन घरजग्गा कारोबार, किन ?

काठमाडौं। मुलुकको अर्थतन्त्र चलायमान बनाउन भन्दै सरकारले साउन ३० गतेदेखि जग्गाको कित्ताकाट खुला गर्यो । तर परिणाम सरकारले अपेक्षा गरेजस्तो भएन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा भन्दा भदौमा घरजग्गा कारोबार सुस्त भएको छ । भदौमा देशभरका मालपोत कार्यालयहरूबाट ३५ हजार ६ सय ८६ लिखत पारित भएका छन् । साउनको तुलनामा भदौमा लिखित पारित कारोबार ३ हजार ५ सय ७७ ले घटेको छ ।

यस्तै, भदौमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । यो साउनको तुलनामा १३ करोड ५५ लाख रुपैयाँ बढी हो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लिखत पारित ३९ हजार २ सय ६३ भएको थियो । अघिल्लो महिना असारको तुलनामा साउनमा लिखत पारित ९ हजार ५ सय ८ ले घटेको थियो । असारमा देशभरका मालपोत कार्यालयहरूबाट ४८ हजार ७ सय ७१ लिखित पारित भएको थियो ।

मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त संशोधित नियमावलीअनुसार सरकारले प्लानिङको स्वीकृति लिएकाहरूलाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिदिएको छ । पहिला प्लानिङको अनुमति लिने र नलिने दुवैलाई १३० वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने व्यवस्था थियो ।

गत वर्ष कित्ताकाट रोकिँदा त्यसको असर राजस्व असुलीमा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालकै अगुवाइमा गत वैशाखमा कित्ताकाट खुलाउने निर्णय भएको थियो, तर पनि कार्यान्वयन हुन सकेको थिएन ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री प्रकाशशरण महतले घरजग्गा कारोबार विस्तार गर्न कित्ताकाट फुकुवा गर्ने सरकारको नीति रहेको बताएका थिए । कित्ताकाट बन्द भएसँगै देशको अर्थतन्त्रमा निकै असर परेको भन्दै त्यसको विकल्प खोज्दै समाधानको पाटोमा जाने अर्थमन्त्री र प्रधानमन्त्रीले विभिन्न सार्वजनिक कार्यक्रमहरूमार्फत बताउँदै आएका थिए ।

के भन्छन् घरजग्गा कारोबार व्यवसायी ?

कित्ताकाट खुले पनि घरजग्गा कारोबार सुस्ताउनुमा बैंकहरूको तरलता अभाव, कर्जाको चुलिँदो ब्याजदर इत्यादि रहेको व्यवसायीहरूको भनाइ छ ।

घरजग्गा कारोबार व्यवसायी तिलोचना आचार्यले हिजोको अवस्थामा भन्दा अहिले मानिसहरूमा केही चहल पहल देखिएको बताएका छन् । जग्गा कित्ताकाट खोलेर मात्र अर्थतन्त्र चलायमान हुन नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘जग्गाको कित्ताकाट बन्द गर्दा अर्थतन्त्रलाई कत्तिको असर पर्‍यो यो कुरा सरकारले बुझ्यो, त्यसैले अहिले कित्ताकाट खुलाएको छ । तर, यसले मात्र पनि अर्थतन्त्र चलायमान बनाउन सकिँदैन । बैंकको तरलता अभाव, चर्को ब्याजदर जस्ता विषयको पनि समायोजन गर्न सक्नुपर्छ ।’

घरजग्गा व्यवसायीको मुख्य आम्दानीको बाटो कित्ताकाट नै रहेको भन्दै उनले कित्ताकाट बन्द हुँदा आफूहरूलाई प्रत्यक्ष असर परेको बताए ।

मन्त्रिपरिषदबाट पहिलेकै घरजग्गा कारोबारको नीतिलाई संशोधन गरेर पारित गरिएको नीति पनि व्यावहारिक र वैज्ञानिक नभएको उनको भनाइ छ ।

पहिला ऐन ल्याएर जग्गा वर्गीकरण गरिसकेपछि मात्र कित्ताकाट फुकुवा गर्नुपर्ने जग्गा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए । साउन र भदौ अफ सिजन भएकाले कित्ताकाट खुले पनि कारोबारमा समस्या देखिएको उनको भनाइ छ ।

घरजग्गा कारोबारको सकारात्मक सुधारका पक्षहरु असोजदेखि मात्र देखिने बताउँदै उनले भने, ‘घरजग्गाको कारोबारमा अपारदर्शिता छ । ब्रोकरहरू व्यवस्थित छैनन्, उनीहरूले लाइसेन्स पाएका छैनन् । अनओभर अर्गनाइज सेक्टरबाट हजारौं व्यक्तिहरूले कारोबार गरेको छन् यी सबै कुराहरूको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved