‘सिजनल भिसा’मा कोरिया पठाउने भन्दै सर्वसाधारणबाट पैसा उठाउने गिरोह सक्रिय

अवैध रकम उठाउने गिरोहलाई राजनीतिक संरक्षण

नेपालभ्युज

‘सिजनल भिसा’मा कोरिया पठाउने भन्दै सर्वसाधारणबाट पैसा उठाउने गिरोह सक्रिय

काठमाडौं। ‘सिजनल भिसा’मा विदेश पठाउने बहानामा मानव तस्करी गर्न केन्द्रदेखि स्थानीय तहका नेताहरूकै संलग्न रहेको पाइएको छ। उनीहरूले सर्वसाधारणबाट पैसा उठाउन थालेका छन्।

इलाम, झापा, दाङ, बाँके, सुनसरीलगायतका विभिन्न जिल्लाहरूबाट मानव तस्करहरूले सिजनल भिसामा दक्षिण कोरिया लैजाने भन्दै रकम उठाउँदै आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

सिजनल भिसामा दक्षिण कोरिया पठाउने भन्दै गाउँ–गाउँ पुगेर रकम उठाएको मन्त्रालयका उच्च अधिकारीहरूसँग सूचना छ। तर, ठगिएकाहरूले कहीँकतै उजुरी दिएका छैनन्। मानव तस्करका कतिपय गिरोहसँग मन्त्रालयका अधिकारीहरूको संलग्नतासमेत रहेको स्रोतको दाबी छ।

मौसमी भिसामा (सिजनल भिसा) कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरियाली सरकारबीच कुनै पनि सम्झौता नभएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका सह–सचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै सम्झौता नभएको स्पष्ट पारेका छन्। सोही विषयलाई लिएर मन्त्रालयले मौसमी कामदार पठाउने सम्बन्धमा दुई देशबीच कुनै समझदारी नभएको र सार्वजनिक भएको प्रेस विज्ञप्ति नक्कली भएको स्पष्ट पारेको हो।

मौसमी कामदार पठाउनेसम्बन्धी व्यवस्था मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ बमोजिम हुने विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयको नाममा नक्कली विज्ञप्ति निकाल्नेमाथि अनुसन्धान तथा कारबाही गर्न माग गरिएको छ।

मन्त्रालयले आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी कुनै पनि विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत आग्रह गरेको छ। यकिन गरेर मात्र वैदेशिक रोजगारीको प्रक्रिया थालनी गर्न मन्त्रालयले भनेको छ।

केही साताअघि नेपालका लागि कोरियाली राजदूत पार्क थेयङ्ले नेपालबाट मौसमी कामदार लैजानेबारे कुनै सम्झौता नभएको बताएका थिए। राजदूत थेयङ्ले विगतमा नेपालबाट मौसमी कामदारको रूपमा जनशक्ति दक्षिण कोरिया लगे पनि उनीहरू नफर्किएपछि त्यस्ता कामदार लैजान छाडेको बताएका थिए।

गिरोहलाई राजनीतिक संरक्षण

पछिल्लो समय सिजनल भिसामा दक्षिण कोरिया लैजाने भन्दै त्यस्ता गिरोहहरूले रकम उठाउँदै आएको स्रोतले बताएको छ। ती गिरोहलाई राजनीतिक संरक्षण भएको स्रोतको दाबी छ।

तर, ठगिएकाहरूले कहीँकतै उजुरी दिएका छैनन्। बिहीबार सह–सचिव घिमिरेको नक्कली हस्ताक्षरसहित मौसमी कामदार पठाउने विषयमा प्रेस विज्ञप्ति सार्वजनिक भएपछि सोको खण्डन गर्दै मन्त्रालयले दक्षिण कोरियासँग कुनै सम्झौता नभएको र उक्त विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेको हो।

सिजनल भिसामा दक्षिण कोरिया पठाउने भन्दै पैसा उठाइरहेकोबारे परराष्ट्र मन्त्रालयसमेत बेखबर छैन। स्रोतले भन्छ, ‘‘मानव तस्करका गिरोहले दक्षिण कोरिया लैजाने भन्दै करोडौँ रुपैयाँ उठाएका छन्। पैसा डुब्ने डरले जान चाहनेहरू केही बोल्न सकेका छैनन्। उजुरी परेको छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved