सीटीइभीटीको परीक्षा तत्काल सञ्चालन गर्न समझदारी भएको छ : मन्त्री राई

नेपालभ्युज

सीटीइभीटीको परीक्षा तत्काल सञ्चालन गर्न समझदारी भएको छ : मन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को परीक्षा तत्काल सञ्चालन गर्ने समझदारी भएको बताएका छन् ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री राईले सीटीइभीटीको परीक्षा तत्काल सञ्चालन गर्न मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सीटीइभीटीबीच समझदारी भएको बताएका हुन ।

“अदालतको फैसलाले हाम्रो बाटो खुलेको छ । परीक्षाका सन्दर्भमा हामी परिषद्को बैठक बसेर विगतमा सम्बोधन दिइसकेका, अपग्रेड गरिने संस्थालाई आयोग समक्ष प्रस्तुत गर्छौँ”, उनले भने, “आयोगले प्रक्रिया पु¥याएर यसै वर्ष पठनपाठन हुन सक्ने गरी एउटा वातावरण बनाउने भन्ने विषयमा मन्त्रालय, आयोग र सीटीइभीटीबीच समझदारी भएको छ ।”

परीक्षाको विषयमा तत्काल समाधान भए पनि नर्सिङ र अन्य स्वास्थ्य जनशक्ति उत्पादन एवं व्यवस्थापनका लागि ऐन÷कानुनको स्पष्ट व्याख्या गर्नुपर्ने उनले बताए ।

मन्त्री राईले समितिलाई यी दुई निकायबीचको विवादलाई आपसी समझदारीकै आधारमा हल गरिने विश्वाससमेत दिलाएका छन् । “आयोग र सीटीइभीटीको विमतिलाई लिएर फेरि समितिमा आउने छैन”, उनले भने, “केही समस्यादेखि आपसमै हल गर्ने बचनबद्धता गर्दछु, दुई वटा ऐनको समीक्षा गरेर कहाँ प्रस्ट व्यवस्था गर्न आवश्यक छ त्यसमा काम गर्छौ ।”

बैठकमा उनले आवश्यकताअनुसार ऐन कानुनलाई संशोधन गर्नुपर्नेमा जोड दिँदै आयोग र परिषद्का पदाधिकारीलाई कानुनको कार्यान्वयनमा रचनात्मक रूपमा जिम्मेवार बन्नसमेत आग्रह गरे । बैठकमा मन्त्री राईले चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्ने सिलसिलामा आयोगले राम्रो काम गरे पनि सङ्ख्या अभिवृद्धिमा लचिलो बन्न सुझाव दिए ।

“ऐन, कानुनको व्याख्या हामी आफैँले गर्न नहुने तर ऐन कानुनमै दृष्टिकोण बाझिएपछि उक्त ऐन कानुनलाई नै प्रस्ट पार्नुपर्ने सिलसिलामा समाधान दिन सकिने अवस्था हुन्छ”, उनले भने, “तथापि ऐन कानुनको अक्षर आफैँ कार्यान्वयन हुँदैनन्, त्यसलाई कार्यान्वयन गर्नेले रचनात्मक रूपमा हेर्नुपर्ने र आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । गुणस्तरसँगै सङ्ख्यामा सन्तुलन कायम राख्नुपर्छ ।”

उनले आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादन गर्न नसक्नु मानव संसाधन योजनाको कमजोरी भएको स्वीकार गर्दै सही तथ्याङ्कको सङ्कलनबाट आवश्यक जनशक्तिको प्रतिवेदन तयार गर्दै छिट्टै संसद्मा प्रस्तुत गर्ने प्रतिबद्धता समेत गरे ।

चिकित्सा शिक्षाको गुणस्तर सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पदाधिकारीसँग समितिका सदस्यले छलफल गरे ।

बैठकमा उक्त विषयमा निर्देशनसहितको निष्कर्षका लागि समितिले कार्यदल गठन गर्न सैद्धान्तिक सहमति जुटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved