कुशासनको कुरूप नमुना

‘स्वर्ग’ जाने ‘नर्क’को बाटो !

सरकारी निकायलाई ठेक्का दिन र ठेकेदारलाई ठेक्का लिन पाए पुग्छ, काम गर्नुपर्दैन। मुग्लिङ–पोखरा सडक स्तरोन्नतिमा दुई वर्षमा पूर्वी खण्डको भौतिक प्रगति ३१ प्रतिशत हुँदा पश्चिमको जम्मा ८ प्रतिशत छ। सडक आसपासका शहर र गाउँ घाम लागेका दिन धुलोले ढाकिन्छन्। पानी पर्दा सडक धाप जस्तो हिलो हुन्छ। प्रत्यक्ष मार पोखराको पर्यटनमा परेको छ, सडकको यस्तो दुरावस्थाले पोखरा आउनै छाडे पर्यटक।

नेपालभ्युज

‘स्वर्ग’ जाने ‘नर्क’को बाटो !
पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–पोखरा सडक विस्तार तथा स्तरोन्नतिमा भएको ढिलाइले खराब अवस्थाको सडक। तस्वीर : सरोज बस्नेत\नेपालभ्युज

पोखरा। सडक आसपासका बस्ती घाम लागेका दिन धूलोले ढाकिन्छन्। पानी परेका दिन सडक धापजस्तै हिलाम्मे हुन्छ।

घाम लाग्दा सडकबाट उडेका धुलोले भिजिबिलिटी हुँदैन। अगाडि-पछाडिका सवारी देखिँदैन। वरिपरिका घरहरू देख्नै मुस्किल भएर छेकिन्छ।

पृथ्वी राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्मको सडकको कथा हो यो। यो सडकमा हिलो र धुलोले पैदलयात्रा गर्न त के, एकैछिन उभिन पनि मुस्किल हुन्छ।

आँबुखैरेनीमा किनेर लगाएको निलो मास्क पोखरा पुग्दा धूलोले कालो र खैरो भइसक्छ। आँखीभैँ सेताम्मै हुन्छ। अनुहार चिन्नै नसकिने बन्छ।

शरीर ढाकेका कपडाको त कुरै नगरौँ, उसले पनि रङ फेरिसकेको हुन्छ। अझ बर्खामा त कहिले पहिरो झरेर जाम हुन्छ। पहिला ६ घण्टा लाग्ने काठमाडौं-पोखराको यात्रा सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण १० घण्टासम्म लाग्ने गरेको छ।

पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–पोखरा सडक विस्तार तथा स्तरोन्नतिमा भएको ढिलाइले धुलाम्मे बनेको सडक। तस्वीर : सरोज बस्नेत\नेपालभ्युज

नेपालकै चल्तीको राजमार्गमा सवारीको भिडले उडाउने धुलोबाट राजमार्ग वरिपरिका घरहरू कुरूप बनेका छन्।

स्कुले विद्यार्थीदेखि दैनिक कामकाजमा निस्कने मानिसहरूले हैरानी भोग्नुपरेको छ। बाध्यताले यात्रा गर्नेहरूले त यो सास्ती नभोगी सुखै छैन।

नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक सञ्जालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै व्यस्त सडकमा गनिन्छ। यही बाटो हुँदै हाल दैनिक ८ हजार बढी सवारी गुड्छन्।

सवारी चाप बढेपछि मुग्लिनदेखि पोखरासम्मको ८० किलोमिटर सडक सहरी भेगमा ६ लेन र ग्रामीण भेगमा ४ लेनमा विस्तार गर्ने गरी दुई खण्डमा स्तरोन्नति गरिन लागिएको हो।

सुन्दर पर्यटकीय नगरी पोखरा घुम्न जाने पर्यटकहरूले भने बाटोकै कारण अन्य गन्तव्य रोज्न थालेका छन्। यात्रा युद्ध होमिन गएजस्तो डरलाग्दो बनेकै कारण बाध्यता बाहेक रहरले कोही हिँडेका पाइँदैनन्।

‘नारकीय जीवन पार गर्दै’ मुग्लिङ–पोखरा सडकको यात्रा गर्नुभन्दा अन्य सहज बाटो भएको पर्यटकीय क्षेत्रमा जान थालेका हुन्। सडकको दूरावस्थाले पर्यटक पोखरा आउनै छोडेका व्यवसायीको गुनासो छ।

ठेकेदारलाई ठेक्का पाए पुग्छ, काम गर्नुपर्दैन ?

सरकारी निकायलाई ठेक्का दिन र ठेकेदारलाई ठेक्का लिन पाए पुग्छ, काम गर्नुपर्दैन। दुई वर्षमा पूर्वी खण्डको भौतिक प्रगति ३१ प्रतिशत हुँदा पश्चिमको जम्मा ८ प्रतिशत छ।

तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा हालसम्म ३१ प्रतिशत भौतिक प्रगति भएको छ।

जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा ८ प्रतिशत भौतिक प्रगति भएको हो। पूर्वीखण्डको काम केही सन्तोषजनक देखिए पनि पश्चिम खण्डको काम भने अत्यन्तै सुस्त छ।

सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदी बताउँछन्।

विद्युत्का खम्बा स्थानान्तरणको कामले समस्या भए पनि उक्त समस्या समाधान हुँदै गएको सुवेदीले बताए।

उनले भने, ‘‘ पूर्वीखण्डअन्तर्गत आँबुखैरेनी खण्डमा तत्कालै सात किलोमिटर कालोपत्रको तयारी गरिएको छ। सात किमी सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ।’’ विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले अब काम सुरु हुने बताए।

पोखरा जानै छाडे पर्यटक

सडकको काम सुस्त गतिमा अघि बढेपछि विभिन्न निकायले काम तीव्र बनाउन भन्दै ध्यानाकर्षण गरिरहेका छन्। पोखरा पर्यटन परिषद्ले सडक विस्तार कार्यलाई व्यवस्थित र तीव्र रूपमा अगाडि बढाउन आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई तारन्तार ध्यानाकर्षण गराएको छ।

भूकम्प, नाकाबन्दी र कोभिड–१९ को मार खेपेको पोखराको पर्यटन उद्योगलाई सडकले पनि असर गरेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन्।

उनी भन्छन्, ‘‘सडकको काम ढिलो हुँदा पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ। सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गरेर काम गर्दा सहज हुनेछ। नत्र पोखरा आउनै छाडे पर्यटकहरू।’’

गत साता बन्दिपुरका लागि आएका भारतीय पर्यटक बाटोको अवस्था खराब देखेपछि मुग्लिनबाटै फर्किएका थिए।

पोखरातर्फबाट जाने पर्यटकको सङ्ख्यामा पनि कमी आएको तनहुँका मानिसहरू पनि बताउँछन्। बन्दिपुर मात्रै नभई मुग्लिङ हुँदै पोखरा, मुक्तिनाथ पुग्ने भारतीय पर्यटक घटेका छन्।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डको स्तरोन्नतिले अपेक्षित गति नलिँदा पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले विभिन्न सिफ्टमा काम गर्ने गरी राति र दिनमा उत्तिकै शीघ्र गतिमा काम अगाडि बढाउन ठेकेदार कम्पनीसँग आग्रह गरेका छन्।

पाँच दशकपछि सडक स्तरोन्नति

पृथ्वी राजमार्ग २०२१ सालतिर दुई लेनमा निर्माण थालिएका थियो। २०३० सालमा निर्माण सम्पन्न भयो। त्यसयता राजमार्ग विस्तार भएन, सामान्य मर्मतका भरमा अहिलेसम्म चल्यो। झन्डै पाँच दशकसम्म यथावत् चलेको राजमार्ग बल्ल विस्तार गर्ने योजना आयो।

२ वर्षअघि मात्र सडक विस्तारको योजना अनुसार चार लेनको बनाउन एसियाली विकास बैङ्क (एडीबी)सँग ऋण लिएर ठेक्का लगाइयो। कुनै दीर्घकालीन योजना बिनै राजमार्ग आसपासका बासिन्दा र यात्रुलाई सास्ती दिनेगरी एकैपटक सबै सडक भत्काइयो।

मुग्लिनदेखि पोखरा खण्डसम्म एकै पटक सडक भताभुङ्ग पारिएका छन्। छेउछाउका डाँडा खारेर सडक फराकिलो बनाइँदै छ।

कुनै ठाउँमा डिलमा पर्खाल लगाएर ढुङ्गा, माटो भरिँदैछ। जसले गर्दा सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्न पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved