बहस

डा. बाबुराम भट्टराईलाई पत्र : ‘डाक्टर साहेब जीवनको आनन्द लिनुहोस्’

अब तपाईं स्वयंले कार्यकारी नेतृत्व गरेर वैकल्पिक शक्ति बन्दैन । किनभने, यो तपाईंको पुस्ताले बिदा लिने समय हो । अन्यथा, समकालीनहरूलाई बिदा लिन तपाईं कसरी आह्वान गर्न सक्नुहुन्छ ? अतः यो सत्यलाई स्वीकार गर्नुहोस् र पछाडि बसेर नयाँ पुस्तालाई उत्प्रेरित गर्नुहोस् ।

डा. बाबुराम भट्टराईलाई पत्र : ‘डाक्टर साहेब जीवनको आनन्द लिनुहोस्’

आदरणीय डा. बाबुराम भट्टराई !

खासमा यो पत्र, तपाईंका नेपाल भ्युजमा प्रकाशित पछिल्ला तीनवटा आर्टिकल पढेपछि लेखेको हुँ । लेखबाटै सुरु भएको हाम्रो सम्बन्धलाई आज लेखबाटै पुन:स्मरण गर्न चाहन्छु ।

त्यो आजभन्दा झण्डै १० वर्ष अगाडिको कुरा हो । जतिखेर म र केही साथीहरू मिलेर इटहरीमा वैकल्पिक विचार मञ्च चलाउथ्यौं । मञ्च वैकल्पिक राजनीतिमाथि विमर्श गर्ने एक सक्रिय थलो थियो । त्यसैताका, ०७० फाल्गुण अन्तिम हप्ता नेपाल साप्ताहिकमा तपाईंको लेख प्रकाशित भयो । लेखमा तपाईंले ‘नयाँ शक्तिको खाँचो’ बारे आफ्ना विचार लेख्नुभएको थियो । सो पढेपछि मैले नेपाल साप्ताहिकमै ‘यसरी बन्छ नयाँ शक्ति’ शीर्षकमा आफ्ना धारणाहरू लेखे ।

मेरो लेख पढेर हुनुपर्छ, तपाईंले फोन गर्नुभयो । त्यसरी भएको परिचयले हामीलाई वैकल्पिक राजनीतिको मैदानमा सँगै ल्यायो । म नयाँ शक्ति निर्माण अभियानको सदस्य बनें । हाम्रो सम्बन्ध अविश्वास, विश्वास, सहकार्य र आलोचनाका अनेक कुइनेटाहरू पारगर्दै अगाडि बढ्दै गयो ।

राजनीतिक अनुभव, शिक्षा र ज्ञानका हिसाबले त्यो समय मेरा लागि सुखद थियो । तर, पार्टी निर्माण सोचेजस्तो भएन । अतः त्यो समय महत्त्वपूर्ण तर असफल बन्न पुग्यो । नयाँ शक्ति छिन्नभिन्न भयो । केही साथीहरू पलायन भए, केही साथीहरू पुरानो राजनीतिक धारमा फर्किए । र, मलगायत कतिपय साथीहरू अझै वैकल्पिक राजनीतिको अभियानमा छौँ ।

यसैबीच, वैकल्पिक राजनीतिको वैचारिकीमाथि चर्चा गर्दै तपाईंले ०८० साउन तेश्रो हप्ता नेपाल भ्युजमा तीनवटा नयाँ आलेखहरू लेख्नुभयो । ती लेखहरू पढेपछि मलाई लाग्यो, तपाईंलाई एउटा पत्र लेखौं । यो पत्र खासमा कुनै अतिरञ्जित गुणगान, आलोचना वा आरोपको दस्तावेज होइन । जस्तो कि, कम्युनिस्टहरू गर्ने गर्दछन् ।

यो पत्र म स्वयं सहभागी वैकल्पिक राजनीतिक अभियानलाई फर्केर हेर्ने एउटा बहाना हो । अभियानको विगतबारे चर्चा गर्दा तपाईसँग जोडिएका सन्दर्भहरू आउँछन् नै । त्यहाँ अन्यथा भए वा तथ्य फरक परे त्यसलाई मेरो स्मरण, ज्ञान र क्षमताको सीमा ठानिदिनुहुनेछ ।

मिसन : वैकल्पिक राजनीति

पत्रको प्रारम्भमा हामीले किन वैकल्पिक राजनीतिको आवश्यकता बोध गर्‍यौं र हाम्रो राजनीतिको वैचारिक जग के थियो भन्ने कुरा पुनःस्मरण गर्छु । मलाई सम्झना छ, सुरुमा हामीले केही प्रश्नमा निकै लामो विमर्श गरेका थियौं । जस्तो वैकल्पिक राजनीति भनेको के हो ? यसको औचित्य र आवश्यकता के छ ? यसको वैचारिकी के हुनुपर्छ ? यसले बोक्ने एजेन्डाहरू के हुनुपर्छ ? र, हामी कस्तो पार्टी बनाउन चाहान्छौं ? ती छलफलमा हामीले अनेक सन्दर्भ सामग्री, विश्व अनुभव र इतिहासको समीक्षा गरेका थियौं ।

हाम्रो निष्कर्ष थियो, मानव सभ्यता अनेकौं रुमानी सपनाहरूको जगमा उभिएको महान् पर्वत शृंखला हो । पत्र पत्र सपनाहरूको शृंखला । राजनीति त्यही समय र सपनाको उच्चतम् अभिव्यक्ति हो ।

समयसँगै मान्छेका सपनाहरू फेरिँदै जान्छन् । अतः समय, समाज र सपनाहरूको गतिशीलता नै मानव सभ्यताको चालक शक्ति हो । राजनीतिले त्यो गती, त्यसको बदलाव र अन्तरविरोधलाई देख्नुपर्छ । तर, जब नयाँ युगका सपनाहरू पूरा गर्न परम्परागत राजनीतिको सामर्थ्यले भ्याउँदैन तब नयाँ खालको राजनीति चाहिन्छ । यसरी हेर्दा राजनीति कुनै न कुनै कालखण्डको विशिष्ट लक्ष्य हो । लक्ष्य प्राप्तिको विचार हो । संगठन हो । संघर्ष हो । र, हो साधना । जब परम्परागत राजनीतिले फेरिएको युगलाई नेतृत्व गर्ने सामर्थ्य गुमाउँछ, तब नयाँ राजनीति आवश्यक पर्छ । त्यही नै वैकल्पिक राजनीति हो ।

पृष्ठभूमिलाई हेरौं, जस्तो कि, २०औं शताब्दीमा मानव सभ्यताले देखेका मुख्य सपनाहरू थिए लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, उदारवाद र समाजवाद । तर, जब हामी २१औं शताब्दीको संघारमा आइपुग्यौं, सपनाहरू फेरिए । त्यो स्वाभाविक थियो । किनभने २०औं शताब्दीको लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, उदारवाद र समाजवादले २१औ शताब्दीलाई पुगेन । मान्छेलाई त्यो भन्दा उन्नत जीवन चाहियो ।

निश्चयनै, २० औ शताब्दीमा उत्पादन बढ्यो, तर न्यायपुर्ण वितरण भएन । एकातिर लोकतन्त्रले महिला, दलित, सिमान्त समुदाय र अल्पंख्यकहरूलाई सम्पुर्ण न्याय दिन सकेन, अर्कोतिर समाजवाद स्वयं सर्वसत्तावादमा फस्यो । सर्वत्र भ्रष्टाचार बढ्यो । वातावरण विनास र कार्वनउत्सर्जन तिब्र भयो । र, जनताको मतबाट उदाएका शासकहरू स्वयं सर्वसत्तावादी भए । मुख्यतः तेश्रो विश्वका सरकारहरू जनताप्रति उत्तरदायी भएनन् ।

अवश्य नै, २०औं शताब्दीमा औद्योगिक क्रान्तिले उडान मार्‍यो । युरोप र अमेरिका युद्धबाट निस्किए र समृद्धिको शिखर चुमे । तर, अफ्रिका र एसियाका धेरै देश गरिबीबाट उम्किन सकेनन् । हुने र नहुने बीचको खाडल चर्को बन्दै गयो । संसारका १० जना धनीको हातमा असीमित श्रोत जम्मा भयो । तर, दैनिक करोडौं मान्छेहरू भोकै रहे ।

त्यसपछि, स्वभावतः २१ औं शताब्दीको राजनीतिक मोडेलबारे विमर्श सुरु भयो । अर्थात्, परम्परागत लोकतन्त्र र समाजवादका विकल्पहरू खोज्न थालियो । उदारवाद र समाजवादमाथि नयाँ बहस सुरु भए । जस्तो फ्रान्सिस फुकोआमाले भने– इन्ड अफ द हिस्ट्री  एन्ड द लास्ट मेन (१९९२) । जाक डेरिडाले (१९३०–००४) उत्तरआधुनिक दर्शनको कुरा गर्दै भने– विनिर्मिाण । हर्वट मार्खेजले (१८९८–१९७९) केही अगाडि नै परम्परागत वामपन्थमाथि आलोचना गर्दै भने–न्यु लेफ्ट । थोमस पिकेटीले क्यापिटल इन द ट्वान्टी फस्ट सेन्चुरी (२०१३) प्रकाशित गर्दै पुँजीवादी देशहरूलाई सम्पत्तिको असमान वितरणले आर्थिक र सामाजिक अस्थिरता पैदा गर्ने तर्फ ध्यानाकृष्ट गरे ।

उदार पुँजीवादले आफ्ना नीतिहरूको समीक्षा गर्दै भन्यो– ‘समावेशीकरण, सुशासन र सामाजिक न्याय । सर्वत्र राज्यको भूमिकामाथि पुनर्विचारको माग बढ्यो । मार्क्सवादीहरू ‘न्यु मार्क्सवाद’ भन्न थाले । वामपन्थभित्र नववामपन्थको बहस सुरु भयो । लोकतन्त्रलाई अल्पमत र बहुमतको संघर्ष नभई सामाजिक न्यायको विषय बनाइयो । प्रत्यक्ष लोकतन्त्रको भाष्य स्थापित हुँदै गयो । यसरी, अनेक आयामहरूमा नवीनताको खोजी गर्दै मानव सभ्यता २१औं शताब्दीमा आइपुग्यो ।

यता नेपालमा ०६२-६३ को आन्दोलनले ७० वर्ष लामो परिवर्तनको सपना पूरा गर्‍यो । अर्थात्, संसारभर नयाँ युगको लहर चलिरहँदा, हामी स्वयं पनि त्यसबाट पृथक रहेनौं । ०७२ मा संविधान जारी भयो । सबैले एक मतले भन्यौं कि नेपाल नयाँ युगमा प्रवेश गर्‍यो । जसको अर्थ थियो, युग फेरियो, अब राजनीति फेर्नुपर्छ । वस्तुतः यो वैकल्पिक राजनीतिको आवश्यकता र औचित्य बोध गर्ने महान् क्षण थियो ।

अतः हामीले भन्यौं, वैकल्पिक राजनीति हाम्रो युगको आवश्यकता हो । यो ऐतिहासिक प्रयत्न हो । यो पूर्ण लोकतन्त्र र अग्रगमनको यात्रा हो ।

वैकल्पिक विचार

हामीले वैकल्पिक राजनीतिलाई मूलतः ६ वटा बुँदामा संश्लेषण गरेका थियौं । पहिलो, यो एकथान पार्टी मात्र बनाउने अभियान हुनेछैन । मूलतः यो नयाँ राजनीतिक अभियान हुनेछ । यो चुनावी राजनीति मात्र हुनेछैन, त्यो भन्दा धेरै नयाँ युगलाई नेतृत्व गर्ने विचारधारा हुनेछ । अर्थात्, हामी नयाँ युगको राजनीतिक विचार, मुद्दा र संस्कृतिलाई स्थापित गर्न चाहन्थ्यौं ।

दोश्रो, नयाँ वैचारिकीलाई स्थापित गर्न नयाँ पार्टी चाहिन्थ्यो । एक उन्नत साधन । जो परम्परागत पार्टीहरु भन्दा नितान्त भिन्न होस् । पूर्ण लोकतान्त्रिक पार्टी । नदिजस्तो चलायमान पार्टी । सुसंस्कृत पार्टी ।

तेश्रो, हाम्रा एजेन्डा नयाँ थिए । जस्तो कि, ‘नेसन बिल्डिङ’ का बाँकी काम पूरा गर्ने । ‘स्टेट क्राफ्टिङ’ अर्थात्, राज्यको चरित्रलाई बदल्ने र त्यसलाई अझ न्यायपूर्ण र समावेशी बनाउने । आर्थिक वृद्धि । राष्ट्रिय अर्थतन्त्रको विकास । सामाजिक न्याय ।

चौथो, सुशासन, प्रभावकारी सेवा र भ्रष्टाचारको अन्त्य ।

पाँचौं, भूराजनीतिक जटिलताहरूको समाधान, स्वाधीनतासहित मित्रराष्ट्रहरूसँग सहकार्य ।

छैटौं, हाम्रो मैलिकता सहितको सभ्यता निर्माण । हामी यस्तो राजनीति स्थापित गर्न चाहन्थ्यौं, जसले नागरिकलाई जोड्नेछ र अनेकौं वर्षसम्म आशाको नयाँ उज्यालो देखाउनेछ ।

हाम्रो निष्कर्ष थियो, अबको युग औपचारिक प्रजातन्त्र र मार्क्सवादी समाजवादको युग होइन । अर्थात्, आजको युगलाई औपचारिक लोकतन्त्रले पुग्दैन । अतः हामी अझ गहिरो लोकतन्त्रतिर जानुपर्छ । समावेशी लेकतन्त्र । प्रत्यक्ष लोकतन्त्र । अझ गहिरो र उन्नत लोकतन्त्र । यो अर्थमा हामी नेपालकै सबैभन्दा लोकतान्त्रिक पार्टी बनाउन चाहन्थ्यौं । साथै, हामी २०औं शताब्दीका समाजवादी दोष, सर्वसत्तावाद र संकीर्णताहरूबाट मुक्त उदार, कल्याणकारी, मानवीय र अग्रगामी राज्यको पक्षमा थियौं ।

निश्चय नै, हामी समाजवादले उठाएका सामाजिक न्यायका मुद्दाभन्दा पृथक थिएनौं । तर, राज्यकेन्द्रित, सर्वहारामुखी र निर्देशनात्मक समाजवादको विपक्षमा थियौं । हामी पार्टीले (सर्वाहारा वर्ग) बनाउने नभई, लोकतान्त्रिक प्रक्रियाबाट जनताले बनाउने समाजवादको पक्षमा थियौं ।

वैकल्पिक संगठन

पार्टी राजनीतिक विचारहरूलाई स्थापित गर्ने साधन हो । अतः हामी विचारजस्तै गतिशील पार्टी बनाउन चाहन्थ्यौं । विचारजस्तै पूर्ण लोकतान्त्रिक । विचारजस्तै पूर्ण समावेशी । विचारजस्तै सु-संस्कृत । यस्तो पार्टी, जहाँ सदस्यहरू पूर्णतः सार्वभौम हुनेछन् ।

हाम्रो प्रस्ताव थियो नयाँ शक्ति लोकतन्त्रको रचनात्मक अभ्यास गर्ने थलो बनाउनुपर्छ । किनभने, राजनीतिक दलहरूभित्र लोकतन्त्र निर्माण सदस्यहरूको अगुवाईमा मात्र सम्भव छ । पुरानो पार्टी अभ्यासले सदस्यहरूको सर्वोच्चतालाई कहिल्यै प्रवर्द्धन गरेन । परिणाम सदस्यहरूको रचनात्मक क्षमता र सार्वभौमिकता हरायो । नयाँ शक्तिले व्यक्तिमुखी वा केन्द्रमुखी प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

सदस्यहरूमा यो विश्वास जागृत गर्नुपर्छ कि, नयाँ शक्ति बन्छ भने त्यो सदस्यहरूले बनाउने हो । सीमित विद्वानहरूले होइन । यो प्रक्रियाले सदस्यहरूलाई व्यापक लोकतान्त्रिक प्रक्रियामा संलग्न गर्छ र पार्टी निर्माणको स्वामित्व दिन्छ ।

सबैलाई थाहा छ, परम्परागत पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया कमजोर हुँदा विधान, नीति र कार्यक्रमहरू दस्तावेजमा थन्किए । गुटहरू बढे । जनवादी केन्द्रीयताको अभ्यास निर्देशित जनवादमा फेरियो । कमिटी प्रणालीहरू कमजोर भए । जनसंगठनहरू बिचौलियामा फेरिए । यसैकारण पुराना पार्टीहरू विश्वासयोग्य रहेनन् । यी झुटा, अहंकारी र अलोकतान्त्रिक बने । पार्टीहरू कुवाजस्ता भए, नदिजस्ता चलायमान भएनन् ।

अतः नयाँ शक्तिको संगठनात्मक प्रक्रिया कुवाजस्तो नभई नदिजस्तो चलायमान बन्नुपर्छ । सिक्न, सुन्न, जान्न र नयाँ ज्ञानलाई प्रयोग गर्न उत्सुक । चुनौती झेल्न तयार । सधैं नयाँ बन्न उत्साहित ।

यसैकारण, हामीले नयाँ संगठनात्मक प्रस्ताव गर्‍यौंं । अर्थात्, हामीले आन्तरिक लोकतन्त्रलाई संगठनको चरित्र र जीवन पद्धति बनाउने निर्णय गर्‍यौंं । जस्तो कि, प्रत्यक्ष निर्वाचनको अभ्यास । एक व्यक्ति, एक पद, दुई कार्यकाल । समावेशी संगठन । विचारमा खुला, निर्णय कार्यान्वयनमा एकरूपता । फरक विचारको सम्मान ।

अहिले फर्केर हेर्दा लाग्छ, हामीले जे-जस्तो प्रस्तावका साथ पार्टी निर्माणको लक्ष्य बनायौं त्यो निकै महत्त्वपूर्ण थियो । त्यो ऐतिहासिक थियो । त्यो सही अर्थमा वैकल्पिक थियो ।

आशा र निराशाका वर्षहरू

तर, भयो के ? यावत् सुन्दर राजनीतिक तथा वैचारिक प्रस्ताव हुँदाहुँदै पनि हामी किन सफल भएनौं ? कि हामीले विचार र व्यवहारमा तालमेल गरेनौं ? कि, हाम्रो नेतृत्व स्वयं आफ्ना विचारमा दृढ थिएन ? कि हाम्रो वैकल्पिक राजनीति मात्र सत्ता प्राप्तिको एक रणनीति थियो ?

यी प्रश्न गरिरहँदा, स्वभावतः तत्कालीन नयाँ शक्तिको संयोजक स्वयं तपाईंतिरै प्रश्नहरू तेर्सिन्छन् । यसलाई अन्यथा नठान्नुहोला डा. भट्टराई ! के तपाईं नयाँ शक्तिको प्रस्तावमा इमान्दार हुनुहुन्थ्यो ? तपाईं इमान्दार हुनुहुथ्यो भने, आफ्नो प्रस्तावमा दृढ हुन किन सक्नुभएन ? विचारको कुरा गर्दा, व्यवहार छोड्ने र व्यवहारको कुरा गर्दा विचार छोड्ने एकलकाँटे प्रवृत्तिले पो हामीलाई अलपत्र पारेको हो की ? अथवा, व्यक्तिवादले पो हामीलाई गाँज्यो कि ?

म यसकारण यी प्रश्नहरू उठाउँदैछु, किनभने नयाँ शक्तिमा विचारको नभई व्यवहारको संकट थियो । जसले सिर्जना गरेका प्रश्नहरूबाट भागेर हामी किमार्थ नयाँ गन्तव्यमा पुग्न सक्दैनौं ।

थोरै, पुराना कुराको सम्झना गर्छु, अनेक राजनीतिक मन्थनपछि, हामीले ०७२ सालमा आएर नयाँ शक्ति अभियानलाई संगठित गर्ने घोषणा गर्‍यौंं । त्यो, हाम्रो वैचारिकीलाई व्यवहारमा परीक्षण गर्ने समय थियो । त्यो भन्दा अगाडि मान्छेहरूमा तपाईंप्रति धेरै आशंकाहरू थिए । उनीहरू भन्थे, नयाँ शक्ति बाबुरामको प्रचण्डलाई गलाउने रणनीति हो । केही विश्लेषक ठान्थे कि, ‘भट्टराई आफ्नो अध्यक्षतामा एमाओवादीलाई नै विकल्प बनाउने अभियानमा छन्’ ।

तर, तपाईंका लागि एमाओवादी सम्हाल्न सजिलो थिएन । त्यहाँ भित्रको महत्त्वाकांक्षा, गुट र आन्तरिक शक्ति सन्तुलन तपाईंको पक्षमा थिएन । प्रचण्डसँगको किचेनका हकदारहरू कसैगरी आफ्नो पार्टी सत्तामा घुनपुत्ली लागेको देख्न चाहँदैनथे ।

यो नयाँ शक्ति घोषणा हुनु अगाडिको कुरा थियो । तर, सबै आशंकालाई अन्त्य गर्दै अन्ततः ०७२ असोजमा तपाईंले निर्णय गर्नुभयो । अर्थात, तपाईंले एमाओवादी परित्याग गर्नुभयो । व्यवस्थापिका सांसद पद छाड्नुभयो र वैकल्पिक पार्टी निर्माणको अक्करमा आउनुभयो ।

अनेक आशंकाहरूसहित नयाँ शक्तिको यात्रा सुरु भयो । ०७३ जेष्ठ २९ गते सामूहिक शपथग्रहण गर्दै रंगशालाबाट पार्टी घोषणा गरियो । पार्टी घोषणासभामा शुभकामना दिँदै एमाले अध्यक्ष केपी ओलीले भने ‘नयाँ शक्तिले एमाले बाहेकका अरू पार्टीलाई उछिन्नेछ’ । ओलीले यसो भनिरहँदा नयाँ शक्तिका अभियन्ताहरूमा हेर्नलायक उत्साह थियो ।

अवश्य नै लामो समयदेखि हिँडेको बाटो, सहयात्री र संगतलाई छोड्नु सजिलो थिएन । अझ जनयुद्धको जटिल, भावुक र रक्तरञ्जित क्षणमा सँगै हिँडेका कमरेडहरूबाट अलग हुनु कठिन काम थियो । तर, तपाईंले त्यही कठिन काम गर्नुभयो । तपाईंको हिम्मत स्वभावतः हाम्रा लागि तारिफयोग्य थियो । मलगायत हामी धेरैले तपाईंलाई विश्वास गर्‍यौंं । परिणामतः ०७२ माघमा ३६ सदस्यीय नयाँ शक्तिको पहिलो केन्द्रीय परिषद् सार्वजनिक भयो । त्यसमा म पनि एकजना सदस्य थिएँ ।

त्यो क्षण, मुख्यतः तपाईंलाई मैले विश्वास गर्ने तीनवटा कारण थिए । पहिलो, तपाईंले फरक बाटो हिँड्ने सामर्थ्य देखाउनुभयो । राजनीतिको मूलबाटो छोड्नुभयो ।

दोश्रो, माओवादी स्कुललाई परित्याग गरी लोकतन्त्रलाई स्वीकार गर्नुभयो । त्यति मात्र नभई लोकतन्त्रलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तेश्रो, सनातन राजनीतिले अब काम गर्दैन भन्ने मसिनो आवाजलाई एकैपटक ठूलो बनाइदिनुभयो । यी निकै महत्त्वपूर्ण कुरा थिए । मान्छेहरू भन्थे, तपाईं हठी हुनुहुन्छ । हामी केहीलाई भने, तपाईंको यो हठ मनपर्‍यो । प्रचण्डले ‘बाबुरामलाई झेलेर देखाऊ’ भनेको सुनेको थिएँ । तर, म र हामी केही साथीहरू भने, तपाईंलाई झेल्न तयार भएका थियौं ।

यसरी अनेक आशंकाहरूसहित नयाँ शक्तिको यात्रा सुरु भयो । ०७३ जेष्ठ २९ गते सामूहिक शपथग्रहण गर्दै रंगशालाबाट पार्टी घोषणा गरियो । पार्टी घोषणासभामा शुभकामना दिँदै एमाले अध्यक्ष केपी ओलीले भने ‘नयाँ शक्तिले एमाले बाहेकका अरू पार्टीलाई उछिन्नेछ’ । ओलीले यसो भनिरहँदा नयाँ शक्तिका अभियन्ताहरूमा हेर्नलायक उत्साह थियो । सभामा देश-विदेशका पाहुनाबीच तपाईंले भन्नुभयो ‘नयाँ संविधानसँगै हामी नयाँ युगमा प्रवेश गर्‍यौंं । अब नयाँ शक्तिले त्यो युगको नेतृत्व गर्नेछ’ ।

तर, उद्घाटन सत्रको तामझाम सकेर जब हामी बन्दसत्रमा प्रवेश गर्‍यौंं, त्यहाँ महत्त्वाकांक्षाको पहाड भयंकर बनेर देखापर्‍यो । धेरैलाई लाग्यो, अब पार्टी बन्छ ‘त्यसैले आजै आफ्नो स्थान सुरक्षित गर्नुपर्छ’ । त्यसपछि पद र जिम्मेवारीको लुछाचुँडी सुरु भयो । पार्टीमा विभिन्न पृष्ठभूमिबाट आउनेको ओइरो थियो । अनेक रंगका मान्छे । रंग सँगै चरित्र फरक थियो । स्कुल फरक थियो । तपाईं पार्टी ‘ठूलो बनाउने’ रणनीतिमा लाग्नुभयो । हामी केही साथीहरूले भन्यौं, पहिले ‘राम्रो बनाऔं अनि पार्टी आफैँ ठूलो हुन्छ’ ।

नभन्दै, स्थापनाको केही दिनमै पार्टी आकारमा त ठूलो देखियो, तर कुँडाकर्कटले भरिएको बोराजस्तो ।

परिणाम, फरक मान्छेलाई पगाल्ने र एउटै बनाउने काम भएन । एकातिर पार्टीमा माओवादी ‘ह्यांगओभर’ जब्बर बन्यो, अर्कोतिर सदस्यहरूमा ‘करियर’ प्रति अनपेक्षित लालसा देखापर्‍यो । नयाँ पुराना सबै भन्नलाई मात्र वैकिल्पक थिए । उनीहरूमा परम्परागत ज्ञानलाई पटक्कै ‘अन्लर्न’ नगर्ने र हठमा रमाउने प्रवृत्ति देखापर्दै गयो ।

वस्तुतः भन्नलाई हामीले वैकल्पिक राजनीति भन्यौं, तर व्यवहारमा परम्परागत कमजोरीहरू पहाड बनेर देखापरे । एकातिर माओवादीबाट विरासतमा आएका अनेक कमजोरीले पार्टीलाई गाँज्दै थियो, अर्कोतिर पहिचानमुखी आन्दोलनका आफ्नै संकीर्णता थिए । पार्टीभित्र सहभागितामूलक लोकतन्त्र त संकटमा थियो नै, जसले हाम्रो सार्वजनिक छवीलाई पनि वैकल्पिक बन्न दिएन । हामी निरिह बन्दै गयौं ।

विस्तारै, संगठनहरू भद्दा हुँदै गए । आफ्नालाई मनोनित गर्ने लहर चल्दै गयो । गुटहरू बनिरहे । नेताहरू भिन्न विचारप्रति उदार देखिएनन् । सबै एक-अर्कोप्रति असन्तुष्ट । सबैमा अविश्वास । अर्थात, फरक-फरक पृष्ठभूमिबाट आएका मान्छेहरू वैकल्पिक राजनीतिको मूल प्रवाहमा एकाकार हुनै सकेनन् । अन्नतः नयाँ शक्ति पार्टी नभई, अनेक महत्त्वाकांक्षाको मोर्चा बन्यो ।

विस्तारै यसले सदस्यहरूलाई उत्प्रेरित गर्ने तागत गुमायो । त्यसैताका चुनाव चिह्नको सकस आयो । स्थानीय निर्वाचनमा भनेजस्तो परिणाम आएन । आर्थिक संकट तीव्र बन्यो । र, पार्टी छोड्नेहरू बढे । यस्तो भयो कि, जो पार्टी छोड्थे, यसलाई ‘नांगेझार’ बनाएर छोड्थे । साथीहरू आफैँले बनाउन सुरु गरेको पार्टीलाई छोड्नासाथ किन नांगेझर बनाउथे मैले अहिलेसम्म बुझेको छैन ।

पार्टीमा हुर्कंदै गएका संकटबाट पार पाउन हाम्रा अगाडि तीनवटा बाटा थिए । पहिलो, आ-आफ्नै पार्टीमा फर्किने । दोश्रो, जसरी हुन्छ, अनेक रंग र गोत्रका पार्टीसँग एकता गरेर ठूलो हुने । तेश्रो, वैकल्पिक राजनीतिको निष्ठालाई निरन्तर अगाडि बढाउने । तपाईंले दोश्रो बाटो लिनुभयो ।

पार्टीमा हुर्कंदै गएका संकटबाट पार पाउन हाम्रा अगाडि तीनवटा बाटा थिए । पहिलो, आ-आफ्नै पार्टीमा फर्किने । दोश्रो, जसरी हुन्छ, अनेक रंग र गोत्रका पार्टीसँग एकता गरेर ठूलो हुने । तेश्रो, वैकल्पिक राजनीतिको निष्ठालाई निरन्तर अगाडि बढाउने । तपाईंले दोश्रो बाटो लिनुभयो ।

परिणाम, जतिबेला एमाले र माओवादी केन्द्र (०७४ असोज) मिलेर निर्वाचनमा सँगै जाने भए, नयाँ शक्ति त्यसको एउटा हिस्सा बन्ने निर्णयमा पुग्यो । तपाईं स्वयंले वैकल्पिक राजनीतिको निष्ठा बचाउन सक्नुभएन । अथवा, नयाँ यात्राको जोखिम लिनुभएन । म तपाईंलाई धेरै दोष लगाउन चाहन्नँ, तर तपाईंले यति त स्वीकार गर्नैपर्छ कि, वैकल्पिक पार्टी निर्माणको यात्रा पहिलोपटक त्यसै बेला अपवित्र भयो ।

मलाई अझै सम्झना छ, वामपन्थी, कम्युनिस्ट गठबन्धनमा जाने निर्णय भएको तेश्रो दिन पार्टी मुख्यालयमा उपलब्ध केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बस्यो । त्यो बैठकमा केही नेताहरूले आँसु झार्दै सोधे- ‘डा. साब नयाँ शक्तिको भविष्य के हुन्छ ?, वैकल्पिक राजनीतिको बाटो कता पुग्यो ?’ उनीहरू भन्दै थिए, ‘हामी कतै खराब सपना पो देखिरहेका छौँ कि ।’

तर, हामीले ती प्रश्नहरूलाई गम्भीरतापूर्वक लिएनौं । आत्मचिन्तन गरेनौं । बरु तपाईं निकट बस्ने केही साथीहरूले भन्नुभयो– ‘नेपालमा वैकल्पिक राजनीतिलाई स्वीकार गर्ने सामाजिक चेतना विकास भएको छैन’ । यसरी दोश्रो बाटो पार्टीको कार्यनीति बन्यो । बस, त्यसै क्षण धेरै कुरा सकियो । र, तपाईंको नेतृत्वमा वैकल्पिक राजनीतिले आकार लिने एउटा ऐतिहासिक अवसर गुम्यो ।

तपाईंका पछिल्लो आलेखबारे 

जहाँसम्म तपाईंका पछिल्ला लेखहरूको कुरा छ, त्यसमा धेरै विमति जनाउने ठाउँ छैन । वैकल्पिक राजनीतिको वैचारिकी, संगठनको ढाँचा र समाउनुपर्ने मुद्दामा तपाईंको विचारसँग म धेरै विमति राख्दिनँ । मात्र दुईटा कुरामा मेरो संशय छ, पहिलो तपाईंले भनेको समाजवाद कस्तो हो ? त्यो मार्क्सवादी अनुभवकै पुनरावृत्ति हो कि त्यसभित्र सामाजिक लोकतन्त्र र व्यक्तिको सार्वभौमिकतालाई कतै स्थान रहन्छ ? त्यो समाजवाद कसले बनाउँछ ? र, त्यो कम्युनिस्ट जडताबाट मुक्त हुन्छ कसरी ?

दोश्रो, विचारलाई व्यवहारबाट परीक्षण गर्ने जुन अस्त्र छ, त्यो के हो ? अन्यथा कुरा त राम्रा हुन्छन् । तर, जब व्यवहारमा हामी आफैँले परीक्षा दिनुपर्ने खण्ड आईपर्छ, त्यसपछि, सबै कुरा भताभुंग हुन्छ । जुन पछिल्ला १० वर्षमा पत्र पत्र अनुभव गरिएकै कुरा हुन् ।

डा. भट्टराई, तपाईंले लेखमा भन्नुभए जस्तै म तपाईंसँग सहमत छु कि राजनीति (पार्टी) आफैँमा एक युगिन साधना हो । निश्चय नै वैकल्पिक राजनीति सम्भव छ । यो आजको युगको आह्वान हो । तर, यसमा हाम्रा पूर्व अनुभवहरू सुखद रहेनन् । अतः म तपाईंबाट सुन्न चाहन्छु कि, ती व्यावहारिक अनुभवहरूलाई स्वयं तपाईं कसरी संश्लेषण गर्नुहुन्छ ? ती तमाम कमजोरीहरूमा तपाईं स्वयं आफूलाई कहाँ राख्नुहुन्छ ?

यो यसकारण सोध्दैछु कि, हामीले सिद्धान्तको चश्माले हेरेर मात्र वैकल्पिक राजनीतिको मूलबाटो नदेखिने रहेछ । अवश्य नै सिद्धान्त मूल कुरा हो । तर, सिद्धान्तले मात्र पुगेन । किनभने, व्यवहारले जब सिद्धान्तलाई नांगेझार पार्छ, विचरा सिद्धान्तले मात्र के गरोस् ?

यहाँनेर, मलाई तपाईंसँग सोध्न मन लागेको के भने, के तपाईं स्वयं आफ्नो अनुभवको ऐनामा कहिलेकाँही आफैँलाई हेर्नुहुन्छ ? के आफैँलाई प्रश्न सोध्नुहुन्छ ? के आफैँभित्रका दोषहरू देख्नुहुन्छ ? भनिन्छ, ज्ञानीहरू आफैँभित्र चियाउन र आफ्ना दोषहरूलाई स्वीकार गर्न सधैं जागरुक हुन्छन् ।

मेरो अनुरोध छ, कृपया आफैँभित्र हेर्नुहोस् । आफ्ना कमजोरीहरूमाथि निर्मम हुनु आफैँमा महान् काम हो । अहिले यो लेखिरहँदा, म आफ्ना कमजोरीहरू बताउँदै गरेको बाबुरामलाई देख्न चाहन्छु । त्यसले तपाईंको जीवनमा धेरै कुरा फरक पार्नेछ । र, सायद तपाईंले लेख्ने अर्को लेखलाई पनि फरक पार्नेछ ।

समयको हिसाबकिताब

प्रिय डा. भट्टराई, अन्त्यमा, भन्नुपर्ने मेरा कुरा धेरै छैनन् । जे भयो, १० वर्ष यसरी नै बिते । समयले अनेक सत्यहरू स्थापित गर्दै लग्यो । मलाई लाग्छ, त्यसमध्येका तीन वटा सत्यहरू खुद तपाईंको जीवनमा अभिभाज्य बनेर बसेका छन् । पहिलो, राजनीतिको सत्य । दोश्रो, व्यवहारको सत्य । तेस्रो, उमेरको सत्य ।

राजनीतिक सत्य के हो भने, नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता अझ स्पष्ट हुँदैछ । तपाईं हर्षित हुनुहोस् कि, हिजो हामीले तपाईंको नेतृत्वमा जे भनेका थियौं, आज प्रमाणित हुदैछ । अर्थात् वैकल्पिक राजनीति अवश्यम्भावी छ । यो तपाईंका लागि सुखद कुरा हो । तपाईं नयाँ शक्ति निर्माणमा असफल हुनुभयो त के भयो, कुनै समय सबैभन्दा अगाडि उभिएर तपाईंले हाम्रो युगको वैकल्पिक राजनीतिको पहिलो यात्रा प्रारम्भ गर्नुभएको थियो ।

दोश्रो, सत्य तपाईंलाई प्रिय नलाग्न सक्छ । तर, भन्छु-अब तपाईं स्वयंले कार्यकारी नेतृत्व गरेर वैकल्पिक शक्ति बन्दैन । किनभने, यो तपाईंको पुस्ताले बिदा लिने समय हो । अन्यथा, समकालीनहरूलाई बिदा लिन तपाईं कसरी आह्वान गर्न सक्नुहुन्छ ? अतः यो सत्यलाई स्वीकार गर्नुहोस् र पछाडि बसेर नयाँ पुस्तालाई उत्प्रेरित गर्नुहोस् । यसको अर्थ पछाडि बस्नेहरू कमजोर हुन्छन् भन्ने होइन । तपाईंलाई अवश्य नै थाहा छ, राजनीतिमा पछाडि बसेर मान्छेलाई उत्प्रेरित गर्नु जति शक्तिशाली कुरा अरु केही हुँदैन ।

तेश्रो, सत्य हो उमेर । तपाईंलाई आफ्नो उमेर र त्यसका सीमाहरू अवश्य नै मभन्दा धेरै थाहा छ । जब तपाईंलाई यो सत्य थाहा छ त, तपाईं त्यो सत्यलाई किन स्वागत गर्नुहुन्न ? डा. भट्टराई अब आफ्ना सफलताहरूमा आनन्द लिनुहोस् । र, तिनलाई जोगाउनुहोस् ।

अर्थात, अब किताब लेख्नुहोस् । संसारका प्रसिद्ध विश्वविद्यालयमा प्रवचन दिनुहोस् । क. हिसिलालाई लिएर संसार डुल्नुहोस् । र, अन्त्यमा तपाईंका समकालीनहरूलाई एउटा शिक्षा दिनुहोस् कि, एकपटक प्रधानमन्त्री भएपछि पुग्यो । अब नयाँ युग नयाँ पुस्ताले चलाउनेछ ।

यो सत्यको उज्यालो तपाईंले आफ्ना समकालीनहरूलाई देखाइदिनुभयो भने, राजनीतिमा तपाईंको त्यो अर्को अमूल्य योगदान हुनेछ । यस्तो योगदान, जसलाई लिएर भविष्यमा मानुषीले मात्र हैन, नयाँ पुस्ताका सबैले गर्व गर्नेछन् ।

पत्र लामो भयो । अहिलेलाई बिदा ।

[email protected]

(डा. बाबुराम भट्टराईले वैकल्पिक शक्तिबारे पछिल्लो पटक लेखेका तीनवटा आलेख र त्यसमाथि गरिएका टिप्पणी पढ्न तलका लिंकमा जानुहोस )

अग्रगामी वैकल्पिक शक्तिको निर्माण कसरी ?

अग्रगामी वैकल्पिक राजनीतिका प्रमुख एजेण्डा के हुन् ?

हामी कहाँ चुक्यौँ ?

नेपालमा दलहरू कहाँ चुके ? यसका कारण के के हुन् ?

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved