‘ओली-बोली’को अन्तर्य : बटमलाइन- छानबिन समिति, लक्ष्य- प्रधानमन्त्रीको राजीनामा

ओलीको बोलीमा सरकारलाई केही सन्देश दिन खोजिएको देखिन्छ, पहिलो छानबिन समिति बटमलाइन, दोस्रो प्रधानमन्त्रीको राजीनामा।

‘ओली-बोली’को अन्तर्य : बटमलाइन- छानबिन समिति, लक्ष्य- प्रधानमन्त्रीको राजीनामा

“हामीले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्‍यो भन्दा सरकार किन पहिल्यै नै तर्सिन्छ ? सरकारको संलग्नता छैन भने छानबिनले बताउँछ नि ? पहिल्यै नै किन ढोका बन्द गर्छ सरकार ?”

“यति भ्रष्ट, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अप्ठ्यारो हुनुपर्ने हो। उहाँले (पुष्पकमल दाहाल प्रचण्ड) आफैँ राजीनामा गर्नुपर्ने हो। वीरबलको कथाजस्तो बानी परेपछि घिन लाग्दैन, लाज लाग्दैन भने जस्तो गर्नुभएको छ ।”

मुलुक सुनकाण्डले तरङ्गित भइरहँदा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलन नै गरेर भनेका वाक्यांश हुन् यी ।

२ साउनमा एयरपोर्टबाहिर सिनामंगलबाट क्विन्टल सुन बरामद भएदेखि यही विषयलाई लिएर एमालेले संसद् चल्न दिएको छैन । सय किलो सुन बरामद भएको २६ दिनपछि पत्रकार सम्मेलन गरेका ओलीले केही आरोप लगाए, केही सुझाव दिए।

पत्रकारसँग झन्डै ४५ मिनेट प्रश्नोत्तर गरेका ओलीको भनाइ ‘सुन तस्करी प्रकरणमा सरकारको संलग्नता छैन भने छानबिन समिति गठन गर्न किन डराउँछ ?’ भन्नेमै घुमिरह्यो।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार पुनर्गठनको तयारी गरिरँदा यता ओलीले भने ‘प्रचण्डले नै सरकारमा बस्ने नैतिक हैसियत’ गुमाएको भनिरहेका थिए ।

०००

राज्यको संलग्नताबिना यत्रो परिमाणमा सुन तस्करी हुनै नसक्ने जिकिर गर्दै ओलीले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशरण महतमाथि समेत प्रश्न उठाए।

यसअघि, इलेक्ट्रिक सिगरेट (भेप) भित्र करिब ९ केजी सुन बरामद भएको विषयमा माओवादी नेता कृष्णबहादुर महरा र छोरा राहुल महराको कनेक्सन भेटिए पनि अनुसन्धान नभएकोप्रति नाम नलिई बचाउन खोजिएको आरोप लगाए।

विमानस्थल बाहिरबाट सुन समातिएको दुई दिनपछि गृहमन्त्री श्रेष्ठ विमानस्थलको अद्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गर्न गएका थिए। त्यहाँ उनले सञ्चारकर्मीसँग भनेका थिए, “भ्रष्टाचार र अपराध अनुसन्धानमा कुनै कोट, टार वा पार्टी हेर्दैनौँ ।”

आइतबारको पत्रकार सम्मेलनमा सोही भनाइलाई ओलीले व्यङ्ग्य कसे। सरकारको भनाइ ‘बिरालोले एक हातले माला जपेर अर्को हातले मुसो मारेको’ जस्तो रहेको ओलीले टिप्पणी गरे।

“गृहमन्त्रीले रोस्टममा राजीनामाबाहेक अरू गर्न जानु भनेको अनौठो कुरा हो। चुरोट भनेर ल्यायो सुन हुन्छ। सुन भनेर राखेको ठाउँमा चोरी हुन्छ । एउटा नाकाबाट एकपटक सुन समातेको छ। बाँकी ३३ पटक समातिएन। तार काट्ने क्यामराको मुन्टो अर्कोतिर फर्काउने, अरू ठूला कुरा गर्ने” उखान मिश्रित वाक्य बोल्न माहिर ओलीले थपे, “संविधान संविधान संविधान माला जप्यो, बिरालाले माला जप्या जस्तो। यता देब्रे हातले माला जप्या छ। उता दाहिने हातले झ्याप्प मुसा मारेको छ ।”

ओलीले पछिल्लो समय ‘गोल्डेन–टच’ भइरहेको प्रसंग सुनाए।

उनले भने, ‘‘जे आए पनि सुन, आईफोन पनि सुन। ब्रेक–शु सुन। भन्सारबाट त अहिले जे आएपनि सुन। हामी सबै गम्भीर हुनुपर्छ । यो देश रित्याउने मामिला हो । यसबाट हामीले देशलाई बचाउनैपर्छ। त्यसकारण यो पक्ष वा त्यो पक्ष नभनौँ।’’

०००

ठूला राजनीतिक घटनाक्रम र जनसरोकारका विषयमा विरलै मात्र पत्रकार सम्मेलन आयोजना गर्ने एमालेले राजनीतिक वृत्तमा केही सन्देश दिन खोजेको देखिन्छ।

जुनसुकै कार्यक्रममा होस् ओलीले भन्न खोजेको कुनै पनि कुराको गुदी पत्तो लगाउन सर्वसाधारणलाई निकै कठिन पर्छ। उनले कुनै पनि गम्भीर टिप्पणी र प्रतिक्रिया दिन्छन्।

भनाइको बीच-बीचमा कठोरता एवं ठट्टा पनि घुसाइदिन्छन्, जसले गर्दा मिडियासम्म आइपुग्दा उनको भनाइलाई लिएर ‘ख्यालठट्टा’ मात्रै बुझ्नेहरू पनि छन्। तर, आइतबारको ओलीका भनाइ सामान्य मनोरञ्जनका लागि प्रयोग गरिएको टुक्का छैनन्।

ओलीको बोलीमा सरकारलाई केही सन्देश दिन खोजिएको देखिन्छ, पहिलो छानबिन समिति बटमलाइन, दोस्रो प्रधानमन्त्रीको राजीनामा।

०००

‘छानबिन समिति गठनको बटमलाइन बनाएर संसद् नै किन अवरुद्ध गर्नुपर्‍यो ? अरू विकल्प पनि थिए होला ?’ भन्ने नेपाल भ्युजको प्रश्नमा पत्रकार सम्मेलनमा ओलीले ‘सरकारले संसद् अवरुद्ध गरेको’ तर्क गरे।

आफूहरू संसद् चलाउन खोजिराखे पनि छानबिन समिति नबनाएर चलाउने वातावरण बनाउन सरकारले नखोजेको उनको जिकिर थियो। अर्थात् ओलीको बोलीमा अब उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको विकल्प नभएको सन्देश थियो।

उनले भने, ‘‘संसद् अवरोध हुनै हुँदैन, गर्नै हुँदैन। संसद् देश र जनताका लागि काम गर्ने थलो हो। संसद्ले निर्वाध ढङ्गले काम गर्न पाउनुपर्छ। संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो। अहिलेको संसद्को अवरोध तपाईंहरूले देख्नुभएको छ। हामी चलाउन खोजिराख्या छौँ। तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्ने।’’

ओली यत्तिकै रोकिएनन्। फेरि कुरा दोहोर्‍याउँदै ‘मुखतिरबाट तान्नेमादेखि खुट्टातिरबाट हान्नेसम्ममा सुन आउँदा प्रश्न उठाउन सरकारले नदिएको’ आरोप लगाए।

कटुतापूर्ण शब्द वाण प्रहार गर्दै ओलीले आफ्नो भनाइको बिट मारे, ‘‘यो महातस्करी काम हो। एउटा मात्र होइन मुखतिरबाट तान्ने सिगरेटबाट पनि आएको छ। खुट्टातिरबाट हान्ने ‘ब्रेक शु’ बाट पनि आको छ। कम्मरमा बाँध्ने पेटीबाट पनि आको छ। अनि प्रतिपक्षीले संसदमा बोल्न खोज्दा भन्छन् दिनको दुईचार क्न्टिल सुन तस्करी गरेर ल्याउँदा पनि ठूलो कुरा गर्ने भनेर हल्ला गर्न पाइन्छ भनेर भन्छन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved