यो हो ‘क्विन्टल सुन’ ल्याएको भन्दै हिरासत परेका दिलीपको घर !

तल्लो तला जसोतसो बस्न लायक भए पनि माथिल्लो तल्लामा बर्खामा आकाशे पानी र हिउँदमा चिसो ओत लाग्दैन । आइतबार दिउँसो त्यो घरमा पुग्दा दिलीपकी आमा र पत्नी पिँढीको डिलमा बसिरहेका थिए। निन्याउरो अनुहारमा देखिएका उनीहरू चिन्ताले नपिरोलिने कुरै भएन ।

यो हो ‘क्विन्टल सुन’ ल्याएको भन्दै हिरासत परेका दिलीपको घर !

काठमाडौं। दोलखाको चरिकोटबाट मोटरसाइकलमा डेढ घण्टाको कच्ची बाटो हिँडेपछि पुगिन्छ मेलुङ गाउँपालिका १ पवटी। भीरपाखा जमिन भएको त्यो ठाउँमा समथर ठाउँ भेट्न मुस्किल छ।

त्यही गाउँमा छ दिलीप भुजेलको घर। जो गत डेढ क्विन्टल सुन तस्करीको अभियोगमा प्रहरीको न्यायिक हिरासतमा छन्।

दिलीप भुजेलको ढुंगा र माटोले बनेको कच्ची घर छ। जस्ताले छाएको अति साधारण घरको हालत दया लाग्दो छ। माथिल्लो तलामा जस्ताले छाए पनि प्वाल परेकाले आकाशै देखिन्छ।

प्रस्ट छ, घरको तल्लो तला जसोतसो बस्न लायक भए पनि माथिल्लो तल्लामा बर्खामा आकाशे पानी र हिउँदमा चिसो ओत लाग्दैन। यसकारण भएभरका अन्नपात बाहिर बार्दलीमै राखिएको छ। अन्नपातको नाउँमा दुई वटा बोरामा आधाआधा सरसामान छन्। केही थान झुत्रा कपडा पनि बार्दलीमै झुन्डाइएको छ।

दिलीप भुजेलका मामा रामकुमार भुजेलकी आमा र उता पिँढीको डिलमा दिलीपकी पत्नी र आमा। फोटो – पत्रकार : सुशीला कार्की

आइतबार दिउँसो त्यो घरमा पुग्दा दिलीपकी आमा र पत्नी पिँढीको डिलमा बसिरहेका थिए। निन्याउरो अनुहारमा देखिएका उनीहरू चिन्ताले नपिरोलिने कुरै भएन।

किनकी दिलीप बुधबारयता प्रहरी हिरासत छन्। ‘दिलीपको मुद्दा के हुने हो ? कति समय जेल बस्नु पर्ने हो ? छुट्ला या नछट्ला ?’ यस्तै पिरलोमा सासू बुहारी देखिन्थे।

०००

बिहान–साँझ छाक टार्नसमेत धौधौ हुने यो परिवारका छोरा दिलीप काठमाडौंमा बस्थे। आमाका अनुसार दिलीप केही समय अगाडिसम्म घर बनाउने ठाउँमा इँटा बोक्ने काम गर्थे। काम पर्दा बालुवा र सिमेन्ट पनि बोक्थे।

ज्यामी काम गर्न धेरै गाह्रो लागेपछि दिलीप अर्को ठाउँ सरे। करिब २ महिना अगाडिबाट भने उनी साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा काम गर्न थाले।

चाउमिन तयार पार्ने र बजारमा लगी विक्री गर्ने उनको जिम्मा थियो। चाउमिन फ्याक्ट्रीमा मजदुर र साइकल ब्वाईको काम गर्दै आएका उनको तलब जम्माजम्मी १० हजार थियो। त्यही पैसाबाट डेरा भाडा तिर्ने घर घर पठाउने गर्थे।

दिलिप भुजेलको घर

तीनै ज्यामी काम गरेर छाक टार्दै आएका दिलीप यतिबेला अहिलेसम्मकै ठुलो भनी अनुमान गरिएको सुन तस्करीको मुख्य नाइकेका रुपमा पक्राउ परेका छन्। यति धेरै सुनको ‘मालिक’ एक साधारण कुल्ली भएकोमा प्रहरीलाई पनि विश्वास छैन। तर, दिलीप परिवन्दले पक्राउ परेका छन्।

उनकै नाममा रहेको ‘रेडी ट्रेड प्रालि’ले आयात गरेको सामानमा राखेर सुन तस्करी भएको खुलासा भयो। त्यो पनि थोरै होइन, करिब एक क्विन्टल।

आमा र पत्नी भन्छिन् – अनुसन्धान जरोसम्म पुगोस्

दिलीपका मामा रामकुमार भुजेलको घर जान त्यहाँबाट झन्डै डेढ घण्टा हिँड्नुपर्छ। उनको परिवारको घर र आर्थिक अवस्था पनि दिलीपकै जस्तै छ। मामा रामकुमार पनि हिरासतमै छन्।

दिलीपका बुवा रामबहादुरका अनुसार रामकुमार स्वयम्भूमा एक तिब्बतीयन नागरिकको घरमा काम गर्थे। त्यही परिवारले रामकुमार र दिलीपलाई फसाएको हुनसक्ने बुवा रामबहादुरको आशंका छ। अदालतले विवेक प्रयोग गर्छ कि भनेर आशामा छ यो परिवार।

दिलीपकी आमा घटनाबारे भन्छिन्, ‘‘सयौँ किलो सुन तस्करीको आरोपमा छोरा पक्राउ परेको सुन्दा विश्वास कसरी गर्नु ? अनुसन्धान जरोसम्म पुगोस्। मेरो छोरा फसाउने मुख्य नाइके पत्ता लगाउनुपर्छ ? दिलीपले न्याय पाउनुपर्छ।’’

एक छाक टार्न पनि धौँधौं रहेको बताउँदै दिलीपकी श्रीमती भन्छिन्, ‘के लगाउने, के खाने समस्या छ । बर्खामा पानी चुहिन्छ। पुलिसले कसरी तस्कर देख्यो होला ? अनुसन्धान राम्रोसँग हुनुपर्छ।’’

कसरी फसे दिलीप ?

मंगलबार आठ पोका सामानभित्र तस्करीको करिब एक क्विन्टल सुन बरामद दिलीपको नाममा रहेको कम्पनी ‘रेडी ट्रेड’ले त्योभन्दा बढी परिमाणको सुन उम्काएको हुन सक्ने आशंका छ। ‘रेडी ट्रेड’ले पछिल्लो दुई महिनामा १ हजार ९ सय ९७ किलो सामान ल्याएको पुष्टि भएको छ ।

नेपाल, भारत र हङकङमा व्यावसायिक आवरणमा मे, जुन र जुलाईमा पटक–पटक गरी ३ हजार ८ सय ८१ थान सामान ल्याएको भन्सारको अभिलेखबाट देखिएको छ ।

रेडी ट्रेडले २ हजार ७ सय थान सेभर (दाह्री काट्ने), एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक शु भित्र्याएको हो। ती सामान जाँच पासबाटै बाहिर निकालिएका थिए । यसअघि सामान उम्काउन सफल भएकाले त्यसकै निरन्तरताका रूपमा पछिल्लो पटक एक क्विन्टल सुन आएको अनुसन्धानकर्मीको भनाइ छ ।

ब्रेक शु  रेडी ट्रेडकै नाममा ल्याइएको थियो । जुन चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएको थियो ।

दिलीप नै हुन् त मुख्य नाइके ?

तस्करीको सुन पास गराउनकै लागि रेडी ट्रेड फर्म खोलिएको अनुसन्धानमा देखिएको छ । हङकङबाट क्याथे प्यासिफिकको उडानमा असार २९ (शुक्रबार) ३६ वटा कार्टुन आएको पुष्टि भएको छ ।

८ कार्टुन मात्र राजस्व अनुसन्धानले बरामद गरेको छ । त्यसअघि पनि सामान ल्याएकोले सुन तस्करी भएको आशंका छ। भन्सार पास गरिएका सामानबाटै गिरोहले यसअघि तस्करीको सुन भित्र्याएको हुन सक्ने आधारमा अनुसन्धान भइरहेको छ ।

तर, २० लाख रुपैयाँ पुँजी भन्दै खोलिएको र अर्बौंको सुन तस्करी गर्ने कम्पनीको नक्कली धनीका रुपमा दिलीपलाई उभ्याइएको छ। उनको नागरिकता प्रयोग गरेर तस्करको गिरोहले कम्पनी खोलेको अनुमान छ। अहिलेसम्म दिलीप उनका मामासहित १६ जना पक्राउ परेका छन्।

सुन तस्करीको संयोजन गर्न चीन, नेपाल र भारतीय गिरोह सङ्गठित रूपमा लागेको हालसम्मको अनुसन्धानबाट देखिएको छ । तर, अहिलेसम्म सहयोगी मात्र पक्राउ परेका छन् । अनुसन्धानकर्मी मुख्य योजनाकारसम्म पुगेका छैनन्।

अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘‘बैंकिङ, सेयरलगायतका क्षेत्रमा बदनाम भएका व्यक्ति तस्करीसँग जोडिएका छन्, १६ जना यो अनुसन्धानमा पक्राउ परिसकेका छन् । थप अनुसन्धान भइरहेको छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved